काठमाडौँ, १५ फागुन । नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले काङ्ग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताउनुभएको छ । शनिबार एक भिडिओ सन्देश जारी गर्दै उहाँले ऊर्जा प्राप्त भएको बताउनुभएको हो ।
“देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले काङ्ग्रेस रुपान्तरण गर्नुभयो । अब देश रुपान्तरण गर्ने प्रक्रियामा अझ उत्सहजनक तरिकाले अगाडि बढ्नुस् भन्नुभएको विषयले अझ उत्सही बनाएको छ,” उहाँले सन्देशमा भन्नुभएको छ ।
महामन्त्री पौडेलले देशैभरका काङ्ग्रेसका कार्यकर्ताहरुलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढङ्गले अघि बढ्ने विश्वास दिलाउनुभयो ।
काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताउनुभयो ।
“आदरणीय मतदाताज्यूहरुले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई ऊर्जा प्राप्त भएको छ,” उहाँले भन्न्नुभयो, “म अत्यन्त उत्साही छु ।”