काङ्ग्रेसले देशलाई दुर्घटना, द्वन्द्व वा अतिवादमा पर्न नदिने गरी काम गर्छ : गगन थापा

26

काठमाडौँ, १० चैत । नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले पार्टीले निर्वाचनमा गरेको प्रतिज्ञा अनुसार नै प्रतिपक्षको भूमिका जिम्मेवार ढंगले निर्वाह गर्ने बताउनुभएको छ ।

मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उहाँले मतदाताले सरकार सञ्चालन गर्न मत नदिएपनि प्रतिपक्षको जिम्मेवारी दिएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “हामी नागरिकहरूको बिचमा पाँच वर्ष मतको सम्मान गर्ने प्रतिवद्धता लिएर गएका थियौँ । त्यो मतले सरकार सञ्चालन गर्न नदिए पनि प्रतिपक्षको जिम्मेवारी दिएको छ, र हामी त्यस प्रतिज्ञामा बाँधिएका छौँ ।”

उहाँले सरकारमा हुँदा मात्र होइन, प्रतिपक्षमा हुँदा पनि प्रतिवद्धताबाट पछि हट्न नहुने स्पष्ट पार्नुभयो । “हामी सरकारमा हुँदा मात्र प्रतिज्ञामा बाँधिने र नहुँदा नबाँधिने भन्ने हुँदैन,” उहाँले भन्नुभयो ।

थापाले २०८२ देखि २०८७ सम्मको अवधिमा सुशासन, विकास र सेवा प्रवाहको गति विगतभन्दा चार गुणा बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

साथै, उहाँले देशमा कुनै पनि प्रकारको अस्थिरता वा ‘दुर्घटना’ हुन नदिन सबै राजनीतिक शक्तिहरू जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

“०८२ देखि ८७ सम्मको पाँच वर्षको अवधिमा नेपालमा सुशासन, विकास, सेवा प्रवाहको गति पहिलाको भन्दा चार गुणा बढी हुनुपर्छ । सँगै गतिमा जानुपर्छ तर दुर्घटना हुनु हुँदैन,” उहाँले भन्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार सञ्चालनको जिम्मेवारी पाएको उल्लेख गर्दै उहाँले सरकारलाई पूर्ण साथ रहने तर आवश्यक ठाउँमा दबाब, प्रोत्साहन र प्रश्नसमेत गर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच वर्षको लागि ड्राइभिङ सिटमा बस्ने जिम्मेवारी पाएको छ । देशमा सुशासनको सेवा प्रवाहको गतिमा लिएर जाने मूल जिम्मेवारी उहाँहरुले पाउनुभएको छ । यसमा नेपाली काङ्ग्रेस पार्टीको पूर्णरुपमा साथ रहन्छ ।”

उहाँले देशलाई आगामी पाँच वर्ष कुनै पनि प्रकारको ‘दुर्घटना’, द्वन्द्व वा अतिवादमा पर्न नदिन नेपाली काङ्ग्रेसको जिम्मेवारी भएको बताउनुभयो ।

“देशले पटक पटक दुर्घटना व्यहोरेको छ । हामी जहिले पनि बहुमत प्राप्त गर्छौँ कहिलेकाही सजिलो हुन्छ भन्ठान्छौँ तर दुर्घटनामा पर्छौँ । अबको पाँच वर्ष देश कुनै पनि दुर्घटनामा पर्नु हुँदैन । कुनैपनि द्वन्द्वमा पर्नु हुँदैन । कुनै पनि अतिवादमा पर्नु हुँदैन । नेपाली काङ्ग्रेसको अर्को भूमिका यो हो,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...