भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदै

8

बेलबारी, ५ फागुन । बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम राजमार्गको बेलबारी–१० स्थित भाउन्ने चोक नजिकै मकै पोलेर बिक्री आउनुभएको छ ।

मकै पोलेरै जीविका चलाउँदै आउनुभएकी उहाँलाई सो काममा श्रीमान् र छोरीको साथ छ । उहाँका अनुसार २५ रूपैयाँ प्रतिघोगा किनेको हरिया मकै पोलेपछि प्रतिघोगा ५० रूपैयाँमा बिक्री भइरहेको छ । उहाँसँगै मकै पोल्नुहुने कानेपोखरी–५ की दुुर्गामाया तामाङ भन्नुहुन्छ, “व्यापारको टुङ्गो त हुँदैन, तर औसतमा दैनिक एक हजार रूपैयाँदेखि एक हजार ५०० रूपैयाँसम्म आम्दानी हुन्छ । पछिल्ला केही वर्षयता भाउन्नेमा पोलेको मकैको व्यापार फस्टाउँदो छ ।”

बेलबारी–१० भाउन्नेका रमेश कुँवरले पनि सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आउनुभएको छ । घरमै होटल व्यवसाय सञ्चालन गर्नुभएका कुँवरले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेको बताउनुभयो । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांश सार्वजनिक यातायातले यहाँ रोकेका बेला यात्रीले पोलेको मकै किनेर खाने र निजी सवारीमा यात्रा गर्नेले पनि पोलेको मकै खानकै लागि आउने गरेका छन् ।

सुनसरीको इटहरी घर भएका अनिल सुब्बा उर्लाबारी पुगेर फर्किएपछि परिवारसहित भाउन्नेमा गाडी रोकेर मकै पोल्न भन्नुभयो । मकै खाँदै उहाँले भन्नुभयो, “यहाँको मकैको स्वादै बेग्लै, पोलेको मकै रुचाउनेका लागि यहाँ उचित मूल्यमा ताजा मकै खान पाइन्छ”, मकै पोलुञ्जेल थकाइ पनि मर्ने उहाँ बताउनुहुन्छ । केही वर्षयता यस स्थानमा पोलेको मकै रूचाउनेको भीड नै लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरूका लागि खाजा खाने नयाँ गन्तव्यका रूपमा यो ठाउँ विकास भइरहेको छ ।

भाउन्ने चोक पूर्व चिसाङ खोला छेउसम्ममा २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेसा गर्दै आउनुभएको छ । पछिल्लो समय बेलबारीमा व्यावसायिक मकैखेतीप्रति किसानको आकर्षण बढ्दो छ । मकैले उचित मूल्य पाएपछि बाह्रै महिना हरिया मकै उत्पादनमा किसानले जोड दिन थालेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...