साना किसानलाई बजारसँग जोड्दै पैँचो पसल

11

काठमाडौँ, १३ फागुन । पैँचो पसल प्रालिका प्रबन्ध निर्देशक ध्रुवराज न्यौपानेले साना किसानलाई बजारसँग जोड्ने उद्देश्यले पैँचो पसल स्थापना गरिएको बताउनुभएको छ । नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा न्यौपानेले नेपालमा घर–घरमा सानो परिमाणमा उत्पादन हुने कृषिउपज बजार अभावका कारण व्यावसायिक बन्न नसकेको अवस्था भएको बताउनुभयो ।

“किसानहरुले एउटा–दुईवटा सुन्तला, लिची वा तरकारी उत्पादन गर्छन, तर ठूलो परिमाणमा बजारमा पु¥याउन सकिँदैन् । त्यसैले त्यस्ता उत्पादनलाई बिक्री गर्ने उद्देश्यले पैँचो पसल सुरु गरिएको हो,” उहाँले भन्नुभयो ।

उहाँले पैँचोको सुरुवात २०७२ सालमा गुल्मीको बलेटाक्सारबाट भएको जानकारी दिनुभयो । हाल गुल्मी, अर्घाखाँची र पाल्पामा मुख्य रूपमा कृषि कार्यक्रम सञ्चालन भइरहेको र उत्पादन देशभर मेचीदेखि महाकालीसम्म बजारमा उपलब्ध रहेको उहाँले बताउनुभयो । साथै, कोरिया, अमेरिका, जापान र दुबईसम्म उत्पादन निर्यात भइरहेको उल्लेख गर्नुभयो ।

पैँचोले कृषि उत्पादन, प्रशोधन र बजार व्यवस्थापन गरी करिब १०० भन्दा बढी उत्पादन बजारमा ल्याएको जनाएको छ । न्यौपानेका अनुसार कम्पनीसँग प्रत्यक्ष रूपमा करिब १२ हजार घरधुरी कोर मोडलमा आबद्ध छन् भने झन्डै एक लाख जनसंख्या अप्रत्यक्ष रूपमा जोडिएको छ । “यी १२ हजार घरधुरीबाट वार्षिक झन्डै १० करोड रुपैयाँभन्दा बढीको उत्पादन खरिद गर्छौँ,” उहाँले भन्नुभयो ।

केही किसान वार्षिक ३०–४० लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने अवस्थामा पुगेको दाबी पनि उहाँले गर्नुभयो । कम्पनीले अब लिमिटेड कम्पनीमा रूपान्तरण भइ आइपिओ प्रक्रियामा जाने तयारी गरेको छ । आगामी एकदेखि डेढ वर्षभित्र थप एक अर्ब रुपैयाँभन्दा बढी कृषि क्षेत्रमा लगानी गर्ने योजना रहेको उहाँले बताउनुभयो । हाल चिउरा, कर्नफ्लेक्स, ओट्स तथा गेडागुडीजन्य उत्पादनमा विस्तार भइरहेको जानकारी दिँदै उहाँले पोखरा तथा स्याङ्जा, तनहुँ, पाल्पा र बागलुङ क्षेत्रमा कार्यक्रम विस्तारको तयारी भइरहेको बताउनुभयो ।

न्यौपानेले निजी क्षेत्र र किसानबिचको प्रभावकारी समन्वय बिना कृषि क्षेत्रको उन्नति सम्भव नभएको उल्लेख गर्नुभयो । “सरकारले बजेट छुट्याए पनि साना किसानलाई व्यवसायिक कसरी बनाउने भन्ने स्पष्ट रणनीति अभाव देखिन्छ,” उहाँले भन्नुभयो । किसान र निजी क्षेत्रबीच सशक्त जोडाइले भए मात्र सरकारी लगानीको सही प्रतिफल देखिने उहाँको धारणा छ ।

किसानहरूले मूल्य नपाउँदा सडकमा दुध र चिया पोखेर विरोध गर्नुपर्ने अवस्था आउनु कृषि बजार संरचनाको कमजोरी भएको उहाँले सङ्केत गर्नुभयो । बजार व्यवस्थापन र प्रशोधन उद्योगको विकासमार्फत यस्तो समस्या समाधान गर्न सकिने उहाँको भनाइ छ ।

उत्पादनभन्दा बजार व्यवस्थापनमा जोड दिनुपर्ने
कृषि नाफामा नजाने मुख्य कारण उत्पादन नभइ बिक्री प्रणाली कमजोर हुनु रहेको न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा अझै ठुलो जनसङ्ख्या कृषिमा निर्भर भए पनि किसानले उत्पादनबाट दिगो आम्दानी निकाल्न सकेका छैनन् । “कृषिमा नाफा छैन भन्ने धारणा गलत हो, तर सानो परिमाणमा खेती गरेर परिवार धान्न सकिँदैन । किसानले आफूबाहेक अरू ८–१० जनालाई खाद्यान्न उपलब्ध गराउन सक्ने गरी उत्पादन र बिक्री व्यवस्थापन गर्न सके मात्रै वास्तविक नाफा देखिन्छ,” उहाँले भन्नुभयो ।

न्यौपानेका अनुसार अहिले नेपालका सहरमा बस्ने उपभोक्ताले ठुलो मात्रामा विदेशी कृषि उपज उपभोग गरिरहेका छन् । अझ किसान स्वयंले पनि ३० प्रतिशतभन्दा बढी कृषि सामग्री बाहिरबाट किनेर खानुपरेको अवस्था छ । यसको अर्थ किसानले आफूलाई समेत पूर्ण रूपमा पाल्न सकिरहेको छैन,” उहाले विश्लेषण गर्नुभयो ।

उहाँले कृषि क्षेत्रको प्रमुख समस्या ‘म्याक्सिमम युटिलाइजेसन’ नभएको बताउनुभयो । उत्पादन भएको करिब ४० प्रतिशत उपज बिक्री नभइ नष्ट हुने गरेको उहाँको दाबी छ । उदाहरण दिँदै उहाँले भन्नुभयो, “किसानले ३० रुपैयाँमा काउली बेचे पनि १० रुपैयाँ नाफा हुन्छ । तर, बजारमा १०० रुपैयाँ देखेर आफू ठगिएको महसुस गर्छ । बिक्री संरचना र मूल्य शृंखला बुझ्न नसक्दा किसानहरुमा फ्रस्ट्रेसन बढिरहेको छ ।” उहाँका अनुसार सरकारले हाल उत्पादनमा आधारित अनुदानमा बढी जोड दिएको छ ।

टनेल, मल, बीउजस्ता इनपुटमा अनुदान दिइए पनि बिक्री सुनिश्चित नभए त्यो प्रभावहीन हुने उहाँले बताउनुभयो । “पहिले किसानले १० केजी उत्पादन पनि सजिलै बेच्न सक्ने वातावरण बनाइदिनुपर्छ,” उहाँले सुझाव दिनुभयो ।

न्यौपानेले कृषि उपजलाई औद्योगिक प्रयोगसँग जोड्नुपर्ने धारणा राख्नुभयो । जुम्लाको स्याउ वा अन्य फलफूलको ठुलो हिस्सा बजार नपाएर नोक्सान भइरहेको भन्दै उहाँले औद्योगिक प्रोसेसिङ उद्योग गाउँमै स्थापना गर्नुपर्ने बताउनुुभयो । तर, बैंकिङ प्रणाली अझै धितो–आधारित भएकाले गाउँमै उद्योग स्थापना गर्न कठिनाइ भएको उहाँको गुनासो छ ।

उहाँले निजी क्षेत्रलाई ‘नाफाखोर’ भन्ने मानसिकता पनि कृषि विकासमा बाधक रहेको बताउनुभयो । किसान र खरिदकर्ताबिच विश्वासको वातावरण बनाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो ।

प्राविधिक जनशक्तिको अभाव पनि मुख्य चुनौती
कृषि क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव पनि अर्को एक मुख्य चुनौतीको रुपमा खडा भएको न्यौपानेको भनाइ छ । कृषि पढेका युवाहरू सरकारी जागिर वा अन्य पेशातर्फ लाग्ने भएकाले उत्पादनमा दक्ष जनशक्ति अभाव देखिएको उहाँले बताउनुभयो ।

आफ्नो कम्पनीमार्फत किसानलाई प्राविधिक तालिम, बाइब्याक ग्यारेन्टी तथा उत्पादनपूर्व जोखिम अध्ययन गर्दै आएको उल्लेख गर्दै उहाँले किसानलाई धैर्य राखेर दिगो बिक्री च्यानलसँग जोडिन आग्रह गर्नुभयो । “अनुदानका पछि नदौडौँ । भरपर्दो खरिदकर्तासँग दीर्घकालीन सम्बन्ध बनाऔँ । कम्तीमा तीन सिजनको लागत–नाफा हिसाब गरेर मात्रै विस्तार गरौँ,” उहाँले सुझाव दिनुभयो ।

न्यौपानेका अनुसार केन्द्रदेखि स्थानीय तहसम्म एउटै स्पष्ट कृषि रोडम्याप बनेर बिक्रीलाई प्राथमिकता दिइए मात्रै कृषि क्षेत्र व्यावसायिक र दिगो बन्न सक्छ ।

बारीदेखि थालीसम्मको ‘इकोसिस्टम’ विकास
नेपाली कृषि क्षेत्रमा समग्र ‘इकोसिस्टम डेभलपमेन्ट’ मोडल लागु गर्दै आएको दाबी पैँचो पसलले गरेको छ । प्रबन्ध निर्देशक न्यौपानेका अनुसार पैँचोले किसानलाई बारीदेखि उपभोक्ताको थालीसम्म जोड्ने एकीकृत संरचना विकास गरेको छ ।

न्यौपानेले किसानले उत्पादन गरेको जुनसुकै गुणस्तरको उपज भए पनि मूल्य फरक हुन सक्ने तर सम्पूर्ण उत्पादन खरिद गर्न सक्ने क्षमता पैँचोसँग रहेको बताउनुभयो । “१ किलो उत्पादन गर्ने किसान होस् वा १००० किलो उत्पादन गर्ने, हामी बाइब्याक ग्यारेन्टी गर्न सक्छौँ,” उहाँले भन्नुुभयो ।

उहाँका अनुसार पैँचो किसानसँग उत्पादनको सुरुवाती चरणदेखि नै जोडिन्छ । मल–बिऊ व्यवस्थापनदेखि लिएर कुन समयमा कुन गुणस्तरको उत्पादन टिप्ने भन्ने सल्लाह, मौसमसम्बन्धी जोखिम जानकारी र बजार व्यवस्थापनसम्म कम्पनीले साथ दिने गरेको छ ।

पैँचोले नेपाली कच्चा पदार्थ प्रयोग गरी प्रशोधित सामग्री उत्पादन गरिरहेको पनि उहाँले बताउनुभयो । टमाटरबाट केचप, पहाडी क्षेत्रका फलफूलबाट जाम तथा अचारजस्ता उत्पादन तयार पारिँदै आएको छ । कम्पनीसँग आफ्नै फलफूल तथा तरकारी प्रशोधन केन्द्र, खाद्य अनुसन्धान केन्द्र र कृषि उत्पादन अनुसन्धान केन्द्र रहेको उहाँले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार धेरै कम्पनीहरू कच्चा पदार्थ आयातमा निर्भर रहे पनि पैँचोले ‘कोर नेपाली माटो’का उत्पादनलाई प्राथमिकता दिएको छ । यसले उत्पादनको ताजापन र पोषण मूल्य उच्च रहने उहाँको दाबी छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...