इनिशाको न्यायको माग गर्दै विद्यार्थीको प्रदर्शन

16
  • खगेन्द्र भट्टराई

सुर्खेत, २९ फागुन । बलात्कारपछि हत्या गरिएको भनिएकी सुर्खेतकी इनिशा बिकलाई न्यायको माग गर्दै सुर्खेतमा विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् ।

इनिशा अध्ययनरत विद्यालय उषा बालवाटिकाका विद्यार्थी, शिक्षक कर्मचारीहरुले वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । विद्यालय पोशाकमै रहेका उनीहरुले केही समय जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी समेत गरेका छन् । ‘इनिशालाई न्याय दे’, ‘हत्यारालाई फाँसी दे’ ‘छोरी मार्न पाइँदैन’ लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरुले प्रदर्शन गरेका हुन् ।

फागुन २३ गते इनिशा सुर्खेतको सामुदायिक जंगलमा मृत अवस्थामा भेटिएकी थिइन् । अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली सुर्खेत पुगेर घटनाको अनुसन्धान थालेको छ । घटना अनुसन्धान गर्न प्रहरी निरीक्षकको नेतृत्वमा सिआइबीको विज्ञ टोली वीरेन्द्रनगर आएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धानको काम सकेको र घटनामा प्राप्त प्रमाणको वैज्ञानिक र प्राविधिक विश्लेषणका लागि सिआइबीको सहयोग लिनुपरेको शाहीले बताउनुभयो ।

अनुसन्धानका पोस्टमार्टम रिपोर्ट र अन्य प्रमाणहरू प्राप्त भइसकेकाले अनुसन्धानको अन्तिम निष्कर्षमा पुग्न सिआइबीको सहयोग लिनुपरेको उहाँले बताउनुभयो । “धेरै प्रमाणहरुको परीक्षण भइरहेको छ,” उहाँले भन्नुभयो, “पोस्टमार्टम रिपोर्ट आयो, मोबाइल फोनहरू केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ ।” प्रयोगशालाका रिपोर्टहरू आएपछि घटनाको वास्तविकता पत्ता लाग्ने उहाँले बताउनुभयो ।

उपरीक्षक शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विज्ञ टोली गठनसँगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने टोली पनि पुगेको छ । पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने उहाँले जानकारी दिनुभयो । मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरु प्रयोगशालामा पठाइएको शाहीले बताउनुभयो ।

एक सातादेखि इनिशाको शव आफन्तले बुझ्न मानेका छैनन् । कर्णाली प्रादेशिक अस्पतालको शव गृहमा इनिशाको शव राखिएको छ । सामूहिक बलात्कारपछि हत्या गरिएकोले इनिशाको हत्यामा संलग्नलाई कारबाही हुने विश्वस्त वातावरण नभएसम्म आफन्तले शव नबुझ्ने अडान राखेका छन् ।

रोजगारीको लागि दुबईमा रहेका इनिशाका बुबा छोरीको हत्याको खबर पाएपछि दुबईबाट भारत हुँदै सुर्खेत पुगेका छन् । वीरेन्द्रनगरमा रहेकी उनकी आमा छोरीको हत्या भएकै दिनदेखि विक्षिप्त बनेकी छन् । सुर्खेत पुगेका बुवा इन्द्रबहादुरले छोरीले न्याय नपाएसम्म शव नबुझ्ने बताउनुभयो । “योजनावद्ध रुपमा छोरीको हत्या गरिएको छ,” उहाँले भन्नुभयो, “पार्कबाट जंगलतिर लगेर हत्या गरिएको हो ।” –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...