सुर्खेत, ८ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकको घटनाको अनुसन्धान नसकिएपछि घटनाको वास्तविकता अझै बाहिर आउन सकेको छैन । इनिशाका आफन्त र परिवारले सामूहिक बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गरिरहँदा दुई सातादेखि इनिशाको शव कर्णाली प्रादेशिक अस्पतालको शव गृहमै छ ।
घटनालगत्तै अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान भइरहेको र केही दिनमै टुङगोमा पुगिने बताएको छ । घटनाको तथ्य पत्ता लगाउन मृतक र आरोपितको मोबाइलसहित भजाइनल स्वाब परीक्षण भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिनुभयो ।
“केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको छ,” उहाँले भन्नुभयो, “ती रिपोर्टहरू आएपछि घटनाको वास्तविक तथ्य खुल्नेछ ।”
हत्या प्रकरणमा जोडिएका अभियुक्तहरूको बयान सकिए पनि उनीहरूले घटनामा इन्कारी बयान दिएका छन् । पक्राउ परेकामध्ये एकले एक नाबालकले दुई वर्षदेखि इनिशासँग प्रेम सम्बन्धमा रहेको बयान दिएका छन् ।
उनले आफूहरूबिच शारीरिक सम्बन्ध भएको र रक्तस्राव भएपछि इनिशा बेहोस् भएको बताएको ती अधिकृतले बताउनुभयो ।
“इनिशा बेहोस भएपछि अस्पताल लैजान साथीहरूको सहयोग मागेको हो,” अभियुक्तको बयान उदृत गर्दै ती अधिकृतले भन्नुभयो, “आफ्नो आग्रहमा अरू साथीहरू घटनास्थल आएका हुन् ।”
सिसिटिभी फुटेजमा पनि बिहान ६ बजेतिर इनिशा र ती १६ वर्षे नाबालक किशोर मात्रै गएको देखिएको छ ।
ती युवाहरूले दिएको बयान सत्य हो या झुटो भन्ने कुरा पोलिग्राफबाट थाहा हुनेछ ती अधिकृतले बताउनुभयो । घटनालाई वैज्ञानिक तवरले अनुसन्धान गर्न नेपालगञ्जबाट पोल ग्राफको टोली पनि खटिएको छ । उक्त पोलिग्राफले सही वा झुटो बोलेको कुरा पत्ता लगाउने प्रहरीले जनाएको छ । घटनाको विभिन्न पाटोबाट अनुसन्धान सकिएको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निष्कर्षमा पुग्न नसकिएको बुढथापाले बताउनुभयो ।
सुर्खेतको उषा बाल वाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएको भन्दै दबाब बढाइरहेका छन् ।
इनिशा हत्यामा जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान पूरा गरेपछि थप अनुसन्धानका लागि सिआइबीको टोली वीरेन्द्रनगर पुगेर थप प्रमाण संकलन तथा अनुसन्धान गरिरहेको छ । मृतकको पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण इनिशाको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले घटनामा संलग्न रहेका प्रेमी भनिएका १६ वर्षीय एक किशोरसहित चार जनालाई पक्राउ गरी जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको छ ।
फागुन २३ गते इनिशा सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । सुर्खेत गुर्भाकोट बडा खाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । –नेपाल न्युज बैङ्क