सुर्खेत, ११ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनामा प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । इनिशा घटनामा जोडिएका सबै तथ्यहरुको आधारमा गरिएको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शर्माले जानकारी दिए ।
इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरुको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको उहाँले बताउनुभयो । “घटनाको अनुसन्धान पूरा गरी टोली अनुसन्धानमा संलग्न टोलीहरु फर्किएको छ,” उहाँले भन्नुभयो, “केही रिपोर्टहरू आउन बाँकी छ, अहिलेसम्मको प्रतिवेदन हामीले बुझाएका छौँ ।” प्रहरीले अनुसन्धान सकेसँगै इनिशा प्रकरण अब न्यायलयमा प्रवेश गरेको छ । अनुसन्धानको क्रममा प्राप्त तथ्य प्रमाण र आरोपितहरुको बयानका आधारमा प्रतिवेदन तयार गरी पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले बताउनुभयो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनाललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । आरोपितहरु चारै जना इनिशा घटनामा दोषी भएको भन्दै जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा कारबाहीको मागसहितको प्रतिवेदन तयार पारेको छ । घटनामा पक्राउ परेका चारै जनाको संलग्नता अनुसन्धानमा खुलेको उहाँले बताउनुभयो । घटनासँग सम्बन्धित प्राविधिक रिपोर्टहरु सबै प्राप्त भइसकेको र केही रिपोर्टहरु आउने क्रममै रहेका छन् । “अनुसन्धानमा खुलेका सबै तथ्यहरुसहितको प्रतिवेदनमा बुझाइसकिएको छ,” उहाँले भन्नुभयो, “अब कुराहरु न्यायलयमा खुल्न सक्छन् ।”
दुई हप्ता अघिदेखि प्रहरीले वैज्ञानिक तरिकाले अनुसन्धान गर्ने भन्दै केन्द्रबाट सिआइबी, नेपालगञ्जबाट पोलिग्राफ, सिडिआर एनालिसिसहरूलगायतका विज्ञहरुको टोलीले घटनाको अनुसन्धान गरेको छ । सामूहिक बालात्कारपछि इनिशाको हत्या भएको भन्दै आफन्त र परिवारले उनको शव बुझ्न मानेका छैनन् । घटना भएको १८ दिन बितिसक्दा पनि इनिशाको शव कर्णाली प्रदेश अस्पतालको शवगृहमै रहेको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितहरुको मोबाइलसहित भजाइनल स्वाब परीक्षणलगायतका परीक्षण, केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परिक्षण प्रहरीले प्रतिवेदन तयार गरेको हो ।
पक्राउ परेकामध्ये एकले एक नाबालकले दुई वर्षदेखि इनिशासँग प्रेम सम्बन्धमा रहेको, आफूहरुबिच शारीरिक सम्बन्ध रहँदै आएको र घटनाको दिनमा पनि सहमतिमै शारीरिक सम्पर्कपछि रक्तश्राव भएपछि इनिशा बेहोस् भएको बयान दिएका थिए । “इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,” अभियुक्तको बयान उदृत गर्दै ती एक अनुसन्धान अधिकृतले भन्नुभयो, “आफ्नो आग्रहमा अरू साथीहरु घटनास्थल आएका हुन् ।” सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।
सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् । इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सिआइबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण सङ्कलन तथा अनुसन्धान गरेको थियो ।
मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ । फागुन २३ गते इनिशा सामुदायिक जङ्गलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिशा घटनाको विषयमा दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय दिलाउन भन्दै देशभर प्रदर्शन भइरहेका छन् । कर्णाली प्रदेशसभामा पनि सांसदहरुले इनिशा घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने आवाज उठाएका थिए । –नेपाल न्युज बैङ्क