- सन्तोषी रावल
काठमाडौँ, १२ चैत । बाजुरा जिल्लाबाट नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित जनकराज गिरीले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको भूमिका प्रभावकारी र जिम्मेवार ढंगले निर्वाह गर्ने बताउनुभएको छ ।
नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले संसद्मा आफ्नो भूमिका, काङ्ग्रेसभित्रका चुनौती र समसामयिक राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्नुभएको छ ।
गिरीले निर्वाचनपछि आफू मतदातालाई धन्यवाद दिने कार्यक्रममै व्यस्त रहेको उल्लेख गर्दै शपथ ग्रहणपछि पुनः जनतामाझ जाने तयारीमा रहेको बताउनुभयो । “अहिले काठमाडौँमा पार्टीको केन्द्रीय समिति बैठक, संसदीय दलको नेतृत्व चयनलगायतका गतिविधिमा व्यस्त छौँ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार लोकतन्त्रमा सत्ता र प्रतिपक्ष दुवै भूमिका महत्त्पूर्ण हुन्छन् । काङ्ग्रेसको विगतको अनुभव उल्लेख गर्दै उहाँले कहिले सत्तामा, कहिले प्रतिपक्षमा रहँदै आएको इतिहास स्मरण गर्नुभयो । “प्रतिपक्ष भनेको ‘वेटिङ गभर्मेन्ट’ हो । सरकारका राम्रा काममा सहयोग गर्ने र गलत बाटोमा गए सचेत गराउने हाम्रो दायित्व हो,” उहाँले स्पष्ट पार्नुभयो ।
हाल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठनको सन्दर्भमा गिरीले नयाँ दलले जनतामा ठुलो अपेक्षा सिर्जना गरेको बताउनुभयो । सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र विकासका मुद्दामा सरकार सफल हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “सरकारले राम्रा काम गरे हामी पूर्ण सहयोग गर्छौँ, तर संविधान, राष्ट्रियता र सार्वभौमिकतामा आँच आउने काम भए कडा रूपमा विरोध गर्छौँ,” उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समयको जनआन्दोलन र युवाहरूको असन्तुष्टिले नयाँ राजनीतिक शक्तिहरूलाई अवसर दिएको विश्लेषण गर्नुभयो । पुराना दलहरूको कमजोरी स्वीकार गर्दै उहाँले भन्नुभयो, “हामीले विगतमा सुशासन, सेवा प्रवाह र रोजगारी सिर्जनामा अपेक्षित काम गर्न सकेनौँ । ती कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्छ ।”
गिरीले दैनिक हजारौँ युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिनु ठुलो चुनौती भएको उल्लेख गर्दै मुलुकभित्रै अवसर सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो । साथै, भ्रष्टाचार नियन्त्रण र पारदर्शिता कायम गर्न राजनीतिक दलहरू जिम्मेवार हुनुपर्ने उहाँको धारणा छ ।
काङ्ग्रेसभित्रको आन्तरिक अवस्थाबारे बोल्दै गिरीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व आएको र त्यसलाई वैधानिक मान्यता प्राप्त भइसकेको बताउनुभयो । गगन कुमार थापा नेतृत्वलाई बहुमत प्रतिनिधिको समर्थन रहेको उल्लेख गर्दै उहाँले केही असन्तुष्टि भए पनि आगामी नियमित महाधिवेशनमार्फत पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सामाजिक सञ्जाल नियन्त्रणका विषयमा पनि सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताउनुभयो । “नियमन आवश्यक छ, तर पूर्ण बन्द गर्नु उचित हुँदैन,” उहाँले भन्नुभयो ।
गिरीले प्रतिपक्षमा रहे पनि जनताका मुद्दामा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो । “सरकारमा नहुँदैमा जनताका समस्या बेवास्ता हुँदैनन् । राष्ट्रिय हित र जनजीविकाका सवालमा काङ्ग्रेस सधैँ अग्रसर रहने छ,” उहाँले बताउनुभयो । –नेपाल न्युज बैङ्क