काठमाडौँ, १७ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयका देहायको कार्य गर्न ‘फास्ट ट्रयाक डेस्क’ स्थापना गर्ने निर्णय गर्नुभएको छ ।
मन्त्री गौतमले मन्त्रालयका कामकारबाहीलाई छिटो, प्रभावकारी र पारदर्शी बनाउन फास्ट ट्रयाक डेस्क स्थापना गर्ने निर्णय गर्नुभएको हो ।
उहाँले उक्त डेस्कमार्फत मन्त्रालयभित्र भइरहेका कामहरूको अवस्था नियमित रूपमा अनुगमन गरिने बताउनुभयो । कुन महाशाखामा कुन काम कुन चरणमा छ भन्ने स्पष्ट जानकारी राखिने छ भने अन्य मन्त्रालयबाट आएका पत्रहरूको फर्छ्यौट प्रक्रिया तत्काल सुरू भएको छ वा छैन भन्ने पनि सुनिश्चित गरिने उहाँले बताउनुभयो ।
त्यस्तै, अपूर्ण कागजात वा मन्त्रालयको कार्यक्षेत्रभन्दा बाहिरका विषयहरू प्राथमिकताका आधारमा सम्बन्धित निकायमा फिर्ता गर्ने वा आवश्यक कागजात माग गर्ने प्रक्रिया पनि छिटो बनाइने मन्त्री गौतमले बताउनुभयो ।
मन्त्रालयका विभिन्न शाखा तथा महाशाखाबाट हुने काम तोकिएको समयसीमाभित्र सम्पन्न नभए त्यसका कारणहरूबारे नियमित रूपमा जानकारी संकलन र समीक्षा गरिने उहाँले बताउनुभयो ।