निहारीकाको उपन्यास ‘राजमाता’ सार्वजनिक

12

काठमाडौँ, १६ चैत । उपन्यासकार नीलम कार्की निहारीकाको ‘राजमाता’ उपन्यास सार्वजनिक भएको छ ।

फाइन प्रिन्टद्वारा प्रकाशित कार्कीको कृति आइतबार नेपाल पर्यटन बोर्डमा सार्वजनिक भएको हो । संस्कृतिविद् प्राडा वीणा पौडेलले उहाँको उपन्यासमाथि समीक्षा गर्नुभएको थियो । उहाँका अनुसार साहित्यमा इतिहासलाई आधार मानेर लेख लेख्ने महिला साहित्यकार निकै कम रहेका छन् । जसमा कार्कीले लेखेको यो उपन्यासले इतिहासको एक हिस्सालाई दस्तावेज गरेको उहाँको बुझाइ छ । दसौँ शताब्दीयताको एउटा सांस्कृतिक रहनसहनबारे प्रतिबिम्ब झल्किने उपन्यास राजमाताले त्यस कालखण्डको धेरै नालीबेली समेटेको पौडेलले टिप्पणी गर्नुभयो ।

कार्कीको सन् २०१९ देखि राजमाता उपन्यास लेख्न थाल्नुभएको भए पनि बिचमा कोरोना महामारीले उपन्यास थन्किएको बताउनुभयो । लेख्दा लेख्दै मरिने हो कि ? जस्ता भावनाहरुले उहाँलाई त्यतिबेला अल्झाएको क्षण सम्झँदै अहिले राजमाता प्रकाशन गर्न सक्नु आफ्नै जीवनको अमूल्य पल महसुस गरेको कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “मनमा अनेक विचलन आउँथे तर, उपन्यास लेखेरै छाडे ढिलै भए पनि ।”

उपन्यास सार्वजनिक गरेपछि लेखक सोभित सिम्खडाले लेखक कार्कीसँग राजमाताको विषयमा अन्तरक्रियात्मक संवादसमेत गर्नुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...