म्याग्दी, ६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर करिब चार करोड रूपैयाँ आम्दानी गरेका छन् ।
अन्नपूर्ण गाउँपालिकाको कृषि विकास शाखाले किसानहरूले बिक्री गरेको सुन्तलाको विवरण सङ्कलन गरेको हो । कृषि शाखाका प्राविधिक सम्झना खत्रीले पालिकाका सबै बगैँचाबाट तीन करोड ८८ लाख रूपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको जानकारी दिनुभयो ।
वडा नम्बर १ दोवामा ७० लाख, वडा नम्बर २ भुरुङ–तातोपानीमा ३९ लाख, वडा नम्बर ३ दानामा २१ लाख रूपैयाँ, वडा नम्बर ४ नारच्याङमा १० लाख रूपैयाँ, वडा नम्बर ६ घारमा ६० लाख रूपैयाँ र वडा नम्बर ७ हिस्तान दोसल्ले र औलामा एक करोड ८८ लाख रूपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो ।
दुई सय जनाभन्दा बढी किसानले न्यूनतम ५० हजारदेखि २० लाख रूपैयाँ मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् । सबैभन्दा बढी दोसल्लेका किसान विकास श्रेष्ठले २० लाख रूपैयाँको सुन्तला बिक्री गर्नुभएको छ ।
अन्नपूर्णका किसानले म्याग्दीमा सबैभन्दा पछि माघ लागेपछि सुन्तला टिपेर बजार पठाउन थालेका थिए । फागुन २ गतेसम्म सुन्तला टिपेर बजार पठाएका हुन् । गत वर्षको तुलनामा ४० प्रतिशत कम उत्पादन भए पनि दोब्बर मूल्य पाउँदा आम्दानी बढेको दोसल्लेका किसान श्रेष्ठले बताउनुभयो ।
दोसल्लेका किसानले प्रतिकिलोग्राम २०० रूपैयाँसम्म सुन्तलाको मूल्य हात पारेका छन् । सुन्तला अन्नपूर्ण गाउँपालिकाको प्रमुख नगदेबाली हो । यहाँ आलुपछि धेरै बिक्री हुने कृषिबालीमा सुन्तला रहेको छ । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले सुन्तला बगैँचा विस्तार र व्यवस्थापनका किसानलाई सहयोग गरिएको बताउनुभयो ।