- सन्तोषी रावल
काठमाडौँ, ७ फागुन । काठमाडौँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ बाट नेकपा (एमाले)का उम्मेदवार अमन मास्केले जनप्रतिनिधिको रूपमा आफूले निर्वाह गर्ने भूमिका दुई तहमा केन्द्रित हुने बताउनुभएको छ ।
नेपाल न्युज बैङ्कसँगको टेलिफोन संवादमा उहाँले पहिलो, नीति निर्माण तहमा सक्रिय सहभागिता र दोस्रो, विकास निर्माणका लागि वार्षिक बजेटमा आफ्नो क्षेत्रको आवश्यकता समेट्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मास्केले काठमाडौँ–६ को भौगोलिक बनावट विविध र जटिल रहेको उल्लेख गर्दै माथिल्लो भेगका साँगला, काभ्रेस्थली, धर्मस्थली जस्ता क्षेत्र र तल्लो भेगका मनमैजु, नेपालटार लगायतका बस्तीका आवश्यकताहरू फरक–फरक प्रकृतिका रहेको बताउनुभयो ।
त्यस्तै, कोटेश्वर सिटी क्षेत्रको आवश्यकता पनि भिन्न रहेको भन्दै सबै क्षेत्रलाई समेट्ने समग्र योजना आवश्यक रहेको उहाँको भनाइ छ ।
पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै उहाँले ‘बोटलनेक फ्री इन्फ्रास्ट्रक्चर’ निर्माणमार्फत ट्राफिक जाम न्यूनीकरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
शिक्षा, स्वास्थ्य र सहकारी पीडितका मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै भूमिहीन नागरिकका आधारभूत अधिकार गास, बास र कपास सुनिश्चित गर्न आवाज बुलन्द गर्ने उहाँले बताउनुभयो ।
यस क्षेत्रको सबैभन्दा जटिल समस्या खानेपानी भएको उल्लेख गर्दै मास्केले एकीकृत मास्टर प्लानमार्फत दिगो समाधान खोजिने बताउनुभयो । मौनेश्वर, भण्डारे लगायतका मुहानको पानी सङ्कलन गरी ठुलो रिजर्भ ट्याङ्की र वाटर ट्रीटमेन्ट प्लान्ट स्थापना गरेर वितरण प्रणाली सुदृढ गर्ने योजना रहेको उहाँले स्पष्ट पार्नुभयो ।
मेलम्ची खानेपानी आयोजनाको आपूर्ति र उपत्यकाको बढ्दो मागबिच सन्तुलन मिलाउन समय लाग्ने भए पनि स्थानीयस्तरमा तत्काल पहल आवश्यक रहेको उहाँको धारणा छ ।
संस्कृति, सम्पदा र धार्मिक पर्यटनको संरक्षण तथा प्रवर्द्धन पनि आफ्नो एजेन्डामा रहेको उहाँले बताउनुभयो । मनमैजु मन्दिर, तारकेश्वर, सपनतीर्थ, भुवनेश्वरीलगायत धार्मिक स्थललाई आपसमा जोडेर धार्मिक पर्यटकीय रुट विकास गर्न सकिने उहाँको भनाइ छ । साथै होमस्टे प्रवर्द्धन र पार्क निर्माणमार्फत क्षेत्रलाई हरित सहरका रूपमा विकास गर्ने लक्ष्य उहाँले अघि सार्नुभयो ।
स्वास्थ्य र प्राविधिक शिक्षाको पहुँच विस्तार आवश्यक रहेको बताउँदै उहाँले क्षेत्र नम्बर ६ मा मेडिकल कलेज र इन्जिनियरिङ कलेज स्थापनाको पहल गर्ने बताउनुभयो । कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै अर्ग्यानिक तथा व्यावसायिक खेतीतर्फ उन्मुख हुनुपर्ने र स्थानीय उत्पादनको बजारीकरण सुदृढ गर्नुपर्ने उहाँले जोड दिनुभयो ।
खुला क्षेत्रको अभाव औँल्याउँदै मास्केले प्रत्येक टोलमा पार्क तथा खुला स्थानको व्यवस्था आवश्यक रहेको बताउनुभयो । यस्ता स्थानले सबै उमेर समूहबीच अन्तरक्रिया बढाउनुका साथै विपद् व्यवस्थापन र जल पुनःभरणमा समेत सहयोग पुर्याउने उहाँको भनाइ छ । २०७२ सालको भूकम्पको अनुभवले खुला क्षेत्रको महत्त्व झन् स्पष्ट पारेको उहाँले स्मरण गर्नुभयो ।
युवालाई लक्षित गर्दै ‘लर्निङ एन्ड अर्निङ’ अवधारणालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले स्किल डेभलपमेन्ट, सूचना प्रविधि, एआई र आउटसोर्सिङ क्षेत्रमा तालिम तथा अवसर सिर्जना गरिने बताउनुभयो । नेपालमै बसेर अन्तर्राष्ट्रियस्तरका आइटी काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मास्केले ‘पुराना’ र ‘नयाँ’ दलको विभाजनभन्दा सक्षम र असक्षम प्रतिनिधि छुट्याउन मतदातालाई आग्रह गर्नुभयो । आफू प्रदेश तहमा सुशासन र भ्रष्टाचारविरुद्ध उभिएको अनुभवसहित अब संघीय संसद्मा क्षेत्र नम्बर ६ को आवाज बुलन्द गर्न उम्मेदवारी दिएको बताउँदै उहाँले मतदातासँग समर्थनको अपिल गर्नुभयो । –नेपाल न्युज बैङ्क