विमानस्थलबाट १३ लाखका मोबाइल, ल्यापटपसहित एक जना पक्राउ

9

काठमाडौँ, ८ फागुन । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३ लाख ८० हजार रूपैयाँका मोबाइल, ल्यापटपसहित एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१ बस्ने ३४ वर्षीय सञ्जीव खड्का रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गोल्डेन गेट बाहिरपट्टि शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा निगरानी गर्दै जाँदा निजले बाह्य मुलुकबाट नेपाल आगमन भएका यात्रुहरूलाई भन्सार छली गर्न लगाई विद्युतीय सामग्री अवैध रूपमा सङ्कलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको हो ।”

आइफोन १७ प्रोम्याक्स २५६ जिबीका चार थानका आठ लाख रूपैयाँ बराबर, एमफोर म्याकबुक ऐर २५६ जिबीका दुई लाख ६० हजार रूपैयाँ बराबर र एमफोर म्याकबुक ऐर ५१२ जिबीका तीन लाख २० हजार रूपैयाँ बराबरका विद्युतीय सामग्री अवैध रूपमा संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रवक्ता सिलवालले बताउनुभयो ।

अमेरिका पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ
प्रहरीले वैदेशिक रोजगारीका लागि अमेरिका लैजाने भन्दै रकम गठी गर्ने एक जनालाई आज पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने ३८ वर्षीया चन्द्रकला सापकोटा दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पक्राउ परेका निजले अमेरिका लैजाने भन्दै एक जनाबाट छ लाख ३० हजार रूपैयाँ रकम लिइ सम्पर्कविहीन भएको उजुरीका आधारमा आज पक्राउ गरिएको हो ।” निजलाई आज ललितपुर महालक्ष्मी नगरपालिका–४ बाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...