- मनिषा बस्नेत
काठमाडौँ, ९ फागुन । नेपाली समाज तीव्र परिवर्तनको चरणमा छ । डिजिटल प्रविधि, सामाजिक सञ्जाल, प्रतिस्पर्धी जीवनशैली र आर्थिक अनिश्चितताले दैनिक जीवनलाई सजिलो मात्र बनाएको छैन, यसले मानसिक दबाब पनि उत्तिकै बढाएको छ । यही परिवेशमा मानसिक स्वास्थ्य अहिले सार्वजनिक बहसको प्रमुख विषय बन्न थालेको छ । परामर्शदाता एवम् मनोचिकित्सक डा.प्रतीक बछारका अनुसार नेपाल आधुनिक हुँदै जाँदा अवसरसँगै मानसिक चुनौतीहरू पनि तीव्र रूपमा बढिरहेका छन् ।
नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले मानसिक स्वास्थ्य अब व्यक्तिगत समस्या मात्र नभइ सामाजिक, आर्थिक र नीतिगत विषय भएको बताउनुभयो । उहाँका अनुसार पहिले मानिसहरूको जीवन तुलनात्मक रूपमा सरल थियो । अहिले डिजिटल माध्यमले सूचना र सम्पर्कको दायरा बढाए पनि मानिसको मनोवैज्ञानिक दबाब पनि उस्तै बढाएको छ । प्रतिस्पर्धा, भविष्यको चिन्ता, आर्थिक असुरक्षा र सामाजिक तुलना यी सबैले मिलेर मानसिक तनावलाई दैनिक अनुभव बनाइदिएका छन् ।
“आजको दिनमा नेपाल पनि अब विकास हुँदै छ । आधुनिकीकरण भएको छ, नयाँ माध्यमहरु आएका छन् । डिजिटल मिडियादेखि लिएर नयाँ स्ट्रेस (तनाव)को कुराहरू आएको छ । विगत जस्तो छैन । नयाँ समस्याहरु पनि आउन थालेको छ, तनावले गर्दा धेरै नै मानसिक समस्याहरू आउने अथवा मानसिक रोगहरू देखिने गर्छ,” उहाँले भन्नुभयो ।
डा.बछारका अनुसार अहिले मानसिक रोगको प्रकृति बुझ्नुपर्छ । “मानसिक समस्या दुई प्रमुख वर्गमा बुझ्न सकिन्छ– न्युरोटिक र साइकोटिक,” उहाँ भन्नुहुन्छ ।
न्युरोटिक समस्यामा चिन्ता, डिप्रेसन, तनाव व्यवस्थापनमा कठिनाइजस्ता समस्याहरू पर्दछन्, जुन समाजमा अत्यन्त सामान्य हुँदै गएका छन् । साइकोटिक समस्यामा स्किजोफ्रेनिया, भ्रम, भ्रमजन्य सोच तथा गम्भीर मानसिक अवस्थाहरू समावेश हुन्छन् ।
डा.बछारका अनुसार स्किजोफ्रेनिया भनेको एक गम्भीर र दीर्घकालीन मानसिक रोग हो, जसले व्यक्तिको सोच्ने, महसुस र व्यवहार गर्ने तरिकालाई असर गर्छ । जुन विश्वको करिब एक प्रतिशत जनसङ्ख्यामा देखिन्छ । यसका प्रमुख लक्षणहरूमा वास्तविक र काल्पनिक कुरा छुट्ट्याउन नसक्नु, नभएका आवाज सुन्नु (हलुसिनेसन), भ्रम (डिल्युजन), सामाजिक अलगाव, र अस्तव्यस्त व्यवहार पर्दछन् ।
उहाँ भन्नुहुन्छ, “चिन्ता हुँदा मानिस बेचैन, डराएको वा निरन्तर तनावग्रस्त अनुभव गर्छ । मुटुको चाल बढ्ने, पसिना आउने, मुख सुक्ने वा निद्रा बिग्रिने जस्ता शारीरिक लक्षण पनि देखिन्छन् । डिप्रेसन भने फरक ढङ्गले प्रकट हुन्छ-निराशा, ऊर्जा कमी, काममा रुचि हराउनु, भविष्यप्रति नकारात्मक सोच र आत्मविश्वास घट्नु यसको मुख्य संकेत हुन् ।”
मानसिक रोगको सबैभन्दा ठुलो चुनौती उपचार नभइ समाजको धारणा हो । समाजमा अझै पनि मानसिक रोगलाई कमजोरी, पागलपन वा चरित्रसँग जोडेर हेर्ने प्रवृत्ति बलियो छ ।
“मानसिक रोगप्रति भेद्भाव अहिले मात्रै होइन, त्यो पहिलेदेखि भइराखेको छ । नेपालमा मात्रै होइन यो अमेरिकामा पनि हुन्छ । यसको मुख्य कारण जनचेतना पुगेको छैन,” उहाँ थप प्रष्ट पार्दै भन्नुहुन्छ, “रुघाखोकी लुकाउँदैनन्, तर मानसिक समस्या लुकाइन्छ । किनभने समाजले कसरी हेर्छ भन्ने डर हुन्छ ।”
उहाँका अनुसार मानसिक रोग उपचारयोग्य हुन्छ । धेरैजसो अवस्थामा औषधि, थेरापी र जीवनशैली सुधारले उल्लेखनीय सुधार ल्याउन सक्छ । तर, समयमै उपचार नलिँदा समस्या जटिल बन्दै जान्छ ।
डा.बछारका अनुसार सरकारी संरचनामा कमजोरी देखिन्छ । नेपालमा मानसिक स्वास्थ्य सेवा अझै सीमितरुपमा उपलब्ध छ । सरकारी मानसिक अस्पताल मुख्यत लगनखेल केन्द्रित छ ।
उहाँका अनुसार प्रदेश–प्रदेशमा मानसिक स्वास्थ्य केन्द्र स्थापना, समुदायस्तरमा सेवा विस्तार र प्राथमिक स्वास्थ्य प्रणालीमा मानसिक स्वास्थ्य समावेश नगरी समस्या समाधान सम्भव छैन । “नेपालभरमा एउटा मात्रै सरकारी मानसिक अस्पताल छ जुन हाम्रो लगनखेलमा छ, हरेक प्रदेशमा एउटा मानसिक अस्पताल खोल्नुपर्छ,” उहाँले भन्नुभयो ।
उहाँले जनचेतना कार्यक्रमलाई सबैभन्दा प्रभावकारी उपाय मान्नुहुन्छ । “सरकारले पोलियो, टिबी, एचआइभीका लागि जस्तै मानसिक स्वास्थ्यबारे पनि अभियान चलाउनुपर्छ,” उहाँ भन्नुहुन्छ, “धेरै मानिसलाई डिप्रेसन अझै रोग हो भन्ने थाहा छैन । बुढेसकालमा स्मरणशक्ति घट्दा पनि त्यसलाई सामान्य मानिन्छ, तर कतिपय अवस्थामा त्यो अल्जाइमरजस्तो रोग हुन सक्छ ।”
मानसिक रोगको चेतावनी सङ्केतबारे उहाँ सचेत रहन आग्रह गर्नुहुन्छ । अचानक मुड परिवर्तन, काममा रुचि हराउनु, निद्रा वा खानपानमा ठुलो परिवर्तन, शंका, डर वा भ्रमजस्ता लक्षण देखिएमा ढिला नगरी विशेषज्ञको सल्लाह लिनुपर्छ ।
उहाँका अनुसार मानसिक रोग एकै कारणले हुँदैन । वंशानुगत प्रभाव, वातावरणीय तनाव, बाल्यकालका अनुभव, जीवनशैली र सामाजिक समर्थन-सबैले भूमिका खेल्छन् । परिवारमा मानसिक रोगको इतिहास भए जोखिम बढी हुन सक्छ, तर स्वस्थ जीवनशैलीले जोखिम घटाउन सक्छ ।
नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा, सामाजिक सम्बन्ध र तनाव व्यवस्थापन-यी सबै मानसिक स्वास्थ्यका सुरक्षात्मक तत्व हुन् । “यी उपायले मानसिक रोग नहुने ग्यारेन्टी हुँदैन, तर जोखिम घटाउँछन्,” उहाँ भन्नुहुन्छ ।
उपचार विधिबारे उनले औषधि र मनोपरामर्श दुवै महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँका अनुसार हल्का अवस्थाहरूमा थेरापी प्रभावकारी हुन सक्छ, तर गम्भीर अवस्थाहरूमा औषधि आवश्यक हुन सक्छ । धेरै अवस्थामा दुवैको संयोजन सबैभन्दा राम्रो हुन्छ ।
सुसाइडलाई उहाँले मानसिक स्वास्थ्यको आपत्कालीन अवस्था मान्नुहुन्छ । अधिकांश आत्महत्याका घटनामा कुनै न कुनै मानसिक रोग हुने गरेको अनुसन्धानले देखाएको छ । “सुसाइडको सोच आउने व्यक्तिलाई ‘नसोच’ भन्नु समाधान होइन,” उहाँ भन्नुहुन्छ, “जसरी टिबी बिरामीलाई नखोक भन्न सकिँदैन, त्यसरी नै मानसिक पीडालाई रोक भन्न सकिँदैन।”
उहाँका अनुसार यस्तो अवस्थामा तुरुन्तै विशेषज्ञ मूल्याङ्कन आवश्यक हुन्छ । आत्महत्या रोकथामका लागि समाज, परिवार, स्वास्थ्य प्रणाली र सञ्चार माध्यम सबैको भूमिका हुन्छ ।
डा.बछारले मानसिक रोगलाई सामान्य स्वास्थ्य समस्याजस्तै बुझ्न आग्रह गर्नुभयो । “मानसिक रोग कमजोरी होइन, उपचारयोग्य अवस्था हो,” उहाँले भन्नुभयो, “समयमै उपचार र समर्थन पाए मानिस पूर्ण रूपमा सामान्य जीवनमा फर्कन सक्छ ।”
मानसिक स्वास्थ्य व्यक्तिगत संघर्ष मात्र होइन, सामाजिक जिम्मेवारीको विषय बनिसकेको छ । बदलिँदो समाजसँगै मानसिक स्वास्थ्यलाई प्राथमिकता नदिए भविष्यको स्वास्थ्य प्रणालीमाथि ठुलो दबाब पर्ने निश्चित छ । –नेपाल न्यूज बैङ्क