भोट माग्ने शैली होइन, काम गर्ने नेतृत्व चाहिन्छ : यो चुनावमा सही नेतृत्व आओस्

2
  • सन्तोषी रावल

काठमाडौँ, ४ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी चहलपहल बढ्दो छ । राजनीतिक दल र उम्मेदवारहरू घरदैलो अभियानमा व्यस्त छन् । कोही उम्मेदवारहरु जनताको दुःख पीडा सुन्दै परिवर्तनको बाचा गरिरहेका छन् भने कोही पुरानै शैलीमा चुनावी प्रतिबद्धताका सूची बाँडिरहेका छन् ।

सामाजिक सञ्जालदेखि गाउँघरका चौतारासम्म चुनावी बहस सुरू भइसकेको छ । तर, मूल प्रश्न भने अझै पनि उही छ, के यसपटक पनि चुनावपछि जनताको अवस्था उस्तै रहने त होइन ? चुनावको समयमा नेताहरू जनतामाझ पुग्ने दृश्य हरेकपटक दोहोरिन्छ । कोही डोको बोकेर खेतबारीमा पुगेका छन् । कोही जनतासँगै भुइँमै बसेर खाना खाइरहेका छन्, कोही बिरामीको उपचारमा सघाइरहेका तस्बिर र भिडिओ सार्वजनिक भइरहेका छन् । जसले उम्मेदवारहरु ‘जनतासँग नजिक’ भएको जस्तो सन्देश दिन्छ ।

तर, मतदाताले सोध्नुपर्ने प्रश्न केहो भने अहिलेको यो व्यवहार चुनावपछिसमेत कायम रहन्छ ? विगतका चुनावले जनतालाई एउटा नमिठो पाठ के सिकाएको छ भने धेरैजसो नेताहरू निर्वाचन जितिसकेपछि जनताबाट टाढा हुन्छन् । भेट्न कठिन, पहुँच सीमित र जिम्मेवारीभन्दा पदको प्रतिष्ठा ठुलो हुने प्रवृत्ति देखिएको छ ।

देशका आधारभूत समस्या अझैँ उस्तै छन् । शिक्षा प्रणाली गुणस्तरीय बन्न सकेको छैन, सरकारी अस्पतालमा उपचारको भरपर्दो व्यवस्था छैन । रोजगारीको अवसर न्यून छ, जसका कारण लाखौँ युवा विदेशिन बाध्य छन् । पूर्वाधार विकासको नाममा ठुला योजना घोषणा भए पनि ग्रामीण भेगमा सामान्य सडक, खानेपानी, विद्युत् र सञ्चार सेवा समेत व्यवस्थित हुन सकेको छैन । राजधानी केन्द्रित विकासको सोचले दुर्गम क्षेत्रका नागरिकलाई पछाडि धकेलेको अनुभूति अझै जीवित छ ।

नेपालको आवश्यकता अहिले भाषण होइन, कार्यान्वयन गर्ने क्षमता हो । नीतिगत स्पष्टता, दीर्घकालीन योजना र पारदर्शी कार्यशैली भएको नेतृत्व चाहिएको छ । केवल लोकप्रिय नाराले होइन, स्पष्ट कार्ययोजना र समयसीमा सहितका प्रतिबद्धताले मतदाताको विश्वास जित्नुपर्छ । जनप्रतिनिधिले आफ्नो पाँच वर्षको कार्ययोजना सार्वजनिक गर्ने, वार्षिक प्रगति विवरण दिने र जनतासँग नियमित संवाद गर्ने संस्कार विकास गर्नुपर्छ । लोकतन्त्र केवल मतदानमा सीमित हुँदैन, निरन्तर जवाफदेहिता नै यसको सार हो ।

ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकका समस्यामा उम्मेदवारहरुले विशेष ध्यान दिनुपर्ने अवस्था छ । दुर्गम जिल्लामा वर्षैभरि गाडी चल्ने सडक, गुणस्तरीय विद्यालय, दक्ष शिक्षक, आधारभूत स्वास्थ्य सेवा र औषधि, सिँचाइको सुविधा र स्थानीय स्तरमै रोजगारी अत्यावश्यक छन् । कृषि, पर्यटन, साना तथा मझौला उद्योगमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने नीति बिना समृद्धिको नारा खोक्रो मात्र हुन्छ ।

यसपटक मतदाताले पनि आत्ममूल्याङ्कन गर्न आवश्यक छ । हामीले उम्मेदवारको अनुहार, जात, क्षेत्र वा भावनात्मक भाषण हेरेर मत दिने हो कि उसको विगतको काम, पारदर्शिता, निष्ठा र क्षमताको मूल्याङ्कन गर्ने ? सामाजिक सञ्जालमा भाइरल भएको दृश्यभन्दा पनि उम्मेदवारको नीति, सोच र इमानदारी महत्त्वपूर्ण हुन्छ । मत केवल अधिकार मात्र होइन, भविष्य निर्धारण गर्ने जिम्मेवारी पनि हो ।

फागुन २१ गतेको मतदान केवल प्रतिनिधि चयन गर्ने दिन होइन यो देशको दिशा तय गर्ने अवसर हो । नेताहरूलाई राजधानीमा बस्न पठाउने होइन, जनताको सेवा गर्न पठाउने हो भन्ने कुरा मतदाताले मनन गर्नुपर्छ । यदि हामीले सोचेर, विश्लेषण गरेर र दीर्घकालीन हित हेरेर मत दियौँ भने परिवर्तन सम्भव छ । अन्यथा चुनाव फेरि आउनेछ, तर समस्या उस्तै रहिरहनेछ ।

देश बदल्ने शक्ति जनताकै हातमा छ । भोट माग्ने शैलीभन्दा काम गर्ने नेतृत्व रोज्ने साहस मतदाताले देखाउन सके, मात्र लोकतन्त्रको वास्तविक अर्थ स्थापित हुनेछ । यस चुनावमा नारा होइन, नीतिमा आधारित नेतृत्व चयन गरौँ ताकि भोलिको नेपाल आशा, अवसर र समानताको मार्गमा अघि बढ्न सकोस् । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...