म ‘पहाड’की तारा हुँ, पुलको काम गरेकी छु : पञ्चमी घिमिरे

0
  • आकाङ्क्ष धामी

काठमाडौँ, १७ चैत । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदै छ । यसै फिल्ममार्फत उहाँकी छोरी पञ्चमी घिमिरेले अभिनय यात्रा सुरू गर्नुभएको छ ।

नेपाल न्युज बैङ्कसँग गरिएको विशेष संवादमा पञ्चमीले सानैदेखि फिल्म क्षेत्रप्रति आफ्नो आकर्षण रहेको बताउनुभयो । उहाँका अनुसार बाल्यकालदेखि नै घरपरिवार फिल्म क्षेत्रमा संलग्न भएकाले सुटिङ सेट, क्यामेरा र फिल्म निर्माणको वातावरणले उहाँलाई निकै प्रभावित बनाएको थियो । यद्यपि, सुरुमा उहाँ अभिनयभन्दा फिल्म निर्माण (मेकिङ)तर्फ बढी केन्द्रित हुनुहुन्थ्यो ।

“एक्ज्याक्टली के गर्छु भन्ने थाहा थिएन, तर फिल्म लाइनमै केही गर्छु भन्ने चाहिँ सानैदेखि थियो,” उहाँले भन्नुभयो ।
उहाँले मुम्बईमा मास मिडिया अध्ययन गर्दै विज्ञापन क्षेत्रमा शिक्षा हासिल गर्नुभयो र पछि बाबालाई सहायक निर्देशकका रूपमा सहयोग गर्न थाल्नुभयो ।

उहाँले भन्नुभयो, “मलाई एकदमै सानैदेखि नै इन्ट्रेस्ट हो यो फिल्डमा । अनि यहीँसँग रिलेटेड केहि गर्छु भन्ने चाहिँ सानैदेखि थियो ।”

उहाँले अभिनयमा प्रवेश गर्ने प्रेरणा भने ‘दर्पण छाँया २’ को एक कार्यक्रमका क्रममा प्राप्त भएको बताउनुभयो । उक्त कार्यक्रममा धेरैले उहाँलाई अभिनय गर्न सुझाव दिएपछि आफूभित्र पनि अभिनय गर्ने चाहना जागेको उहाँले स्मरण गर्नुभयो ।

“मेरो लागि एकदम अनौठो भइरहेको छ । दर्पण छाँया २ बनिरहेको थियो त्यति बेरसम्म पनि म आफ्नो एजुकेसन कम्प्लिट गरिरहेकी थिए । मास मिडिया पढेँ । एडभरटाइजिङ पनि गरेको थिए । दर्पण छाँया २ को म्युजिक लन्चमा धेरैले ‘एक्टिङ गर्नुस्’ भन्नुभयो, त्यहीँबाट मेरो दिमागमा पनि किरा पस्यो,”उनले हास्दै सम्झिनुभयो ।

फिल्म ‘पहाड’ मा पञ्चमीले ‘तारा’ नामक पात्र निर्वाह गर्नुभएको छ, जुन कथाको महत्त्वपूर्ण कडीका रूपमा रहेको छ । उहाँका अनुसार यो पात्रले कथाका विभिन्न मुख्य पात्रहरूबिच पुलको काम गर्छ । उहाँले आफूले पहिलो पटकमै बलियो (स्ट्रङ) चरित्र निर्वाह गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।

उक्त भूमिकाबारे उहाँ भन्नुभयो, “तारा भन्ने क्यारेक्टर एकदमै स्ट्रङ छ र कथामा ब्रिजजस्तो भूमिका खेल्छ । मेरो पहिलो फिल्ममै यस्तो बलियो क्यारेक्टर पाउनु मेरो लागि धेरै ठुलो कुरा हो ।”

फिल्ममा बिपिन कार्की, अरुण क्षेत्री, मदन कृष्ण श्रेष्ठ र सुनिल थापा जस्ता कलाकारसँग काम गर्ने अवसरलाई उहाँले विशेष उपलब्धि मान्नुहुन्छ । “यति ठुला कलाकारहरूसँग काम गर्नु नै मेरो लागि सौभाग्य हो,” उहाँले भन्नुभयो ।

छायाङ्कनका क्रममा धेरै रमाइला क्षणहरू अनुभव गरे पनि फिल्मको मुहूर्तपछि निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आउँदा सम्पूर्ण टोलीले देखाएको साथ र सहयोग आफ्नो लागि अत्यन्त भावुक क्षण बनेको उहाँले साझा गर्नुभयो । यसबाट फिल्म क्षेत्रका मानिसहरूबीचको आपसी माया र सद्‌भाव प्रस्ट भएको उनको भनाइ थियो ।

उहाँले भन्नुभयो, “डे वानदेखि अहिलेसम्मको पूरा प्रोसेस मेरो लागि एकदमै खुसीको यात्रा भयो । तर, मुहूर्तपछि बाबाको स्वास्थ्य बिग्रियो, त्यतिबेला टिमले देखाएको माया र साथ म कहिल्यै बिर्सन सक्दिनँ ।”

फिल्म ‘पहाड’ ले विशेषगरी विदेशिएका नेपालीहरूको भावना, घरप्रतिको माया र फर्किने चाहनालाई उठान गरेको छ । पञ्चमीका अनुसार अवसरको खोजीमा विदेशिएका नेपालीहरूलाई दोष दिनु उचित नभए पनि उनीहरूले आफ्नो जरा (घर) नबिर्सनुपर्ने सन्देश फिल्मले दिन्छ । साथै, देशले पनि फर्किन योग्य वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतालाई फिल्मले प्रस्तुत गरेको छ ।

उहाँले दार्जिलिङ, सिक्किम, कालिम्पोङलगायत स्थानका नेपाली समुदायका कथासँगै विश्वभर छरिएका नेपालीहरूको साझा अनुभवलाई फिल्मले समेटेको बताउनुभयो । यो केवल नेपालीहरूको मात्र नभइ घरबाट टाढा बसेका सबै मानिसहरूले अनुभूत गर्न सक्ने पारिवारिक कथा भएको उहाँको भनाइ छ ।

“विदेश गएका नेपालीहरू मनले होइन, परिस्थितिले गएका हुन्,” उहाँले भन्नुभयो, “सबै अनुभव लिएर एकदिन घर फर्किनुपर्छ भन्ने नै फिल्मको मुख्य सन्देश हो । ‘पहाड’ केवल एउटा स्थानको कथा नभइ विश्वभर छरिएका नेपालीहरूको साझा कथा हो । यो दार्जिलिङ, सिक्किम, नेपाल मात्र होइन, जहाँ जहाँ नेपाली छन्, सबैको कथा हो ।”

विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्दै उहाँले घरबाट टाढा बस्नुपर्ने पीडा, पर्व–उत्सवको सम्झना र परिवारको मायालाई फिल्मले उजागर गर्ने विश्वास व्यक्त गर्नुभयो । अवसर मिलेमा स्वदेश फर्किन र देशमै केही गर्ने प्रेरणा फिल्मले दिने उहाँले बताउनुभयो ।

पञ्चमीले नेपाली दर्शकहरूलाई नयाँ वर्षको अवसर पारेर परिवारसहित ‘पहाड’ हेर्न आग्रह गर्नुभयो । उहाँका अनुसार फिल्मले मनोरञ्जनसँगै गहिरो सन्देश दिने भएकाले दर्शक निराश नहुने विश्वास लिइएको छ । “पहाड हेरेपछि तपाईंलाई घर फर्किन मन लाग्छ जस्तो लाग्छ,” उहाँले विश्वास व्यक्त गर्दै भन्नुभयो ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपिन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रमोद प्रधानले छायाङ्कन गरेको फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको हो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...