मलङ्गवा, १ चैत । लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भइ हाल सर्लाहीको लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए । प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकामा उपचारकै क्रममा शनिबार राति ९ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो ।
दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।