- प्रमिला कार्की
काठमाडौँ, १० चैत । आज विश्व क्षयरोग दिवस । हरेक वर्ष मार्च २४ मा मनाइने विश्व क्षयरोग दिवसले नेपालजस्तो विकासोन्मुख देशका लागि केवल औपचारिकता मात्र नभइ गम्भीर चेतावनी पनि बोकेको छ । क्षयरोग (टिबी) अझै पनि जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा विद्यमान छ । जसले हजारौँ नेपालीको जीवन प्रभावित बनाइरहेको छ ।
यसै सन्दर्भमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका उपसचिव कपिलप्रसाद तिमल्सेनासँग नेपाल न्युज बैङ्कले गरेको विशेष कुराकानी गरेको छ । कुराकानीको सुरुवातमै तिमल्सेनाले क्षयरोगको वर्तमान अवस्थाबारे स्पष्ट पार्दै नेपालमा क्षयरोगका बिरामी घट्नुको साटो बढिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा क्षयरोग दिन प्रतिदिन बढेकै छन् । यो एक प्रकारको भयावह सरुवा रोग हो । परिवारमा एक जनालाई लाग्यो भने अरुलाई पनि सर्नसक्ने सम्भावना हुन्छ । किनभने यो सरुवा रोग हो । त्यसकारणले यसको संख्या दिन प्रतिदिन बढ्दो छ भन्ने अनुमान गर्न सहजै सकिन्छ । तर, यसलाई नबढाउने तरिकाले घटाउन कसरी सकिन्छ, निवारण कसरी गर्न सकिन्छ ? भन्ने सन्दर्भमा सरकारका प्रयासहरु जारी छन् । तर, सरकारले एक्लैले अलि गर्न अलिकति कठिन हुँदो रहेछ ।” उहाँका अनुसार, रोगको प्रकृति नै यस्तो छ कि समयमै नियन्त्रण नगरे यसको विस्तार रोक्न कठिन हुन्छ ।
वार्षिक १६ हजार मृत्युः भयावह यथार्थ
तिमल्सेनाले राष्ट्रिय प्रिभ्यालेन्स सर्वे अनुसार नेपालमा हरेक वर्ष करिब १६ हजार मानिस क्षयरोगका कारण ज्यान गुमाइरहेका छन् । उहाँका अनुसार यो संख्या आधिकारिक तथ्याङ्क मात्र हो, वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान छ । विशेषगरी घना बस्ती र उच्च जनसंख्या भएका क्षेत्रमा सङ्क्रमणको दर अझ तीव्र हुने भएकाले जोखिम बढेको छ ।
“प्रिभ्यालेन्स सर्भेको आधारमा हामीले निकालेको एउटा रिपोर्टअनुसार १६ हजार बिरामीहरु वार्षिक रुपमा मर्छन् । १६ हजार भनेको निकै ठुलो संख्या हो । १६ हजार त भनेका छौँ तर यो भन्दा अझ अझ बढी पनि हुन सक्छ । राष्ट्रिय आङ्कडामा आएको फिगर यो हो । तर, योभन्दा बढी पनि हुन सक्छ । किनभने भौगोलिक बनोट नै त्यस्तो खालको छ,” उहाँले भन्नुभयो ।
त्यस्तै, उहाँले क्षयरोग नियन्त्रणको सबैभन्दा ठुलो चुनौती बिरामी पहिचानमै रहेको स्वीकार गर्नुभयो ।
“हामीले प्रत्येक वर्ष करिब ६७ हजार बिरामी पहिचान गर्नुपर्ने हुन्छ, तर अहिले करिब ४० हजार मात्रै पत्ता लगाउन सकेका छौँ,” उहाँले भन्नुभयो ।
यसरी करिब २७ हजार बिरामी अझै पहिचान बाहिर रहेको अवस्था छ, जसले रोग फैलिने जोखिमलाई थप बढाएको छ ।
सामाजिक लाञ्छना
क्षयरोग नियन्त्रणमा अर्को गम्भीर समस्या सामाजिक लाञ्छना रहेको तिमल्सेना बताउनुहुन्छ ।
“नेपालमा अझै पनि क्षयरोगलाई लुकाउने प्रवृत्ति छ । मानिसहरू ‘मलाई टिबी भयो’ भन्न डराउँछन् । ‘क्षयरोग पहिचान शिविर’ भन्यौँ भने मानिसहरू आउँदैनन् । तर, ‘छातीको एक्स–रे’ भन्यौँ भने मात्रै सहभागी हुन्छन्,” उहाँले भन्नुभयो ।
स्रोत अभावः मुख्य चुनौती
क्षयरोग नियन्त्रणका लागि आवश्यक स्रोतको अभाव पनि प्रमुख समस्या बनेको छ । तिमल्सेनाका अनुसार पाँच वर्षे रणनीतिमा आवश्यक बजेटको झन्डै ४३ प्रतिशत अभाव छ । उपलब्ध स्रोतले मात्रै लक्ष्य हासिल गर्न निकै कठिन छ ।
उहाँले भन्नुभयो, “नेपालमा अहिले आर्थिक अभाव छ । टिभी निवारणका लागि बर्सेनी बजेटको मात्रा घटिरहेको अवस्था छ । अर्को आर्थिक वर्षको लागि फेरि बजेटको सिलिङ जुन छ त्यो पनि घटेर आइसकेको अवस्था छ । प्रत्येक वर्ष आर्थिक रुपमा सिलिङहरु घट्दै जाने, बजेटहरु घट्दै जाने हो भने गाउँघरमा गएर क्लिनिक सञ्चालन गर्दै टिभी पहिचान गर्ने, खोज्ने, पहिचान गर्ने र त्यसको निदान गर्नलाई स्रोतकै आवश्यक पर्छ । स्रोत न्यून भएकाले लक्ष्य प्राप्ति गर्नलाई त्यति सहज देख्दिन, तथापि हाम्रा प्रयासहरु जारी छन् ।”
नेपालले ग्लोबल फण्ड जस्ता अन्तर्राष्ट्रिय साझेदारबाट सहयोग लिइरहेको छ । तर, तिमल्सेनाका अनुसार त्यो सहयोग मात्र पर्याप्त हुँदैन । अझै थप स्रोतको आवश्यकता छ, नत्र लक्ष्य प्राप्ति कठिन हुन्छ ।
प्रविधि प्रयोगमा सुधार, तर पहुँच सीमित
हाल नेपालमा जीन एक्सपर्ट, ट्रु–न्याट, एआई पोर्टेबल एक्स–रे जस्ता आधुनिक प्रविधि प्रयोग भइरहेको छ । यी प्रविधिले छिटो पहिचानमा मदत गर्छन् तर उनको अनुसार पर्याप्त संख्यामा उपकरण नहुँदा देशभर प्रभावकारी रूपमा विस्तार गर्न सकिएको छैन ।
उहाँका अनुसार नयाँ प्रविधि विस्तार गर्न सकेमा बिरामी छिटो पत्ता लगाउने र उपचार सुरू गर्ने प्रक्रिया अझ प्रभावकारी हुनेछ ।
सरकारले क्षयरोगको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । धेरै बिरामी केही महिना औषधि खाएपछि आफूलाई निको भएको ठान्छन् र औषधि छाड्छन् । यसले रोग पुनः सक्रिय हुने र झन् जटिल बन्ने जोखिम बढाउने उहाँको भनाइ छ ।
कार्यान्वयनमा कमजोरी
नेपालमा नीति र योजना राम्रो भए पनि कार्यान्वयनमा कमजोरी रहेको तिमिल्सिनाले स्वीकार्नुभयो । टेबलमा बसेर योजना बनाउनु र फिल्डमा कार्यान्वयन गर्नु फरक कुरा भएको उहाँको तर्क छ । भौगोलिक कठिनाइ, जनचेतनाको अभाव र सामाजिक व्यवहारले योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कठिन बनाएको उहाँको ठम्याइ छ ।
तीन तहको सरकारको भूमिका
संघ, प्रदेश र स्थानीय तहबीच समन्वय भएपनि स्रोत अभावले काम प्रभावित भएको उहाँले बताउनुभयो । स्थानीय तहको भूमिका महत्त्वपूर्ण भए पनि पर्याप्त स्रोत नहुँदा प्रभावकारी रूपमा काम गर्न नसकिएको अवस्था रहेको उहाँले सुनाउनुभयो ।
तिमल्सेनाले क्षयरोग दिवसको सन्देश दिँदै भन्नुभयो, “क्षयरोग लुकाउने रोग होइन, उपचार गरेर निको पार्ने रोग हो । समयमै पहिचान र पूर्ण औषधि सेवन अत्यावश्यक छ । सरकार एक्लैले यो समस्या समाधान गर्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, मिडिया र सर्वसाधारण सबैको सहकार्य आवश्यक छ ।”
विश्व क्षयरोग दिवसले केवल समस्या उजागर गर्ने होइन, समाधानका लागि सामूहिक प्रयास आवश्यक भएको सन्देश दिन्छ । यदि सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्न सके भने मात्र नेपालले क्षयरोगमुक्त भविष्यतर्फ यात्रा गर्न सक्छ । –नेपाल न्युज बैङ्क