- प्रमिला कार्की
काठमाडौँ, ९ फागुन । पछिल्लो समय आत्महत्या (सुसाइड)सम्बन्धी घटनाहरू बढ्दो रूपमा सार्वजनिक भइरहेका छन् । मानसिक तनाव, आधुनिक जीवनशैली, सामाजिक दबाब र मनोवैज्ञानिक समस्या यसका प्रमुख कारणका रूपमा देखिन थालेका छन् ।
नेपालमा दैनिक औसत १६–१८ जना सम्मले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । प्रहरीको रिपोर्टअनुसार वार्षिक रूपमा करिब ६ हजार देखि ७ हजारभन्दा बढी आत्महत्याका घटना दर्ता हुने गरेका छन् ।
विशेषज्ञहरूका अनुसार आत्महत्या केवल व्यक्तिगत कमजोरी होइन, गम्भीर मानसिक स्वास्थ्य सङ्कटको सङ्केत हो । परामर्शदाता मनोचिकित्सक डा.प्रतीक बछारका अनुसार आत्महत्या मनोचिकित्सकीय आपतकालीन अवस्था भएकाले यसको वैज्ञानिक मूल्याङ्कन र उपचार अनिवार्य हुन्छ ।
नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले अधिकांश आत्महत्याका घटनामा कुनै न कुनै मानसिक रोग संलग्न हुने बताउनुभयो । उहाँका अनुसार डिप्रेसन, एन्जाइटी डिसअर्डर, पर्सनालिटी डिसअर्डर, लागु पदार्थको प्रयोग तथा साइकोटिक अवस्थाहरू आत्महत्याको जोखिम बढाउने प्रमुख कारण हुन् ।
डा.बछारका अनुसार आत्महत्याको सोच मानिसले चाहेर ल्याउने होइन, यो मानसिक अवस्थाबाट स्वतः उत्पन्न हुन्छ । “कसैलाई ‘नसोच’ भनेर रोक्न सकिँदैन, जसरी बिरामीलाई ‘नखोक’ भनेर खोकी रोक्न सकिँदैन,” उहाँले भन्नुभयो ।
उहाँले पछिल्लो समय आत्महत्याका घटना बढी देखिनुको एउटा कारण रिपोर्टिङ वृद्धि पनि भएको बताउनुभयो । पहिले सार्वजनिक नहुने धेरै घटना अहिले सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत तुरुन्त सार्वजनिक हुने भएकाले संख्या बढेजस्तो देखिएको उहाँको भनाइ छ । तर, उहाँले आत्महत्याका घटनालाई अत्यधिक भावनात्मक वा नाटकीय ढंगले प्रस्तुत गर्दा यसले नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी दिनुभयो ।
विशेषगरी चर्चित व्यक्तिसँग जोडिएका घटनाहरूले आत्महत्यालाई ग्लोरिफाइ गर्ने जोखिम बढाउन सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार आधुनिक जीवनशैली, बढ्दो प्रतिस्पर्धा, आर्थिक दबाब, डिजिटल प्लेटफर्मको प्रभाव र सामाजिक तुलना संस्कृतिले मानसिक तनाव बढाएको छ । यसले आत्महत्याको जोखिम पनि वृद्धि गरिरहेको छ ।
डा.बछारले आत्महत्याको सोच आउने व्यक्तिलाई तुरुन्त विशेषज्ञ भेटेर विस्तृत मनोचिकित्सकीय मूल्याङ्कन गराउन सुझाव दिनुभयो । यस्तो मूल्याङ्कनमा बिरामीको मानसिक अवस्था, स्वास्थ्य पृष्ठभूमि, जीवनशैली, तनावका कारण तथा अन्य रोगको स्थिति अध्ययन गरिन्छ । त्यसपछि मात्रै औषधि वा मनोचिकित्सा तय गरिने उहाँले बताउनुभयो ।
उहाँका अनुसार सबै बिरामीका लागि एउटै उपचार उपयुक्त हुँदैन । बिरामीको प्रोफाइल, अन्य स्वास्थ्य समस्या, निन्द्रा अवस्था र जीवनशैलीका आधारमा उपचार फरक–फरक हुन्छ । त्यसैले अनलाइन सल्लाहका आधारमा औषधि सेवन गर्नु उपयुक्त नहुने उहाँले स्पष्ट पार्नुभयो ।
मानसिक रोग लाजको विषय नभइ उपचारयोग्य अवस्था भएको उल्लेख गर्दै उहाँले समयमै उपचार पाए आत्महत्या रोक्न सकिने बताउनुभयो । परिवार, समाज र सञ्चारमाध्यमले संवेदनशील ढंगले व्यवहार गरे मानसिक स्वास्थ्य संरक्षणमा ठुलो सहयोग पुग्ने उहाँको भनाइ छ । –नेपाल न्युज बैङ्क