बालेन्द्र शाह : र्‍यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

16
  • प्रमिला कार्की

काठमाडौँ, १३ चैत । र्‍यापर, इञ्जिनियर र समाजसेवी बालेन्द्र शाह (बालेन) नेपालको ४३औँ प्रधानमन्त्री बन्नुभएको छ । उहाँका लागि यो यात्रा केवल राजनीतिक पदमात्रै होइन, आन्दोलन, संघर्ष र परिवर्तनको कथा पनि हो ।

नेपाली राजनीतिक नेतृत्वमा बालेन शाहको नाम युवाप्रेमी र नवप्रवर्तनकारी सोचका प्रतिनिधिका रुपमा लिइने गरिन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिएका कारण उहाँ आलोचित बन्नुभएको थियो । त्यसक्रममा उहाँलाई केही नेताहरुले ‘लुसिफर’को संज्ञासमेत दिएका थिए ।

र्‍यापर, इञ्जिनियर, सामाजिक सञ्जालको प्रभावशाली प्रयोगकर्ता र युवाहरुको रोजाइमा परेका बालेनले काठमाडौँ महानगरपालिका मेयर पद पूरा नगरी राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ उपाध्यक्ष बन्नुभएको थियो ।

काठमाडौँको भिडभाड, अव्यवस्था सडक र परम्परागत राजनीतिक प्रणालीका कारण निराश भएका नागरिकहरुलाई सुधारका लोकप्रिय कामहरु गरेर चर्चा कमाएका उहाँ मेयर पदमा स्वतन्त्र उम्मेदवारका रुपमा सार्वजनिक हुँदा मात्र उहाँका बारेमा धेरैले चासो राखेका थिए ।

०७९ सालको स्थानीय तह निर्वाचनमा शाहले स्वतन्त्र उम्मेदवारी दर्ता गरेर काठमाडौँ महानगरपालिकामा मेयरको रूपमा विजयी हुँदा प्रमुख एजेन्डाहरूमा भ्रष्टाचार विरोध, पारदर्शिता, पूर्वाधार सुधार, स्मार्ट सिटी योजना, सडक व्यवस्थापन र सार्वजनिक स्थानको सुन्दरता थिए । उहाँका अभियानहरूले युवाहरूमाझ ठुलो समर्थन पायो र उहाँलाई मेयर पदमा विजय हुन सहयोग पुर्‍याएको थियो ।

शाहको जन्म काठमाडौँमा मधेसी साहु तेलीको परिवारमा भएको थियो । उहाँ २०४७ वैशाख १४ मा जन्मिनुभएको हो । बालेनको पुर्ख्यौली घर महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा पर्दछ । काठमाडौँको नरदेवीमा बुवा डा.रामनारायण शाह र आमा ध्रुव्रादेवी शाहको कोखबाट जन्मिनुभएका बालेनका एक दाजु र एक बहिनी छन् । नर्स तथा मोडेल सविना काफ्लेसँग विवाह गरेका बालेनकी एक छोरी छन् ।

उहाँले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा स्थित विश्वेश्वरय्या प्राविधिक विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्नुभएको छ ।

२०७२ सालको महाभूकम्पपछि उहाँले उद्धार र राहतको काममा सक्रिय भएर समाजसेवीको रूपमा पनि आफूलाई स्थापित गर्नुभएको थियो ।

उहाँ सिभिल इञ्जिनियरिङमा शिक्षित हुनुहुन्छ । युवादेखि नै उहाँ सिर्जनात्मक काममा संलग्न हुनुहुन्थ्यो । संगीतमा रुची राख्ने शाह र्‍याप कलाकारका रूपमा पनि परिचित हुनुहुन्छ ।

उहाँले आफ्नो पहिलो गीत ‘सडक बालक’ ०६९ मा गाएका थिए र यो गीत उनले कक्षा ९ मा हुँदा लेख्नुभएको थियो । उहाँको ‘म नेपाल हासेको हेर्न चाहन्छु’ गीत पछिल्लो निर्वाचनमा सबैभन्दा धेरै चर्चामा आएको थियो । ‘गरिबीको चमेली, बोल्दिने कोही छैन’ भन्ने गीतसमेत चर्चित छन् । बिहीबार प्रतिनिधि सभाको शपथ लगत्तै उनको ‘जय महाकाली’ बोलको गीत सार्वजनिक भएको थियो ।

सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो विचार र सिर्जनाहरु साझा गर्दै नयाँ पुस्तासँग निरन्तर संवाद गर्दै आउनुभएको छ।

उहाँको मेयर पदको कार्यकालका दौरान काठमाडौँ महानगरपालिकाले सडक सुधार, सार्वजनिक पार्क र खुला स्थानको सुन्दरता, डिजिटल सेवा विस्तार र नागरिक सहभागितामा सुधार जस्ता परियोजनाहरू अघि बढाइएको छ ।

शाहले सिधा संवाद र जवाफदेहीतालाई प्राथमिकता दिए, जसले नागरिकहरूमा उनीप्रतिको भरोसा बढाएको छ । उहाँको नेतृत्व शैलीले देखाएको छ कि नयाँ सोच, पारदर्शिता र जनसहभागिताले राजनीतिमा पनि प्रभावकारी परिवर्तन ल्याउनसक्छ ।

उहाँ नेपाली युवाप्रतिको विश्वास र आशाको प्रतीक बन्न पुगेका छन् र उहाँका कदमहरूले देशको राजनीति र सामाजिक विकासमा नयाँ दिशा देखाउने सम्भावना रहेको अनुमान गरिन्छ । जोखिम मोलेर अघि बढ्न सक्ने क्षमताका कारण पनि उहाँको लोकप्रियता चुलिएको थियो ।

युवा वर्गमा लोकप्रिय शाहले आफ्नो अभियानमा पारदर्शिता, जवाफदेहिता र नवप्रवर्तनलाई जोड दिनुभएको छ । उहाँ संगीतकार र इञ्जिनियर पनि हुनुहुन्छ, जसले आफ्नो बहुआयामिक व्यक्तित्वका कारण सामाजिक र राजनीतिक क्षेत्रमा द्रुत प्रभाव छाडेको छ ।

बालेनको राजनीतिमा प्रवेश मात्र अचानक थिएन, उनी जेनजी आन्दोलनका सक्रिय अभियन्ता थिए, जसले नवयुवाहरूको अधिकार, पारदर्शिता र भ्रष्टाचारविरुद्ध आवाज उठायो । आन्दोलनले उनलाई देशभर परिचित बनायो र युवाप्रतिको विश्वास बढाएको थियो । अन्तर्मुखी र कूटनीतिक स्वभाव, व्यवस्थापनमा अब्बल, नयाँ नयाँ रणनीतिमा रमाउने स्वभावका उनका सार्वजनिक भाषणहरु थोरै समयका मात्र हुने गरेका छन् ।

जनताको सेवा र नवप्रवर्तनलाई राजनीति भन्दामाथि राख्ने आफ्नो दृष्टिकोणका कारण उहाँले मेयर पदबाट राजीनामा दिएको चर्चा गरिएको थियो । कम बोल्ने कडा प्रशासकको परिचय बनाएका बालेन आगामी कार्यकाल कस्तो रहन्छ हेर्न बाँकी छ ।

त्यसपछि उहाँले राष्ट्रिय राजनीतिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सांसदको उम्मेदवारी दिएर देश दौडाहमा निस्किनुभएको थियो । उहाँको लोकप्रियता र स्पष्ट दृष्टिकोणका कारण उहाँले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै सांसद पदमा विजयी हुनुभयो ।

फागुन २१ गते मतदाताले रास्वपालाई १८२ सिटसहित देशको ठुलो राजनीतिक दल बनाएपछि बालेन एकल बहुमतसहितको शक्तिशाली प्रधानमन्त्रीको कुर्सी सम्हाल्न पुग्नुभएको छ । शुक्रबार राम नवमीको अवसर पारेर शुभ साइतमा शाहले नेपालको प्रधानमन्त्रीको कुर्सी सम्हाल्नुभएको हो । –नेपाल न्युज बैङ्क

Share This:
Loading...