रुपन्देही, ५ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकास्थित लुम्बिनी सडकखण्डमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
मङ्गलबार बिहान लुम्बिनी गेटनजिकै कागजले बेरिएको अवस्थामा शंकास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त हुनासाथ कालीभक्ती गणबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई सुरक्षित रुपमा बिहान करिब साढे ७ बजे डिस्पोज गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार उक्त वस्तु बम नभएको पुष्टि भएको छ ।
आज नेकपा (बहुमत) नामक पार्टीले आह्वान गरेको बन्दका क्रममा सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले उक्त वस्तु राखिएको हुनसक्ने प्रहरीको अनुमान छ । शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा कुनै मानवीय वा भौतिक क्षति नभएको प्रहरीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक चन्दले बन्दको प्रभाव यस क्षेत्रमा नरहेको उल्लेख गर्दै ढुक्क भएर आफ्नो नियमित कामकाज गर्न सम्पूर्ण सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।