जुम्लामा दुई उडान गर्ने सहमतिपछि नेपाल एयरलाइन्स कार्यालयको ताला खोलियो

24

जुम्ला, ८ चैत । नेपाल एयरलाइन्सले जुम्लामा सोमबार दुई वटा उडान गर्ने सहमति जनाएपछि जुम्लास्थित यसको कार्यालयमा लगाइएको ताला खोलिएको छ ।

दुई हप्तादेखि नियमित उडान हुन नसकेको र आइतबारको उडान अन्तिम समयमा रद्द भएपछि आक्रोशित यात्रुहरूले कार्यालयमा ताला लगाएका थिए ।

यसअघि नेपाल पत्रकार महासंघको अगुवाइमा जिल्ला प्रशासन कार्यालयमा नेपाल एयरलाइन्ससहित सीता, समिट र तारा एयरको नियमित उडान माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको थियो ।

त्यसपश्चात भएको छलफलमा आइतबारको उडान विभिन्न कारणवश रद्द भएको जानकारी दिँदै सोमबार रद्द भएको उडानसहित नियमित उडान गरी दुई वटा उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलले बताउनुभयो ।

उहाँका अनुसार जुम्लामा नियमित उडान सुनिश्चित गर्न नेपाल एयरलाइन्सलगायत निजी विमान कम्पनीहरूलाई प्रशासनले पत्राचार समेत गरेको छ । नेपाल एयरलाइन्सका महानिर्देशक अमृतमान श्रेष्ठले पनि सोमबार दुई वटा उडान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

निमित्त प्रजिअ रावल र युवा अनुप थापाबिच भएको टेलिफोन संवादअनुसार चैत ९ गते बिहान १० देखि ११ बजेसम्म पहिलो उडान र त्यसपछि दिउँसो दोस्रो उडान सञ्चालन गर्न नेपालगञ्ज स्टेसनलाई निर्देशन दिइसकेको जानकारी दिइएको छ ।

नियमित उडानका लागि पहल गर्ने र सोमबार दुई उडान गर्ने सहमति भएपछि कार्यालयमा लगाइएको ताला खोलिएको जुम्ला स्टेसन इन्चार्ज उकान्त न्यौपानेले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...