खाँदबारी, ८ फागुन । स्थानीय तहको चुनावी सरगर्मी बढ्दै जाँदा मादी नगरपालिका–४ ओखरबोटेमा नेकपा (एमाले)ले आफ्नो बलियो उपस्थिति रहेको जनाएको छ ।
शुक्रबार आयोजित चुनावी अभियानका क्रममा एमाले समर्थकहरूको विशाल र्यालीले नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै शक्ति प्रदर्शन गर्दै बलियो उपस्थितिको संकेत गरेको हो ।
उम्मेदवार डा.अर्जुन कार्कीको समर्थनमा उत्रिएको जनसागरले ‘सूर्य’ चिन्हमा मतदान गरी उहाँलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेको छ । र्यालीमा सहभागीहरूको उत्साहजनक उपस्थितिले एमालेको पक्षमा जनलहर सिर्जना भएको संकेत गरेको छ ।
विजय सुनिश्चित, अब ध्यान समृद्धिमा
र्याली पछिको सभालाई सम्बोधन गर्दै उम्मेदवार डा.कार्कीले आजको जनसहभागिताले आफ्नो विजयलाई थप सुनिश्चित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आज ओखरबोटेमा देखिएको यो अभूतपूर्व र्याली र जनसमर्थनले मेरो मन निकै उत्साहित भएको छ । यो उपस्थिति नै मेरो विजयको आधार हो । अब मेरो सम्पूर्ण ध्यान चुनाव जितेर मादीको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउनेतर्फ केन्द्रित हुने छ।”
र्यालीमा सहभागी स्थानीय नेता तथा कार्यकर्ताहरूले डा.कार्की जस्तो बौद्धिक र विकासप्रेमी व्यक्तित्वलाई प्रतिनिधिका रूपमा पाउनु मादीबासीका लागि अवसर भएको भन्दै सूर्य चिन्हमा मतदान गर्न आह्वान गरेका छन् ।