कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

8

सुर्खेत, १२ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पुर्‍याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताउनुभयो ।

जिल्ला सदरमुकामबाट मतदान स्थलहरूसम्म निर्वाचन सामाग्री पुर्‍याउने काम भइरहेको उहाँले बताउनुभयो । निर्वाचनका लागि प्रदेशभर ५ हजार ५८० नेपाल प्रहरी र ९ हजार ७४२ निर्वाचन प्रहरी गरी १५ हजार ३२२ सुरक्षाकर्मीहरु खटिएका छन् ।

कर्णालीमा रहेका सुर्खेत, रुकुम, डोल्पा, मुगु, जुम्ला र हुम्ला जिल्लामा रहेका ६ वटा विमानस्थल र ९ वटा कारागारको सुरक्षामा नेपाली सेना खटिएको छ ।

हिमाली जिल्लाका दुर्गम भेगमा रहेका मतदान स्थलहरूमा निर्वाचन सामग्रीदेखि मतदान पश्चात् मतपत्र संकलनको काममा हेलिकोप्टर परिचालन गरिने उहाँले बताउनुभयो ।

नेपाली सेनाले नियमित गस्ती गर्ने काम गरिरहेको र भौगोलिक रूपमा विकट स्थानमा रहेका र सडक सञ्जाल नपुगेका ठाउँमा घोडाको प्रयोग गरिएको छ ।

१० लाख ३७ हजार २५० जना मतदाता रहेको कर्णालीमा ९४१ मतदान स्थलमा एक हजार ४३७ मतदान केन्द्रहरू रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...