काठमाडौँ २ मा सधैँ सक्रिय छु, मतदाताको विश्वास जित्छु : कुन्ती पोखरेल [भिडिओ]

2
  • मनिषा बस्नेत

काठमाडौँ, ४ फागुन । काठमाडौँको चहलपहलबाट केही पर, सहर र गाउँको सीमारेखाजस्तो फैलिएको क्षेत्र हो–काठमाडौँ क्षेत्र नम्बर २ । सडक, खेत, बस्ती, मन्दिर र डाँडाकाँडाको मिश्रणले बनेको यो क्षेत्र राजधानीको हिस्सा भएपनि विकासको दृष्टिले तुलनात्मक रुपमा अधुरो देखिन्छ ।

यही अधुरो कथालाई आफ्नो चुनावी मुद्दा बनाउँदै मैदानमा उत्रिनुभएको छ कुन्ती पोखरेल । राष्ट्रिय प्रजातन्त्र पार्टीकी उम्मेदवारले आगागी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्पष्ट चुनावी खाका समेत तयार गरेर मैदानमा उत्रिउनुभएको हो ।

उहाँको अभियान केवल चुनावी कार्यक्रम जस्तो देखिँदैन । यो झन्डै तीन वर्षदेखि चलिरहेको निरन्तर संवादको विस्तार हो । चुनाव हारिसकेपछि पनि घरदैलो नछोड्ने निर्णयले उहाँलाई मतदातासँग अलग पहिचान दिएको छ ।

“पहिला पनि चुनाव उठेँ । केही मत पुगेन, हारेँ । त्यसपछि म घरदैलो नै गरिरहेको छु । ठाउँ–ठाउँको समस्याहरु हेर्दै र समधान गर्दै आइरहेको छु,” उहाँले भन्नुभयो, “पहिले भोट माग्न जाँदा नेताहरु चुनावको टाइममा मात्रै आउँछन् भन्ने प्रश्न आउँथ्यो अहिले जाँदा बहिनी, तिमीले ठिक गर्यौ भन्नुहुन्छ। एकदमै राम्रो लाग्छ ।”

उहाँले पहिले चुनाव हारे पनि चुनावपछि आफू त्यही क्षेत्रमा सक्रिय रहेको बताउनुभयो । नेतृ पोख्रेल आफ्नो क्षेत्र राजधानीको छेउमा रहेको अर्को संसार जस्तो भएको बताउनुहुन्छ । उहाँका अनुसार क्षेत्र नम्बर २ राजधानीसँग जोडिएपनि त्यहाँको जीवनशैली फरक छ । माथिल्लो भेगमा सडकको अभाव छ भने तलतिर किसान मल र बिउका लागि संघर्ष गरिरहेका छन् । सहर विस्तार हुँदै जाँदा खेतीयोग्य जमिन घट्ने चिन्ता पनि उत्तिकै छ ।

कुन्ती पोखरेलका अनुसार यो क्षेत्र न त पूर्ण रूपमा सहरी हो, न पूर्ण ग्रामीण । यो क्षेत्र अब विकाससँग नै जोड्दिनुपर्ने आवश्यकता छ । “काठमाडौँको छेउमा भए पनि विकासदेखि लिएर सानो सानो समस्याहरु त्यसै, तितर–बितर छन्,” उहाँले भन्नुभयो, “नाङ्लेभारे, कात्तिकेदेखि, पटापदेखि कोटेश्वर, बानेश्वर, गौशाला यहाँसम्म पर्छ, काठमाडौँको मुटुदेखि शंखरापुरसम्म यहाँका समस्याहरु भिन्न–भिन्न किसिमका छन्।”

उहाँले कृषिभूमि भएर पनि मलर बिउको चपेटामा किसान रहुन परेको उल्लेख गर्दै भन्नुभयो, “माथि पटापमा अब बाटोको समस्या छ, तल झरेसी कृषिमा समस्या छ, मल छैन । त्यो कृषिमा बिउ छैन, मल छैन, पानीको समस्या छ ।” उहाँको नजरमा विकासको समस्या केवल पूर्वाधारको होइन, प्रतिनिधित्वको पनि हो । संसद्‌मा पुगेपछि क्षेत्रको आवाज हराउने प्रवृत्तिलाई बदल्नुपर्ने उहाँको धारणा छ ।

“हाम्रो क्षेत्रको समस्या सांसदहरुले कहिलेपनि सुनेन् दुई नम्बर क्षेत्र खाली पद लिन मात्रै आए, सांसद बन्नका लागि आउँछन्, सदनभित्र छिर्छन् र यहाँको समस्या केही पनि हेर्दैनन्,” उहाँ भन्नुहुन्छ । प्रतिनिधिसभाले विकासभन्दा नीति निमार्णमा जोड दिए पनि आफ्नो क्षेत्रको विकास र बजेट पुगनपुगको अवस्था बजेटको दुरुपयोग वा सदुपयोमा सांसद सजग रहनु पर्ने बताउनुहुन्छ ।

यो क्षेत्रको अर्को कथा पर्यटनसँग जोडिएको छ । डाँडाबाट देखिने हिमाल, पुराना धार्मिक स्थल र प्राकृतिक दृश्यहरूले भरिएको भूभाग भए पनि यहाँ व्यवस्थित पर्यटन संरचना छैन । उहाँ डाँडातिरको बाटो सम्झिँदै भन्नुहुन्छ, “उस्तै सम्भावना हुँदाहुँदै उता नगरकोट विकसित भयो, यता किन भएन ?” शंखरापुर क्षेत्रलाई उनी धार्मिक र प्राकृतिक पर्यटनको संयुक्त गन्तव्य बनाउन सकिने बताउनुहुन्छ । बज्रयोगिनी मन्दिर, सालीनदीजस्ता स्थललाई जोडेर धार्मिक पर्यटन मार्ग बनाउने उहाँको सोच छ ।

उहाँ भन्नुहुन्छ, ‘शंखरापुर यति सुन्दर छ नि, बज्रयोगिनीदेखि लिएर हाम्रो साखुशाली नदी यो त विश्वभरका धार्मिक पर्यटनहरू लिएर आउने क्षेत्र बनाउन सकिन्छ । भारतमा कुम्भ मेलामा डुबुल्की मार्न गइन्छ भने हाम्रो साली नदी एक महिना मेला लाउँदा हामीले भारतका पर्यटन ल्याउन सकिँदैन ?’ उनको दृष्टिमा पर्यटन केवल भ्रमण होइन, रोजगारीको आधार पनि हो ।

यस क्षेत्रमा स्मार्ट सिटीको अवधारणा पनि चर्चामा छ । तर, पोखरेल भन्नुहुन्छ, “योजना कागजमै सीमित भए स्थानीयलाई झन् पीडा भइरहेको छ ।” कृषि, बजार र सहरी विस्तारबीच सन्तुलन कायम गर्नुपर्ने उहाँ जोड दिनुहुन्छ । मल, बिउ, सिंचाइ र बजार व्यवस्थापन सुधार्न सके किसान र युवा वर्ग पलायन रोकिने उहाँको विश्वास छ ।

घरदैलोमा भेटिएका अनुभवहरूले उनलाई सबैभन्दा बढी स्वास्थ्य सेवाको विषयमा संवेदनशील बनाएको छ । एक बिरामी परिवारले उपचार खर्चमा सम्पत्ति बेच्नुपरेको घटना सुनाउँदा उहाँ भावुक भएको सुनाउनुहुन्छ । “एकजना बिरामीले बिचरा खेत बेच्नुभएछ । १० करोड खर्च गर्नुभयो रे, एकजना बच्चाको उपचार गर्दा उहाँहरू धुरू धुरू रुनुहुन्छ । उपचार त फ्रि मा होस् न । सीमित लियोस् न पैसा । अब सडकमा माग्न जान मात्र बाँकी छ । यस्ता समस्याहरू देशको समस्या हो,” उहाँ भन्नुहुन्छ, “उपचार खर्चले परिवार सडकमा पुग्ने अवस्था हुनु हुँदैन ।”

उहाँका विचारमा शिक्षा, स्वास्थ्य र रोजगारी सुविधा होइन, राज्यले सुनिश्चित गर्नुपर्ने आधारभूत अधिकार हुन् । राजनीतिमा आउनुअघि उहाँ व्यवसाय र उद्यम प्रवर्द्धनमा सक्रिय हुनुहुन्थ्यो । महिलालाई उद्यमी बनाउने अभियानमा काम गरेको अनुभव उहाँले आफ्नो शक्ति मान्नुहुन्छ ।

उहाँका अनुसार नेपालमा उत्पादन गर्न चाहनेलाई नीति नै बाधक बनेको छ । कच्चा पदार्थमा कर लाग्ने तर विदेशी सामान सस्तो आउने अवस्थाले उद्योग विकास रोकिएको उहाँ बताउनुहुन्छ । ‘नीति परिवर्तन भयो भने युवा विदेश जानुपर्ने बाध्यता घट्छ,’ उहाँको दाबी छ ।

पोखरेल आफूलाई उम्मेदवारभन्दा बढी स्थानीय प्रतिनिधिका रूपमा प्रस्तुत गर्न खोजिरहनुभएको छ । उहाँका भाषणमा विकास, नीति र अधिकारको कुरा छ, तर त्योभन्दा बढी सम्बन्धको कुरा छ, स्थानीयसँगको, क्षेत्रसँगको, र विश्वाससँगको । आफ्ना मतदाताहरुसँग भोट माग्दै उहाँले भन्नुभयो, “सडकमा रहेर सकेको सेवा गरेँ, अब संसदमा पुगेर यो क्षेत्रको आवाज उठाउन चाहन्छु ।”

हलो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिनुभएकी पोखरेलका लागि यो केवल प्रतिस्पर्धा मात्र होइन, राजधानीको छेउमा रहेको भूभागलाई राजधानीकै गति दिलाउने प्रयासको निरन्तरता पनि रहनेछ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...