सिन्धुलीमा जेनजी युवा दिपेशको कृषि क्रान्ति : ‘छहारी फार्म’बाट फूड फरेस्ट र अर्गानिक सख्खर

6

काठमाडौँ, ४ फागुन । कृषि विषयमा स्नातक अध्ययन पूरा गरेका जेनजी पुस्ताका युवा किसान दिपेश नेपालले पूर्णकालीन रूपमा कृषिमा लागेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गर्नुभएको छ । करिब तीन वर्षदेखि कृषिमा सक्रिय उहाँ पछिल्ला दुई वर्षदेखि पूर्णकालीन किसानका रूपमा काम गरिरहनुभएको छ ।

प्रारम्भमा ४–५ लाख रुपैयाँ पारिवारिक सहयोगमा कृषिपेशा सुरू गर्नुभएका नेपालले अहिले ११ युवाको सहकार्यमा सिन्धुलीमा करिब ३०–३५ लाख रुपैयाँ लगानीसहित करिब १० बिघा जमिनमा ‘फूड फरेस्ट’ तथा पर्यावरणीय कृषि अनुसन्धान केन्द्रसहितको छहारी फार्म सुरू गर्नुभएको हो ।

उहाँको फार्ममा फलफूलको ठुलो बगैँचासहित पूर्ण रुपमा प्राङ्गारिक विधिको तरकारी खेती, पशुपालन, मत्स्यपालन तथा समग्र पर्यावरणीय कृषिसम्बन्धी अभ्यास र अध्ययन सँगसँगै सञ्चालन भइरहेको छ । दिपेशका अनुसार यो केन्द्रले उत्पादन मात्र होइन, अध्ययन–अनुसन्धान र तालिमसमेत प्रदान गर्ने लक्ष्य राखेको छ ।

उहाँको टिमले खेती गरिरहेको फार्ममा केही समयअघिसम्म ‘प्राकृतिक कृषि तथा जडीबुटी सहकारी संस्था’ ले प्राकृतिक खेतीको सहकारी मोडेल सुरू गरेको थियो । तर, उक्त सहकारीले आफ्नो योजनाअनुसार काम गर्न नसकेपछि दिपेशसहितका युवाहरूले उक्त सपनालाई नयाँ ढङ्गले पुनर्जीवित गर्दै फराकिलो अवधारणामा ‘फूड फरेस्ट’ सहितको योजना विकास गर्नुभएको हो ।

उहाँको टोलीमा संलग्न रहेका ११ जना युवाहरूमध्ये अधिकांश जेनजी उमेर समूहका छन् । यस फार्मको चर्चित उत्पादनमध्ये ‘छारीको कोसेली’ ब्रान्डको सख्खर (गुड़) पनि एक हो । सर्लाहीका अर्गानिक उखु उत्पादक किसान जंगबहादुरसँगको सहकार्यबाट यो अवधारणा जन्मिएको दिपेशले बताउनुभयो । अर्गानिक उखुले चिनी मिलमा उचित मूल्य नपाउने र भुक्तानीसमेत ढिला हुने समस्याबाट समाधान खोज्दै सख्खर उत्पादनको ट्रायल सुरू गरिएको दिपेश बताउनुहुन्छ ।

छहारीले उत्पादन गरिरहेको सख्खरमा कुनै पनि रसायन प्रयोग नगरी जङ्गली भिण्डीको रस प्रयोग गरिएको दिपेशले बताउनुभयो । “उखुको रस उमाल्दा देखिने फोहोरलाई तल थिग्राउन भिण्डी भिजाएको पानी प्रयोग गरिन्छ, जसले प्राकृतिक रूपमा फोहोर सेटल गराउँछ,” दिपेशले भन्नुभयो, “त्यसपछि पुनः उमालेर र घोटेर सख्खर तयार गरिन्छ । यस प्रक्रियामा उखुको रस र जंगली भिण्डीबाहेक अन्य कुनै रसायन प्रयोग हुँदैन ।”

सख्खर उत्पादनमा प्रयोग गरिने उखु विगत तीन वर्षदेखि कुनै रसायन वा विषादी प्रयोग नभएको जमिनमा उत्पादन गरिएको छ । ‘अर्ग्यानिक भन्नु भनेको पोस्ट–हार्भेस्ट मात्र होइन, गर्भदेखि नै अर्गानिक हुनुपर्छ,” उहाँले स्पष्ट पार्नुभयो ।

भण्डारणका लागि माटोको भाँडा प्रयोग गरिन्छ, जुन आयुर्वेदअनुसार दीर्घकालीन संरक्षणका लागि उपयुक्त मानिन्छ । प्याकेजिङमा नेपाली माटो र स्वदेशी जुटको बोरा प्रयोग गरिएको छ । यसरी कच्चा पदार्थदेखि प्याकेजिङसम्म स्वदेशी सामग्री प्रयोग गर्दै पूर्ण रूपमा रसायनमुक्त उत्पादन बजारमा ल्याइएको दिपेशले बताउनुभयो ।

यस मोडेलमा उखु किसान, उखु पेल्ने स्थानीय उद्यमी, माटोको भाँडा बनाउने कालिगढ र छहारी फार्म स्वयम् साझेदार छन् । किसान जंगबहादुरलाई समेत सेयरहोल्डर बनाइएको छ । नाफा र जोखिम दुवै पक्षले बाँड्ने यस संरचनालाई दिपेशले ‘सर्कुलर इकोनोमी’ को नमुना भएको बताउनुहुन्छ ।

हाल काठमाडौँलगायतका मुख्य सहरमा सख्खरको माग बढ्दो रहेको दिपेशको भनाइ छ । चिनीको अत्यधिक प्रशोधन र स्वास्थ्य जोखिमप्रति सचेत उपभोक्ताहरू वैकल्पिक मिठोपनतर्फ आकर्षित भइरहेका छन् । उपभोक्ताको विश्वास बढाउन सख्खरको बट्टामा ‘कथा मिठो सख्खरको’ शीर्षकसहित क्युआर कोड राखिएको छ । कोड स्क्यान गर्दा त्यसमा उत्पादन प्रक्रियासम्बन्धी सम्पूर्ण भिडिओ हेर्न सकिने उहाँले बताउनुभयो ।

दिपेश नेपालका अनुसार युवाहरू उत्पादन, अनुसन्धान र बजारलाई एउटै चक्रमा जोडेर अघि बढेमा दिगो कृषि अर्थतन्त्र सम्भव छ । “नाफा पनि बाँडिने, जोखिम पनि बाँडिने मोडेलले दीर्घकालीन प्रेरणा दिन्छ,” उहाँले भन्नुभयो । सिन्धुलीबाट सुरू भएको यो पहलले प्राकृतिक खेती र अनुसन्धानलाई व्यवहारमा जोड्दै नयाँ पुस्ताका किसानका लागि उदाहरण प्रस्तुत गरेको छ ।

पहिलो वर्ष २४०० किलो उत्पादन
दिपेशको टिमले यस वर्ष २ हजार ४०० किलो सख्खर उत्पादन गर्दै बजारमा ल्याएको जनाएको छ । उहाँका अनुसार सख्खरको प्रयोग र विकासको लामो इतिहास ‘ट्रायल एन्ड एरर’ प्रक्रियाबाट गुज्रिएको छ र यसको औषधीय तथा सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेको छ ।

दिपेशले सख्खर केवल गुलियो पदार्थ मात्र नभइ स्वास्थ्यका दृष्टिले लाभदायक विकल्प भएको उहाँले दाबी गर्नुभयो । उहाँका अनुसार परापूर्वकालदेखि सख्खर र अदुवा कफ नियन्त्रण, चिसो मौसममा शरीर तताउन तथा घरेलु उपचारका रूपमा प्रयोग हुँदै आएको छ । “सख्खर खानका लागि डराउनुपर्ने वस्तु होइन, बरु सचेत रूपमा उपभोग गर्नुपर्ने परम्परागत र स्वास्थ्यकर विकल्प हो,” उहाँले भन्नुभयो ।

यस वर्ष उत्पादन बढाउन नसक्नुको मुख्य कारण रसायनरहित उखुको अभाव रहेको उहाँले बताउनुभयो । नेपालमा उखु उत्पादन प्रशस्त भए पनि युरिया र रासायनिक मलको व्यापक प्रयोग हुने भएकाले आवश्यक कच्चा पदार्थ सङ्कलनमा चुनौती देखिएको छ । आगामी वर्ष अन्य किसानसँग सहकार्य गरी उत्पादन दायरा विस्तार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

छहारीको सख्खरको मुख्य बजार काठमाडौँ भए पनि मागअनुसार पोखरा, चितवन, बुटवल र दाङसम्म पुर्‍याइएको छ । छहारीले परम्परागत भेन्डर प्रणालीभन्दा डिजिटल मार्केटिङमा जोड दिएको छ । सामाजिक सञ्जालमार्फत प्रचार–प्रसार, एक्स्पोमा सहभागिता तथा प्रत्यक्ष उपभोक्तासँग सम्पर्क विस्तार गरेर बिचौलियाको मार्जिन घटाउने रणनीति अपनाइएको छ ।

छहारीले सख्खरका साथै भुइँकटहर, एप्पल बयर, रुख कटहर तथा तरकारीजन्य उत्पादनहरू पनि ठुलो परिमाणमा बजारमा ल्याउने तयारी गरेको छ । युवा टोली प्रत्यक्ष उपभोक्तासम्म गुणस्तरीय कृषि उपज पुर्‍याउने लक्ष्यसहित काम गरिरहेको बताइएको छ ।

लागतका दृष्टिले भने रसायनरहित सख्खर केही महँगो पर्न जान्छ । उत्पादन प्रक्रियामा बारम्बार सरसफाइ र छान्ने काम गर्नुपर्ने तथा कच्चा पदार्थको करिब आधा भाग मलका रूपमा छुट्याउनुपर्ने भएकाले लागत बढ्ने गरेको छ । साथै माटोको भाँडामा प्याकेजिङ गर्दा श्रम र खर्च दुवै बढ्ने उहाँले बताउनुभयो । तर, गुल्मी वा सङ्खुवासभाको सख्खरसँग तुलना गर्दा भने आफ्नो उत्पादन प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराइएको दाबी उहाँले गर्नुभयो ।

कृषि विषयमा स्नातक अध्ययनपछि पूर्णकालीन किसान
कृषि विषयमा स्नातक अध्ययन पूरा गरेपछि तीन वर्षअघि कृषि कर्ममा लागेका दिपेश नेपाल अहिले पूर्णकालीन किसानका रूपमा सक्रिय हुनुहुन्छ । सुरुवातमा अल्पकालीन रूपमा खेती गर्दै आएका नेपालले पछिल्ला दुई वर्षयता पूर्णकालीन रूपमा कृषि पेशा अँगाल्नुभएको हो ।

अध्ययनका क्रममा र त्यसपछि पनि पर्यावरणीय कृषिसम्बन्धी एड्भोकेसीमा संलग्न रहेका उहाँले ‘यो क्षेत्र गफले मात्र अगाडि बढ्दैन, पढेका युवाले नै खेतमा उत्रनुपर्छ’ भन्ने निष्कर्षपछि व्यावसायिक रूपमा खेती सुरू गरेको बताउनुभयो ।

उहाँका अनुसार सुरुवाती चरणमा परिवारको सहयोगमा करिब ४–५ लाख रुपैयाँ लगानीमा खेती थालिएको थियो । तर, पारिवारिक संरचनाबाट ठुलो परिमाणमा उत्पादन सम्भव नभएपछि साथीहरुसाग मिलेर सिन्धुलीमा ‘छहारी फार्म’ स्थापना गर्नुभएको हो । उक्त फार्मलाई फुड फरेस्ट तथा पर्यावरणीय कृषि अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपालमा पर्यावरणीय तथा प्राकृतिक कृषिको सम्भावना ठुलो भए पनि व्यावहारिक अभ्यास र अनुसन्धान केन्द्रको अभाव रहेको छ । ‘छहारी फार्म’लाई उत्पादनमूलक सिकाइ केन्द्रका रूपमा विकास गर्दै स्थानीय स्तरमै दिगो कृषि प्रणाली स्थापित गर्ने लक्ष्य राखिएको छ । उहाँका अनुसार यो पहल केवल व्यावसायिक खेती मात्र नभइ युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने अभियान पनि हो । “कृषि पढेका युवाहरू विदेशिने होइन, यहीँ प्रयोग गरेर देखाउनुपर्छ भन्ने हाम्रो सोच हो,” उहाँले भन्नुभयो ।

एग्री–टेकबाट उत्पादन, बजार र पर्यटन जोड्न सकिन्छ
नेपालको आर्थिक वृद्धि कृषि उत्पादन, बजारिकरण र पर्यटनको समन्वयबाट सम्भव हुने दिपेशले बताउनुभयो । उहाँका अनुसार यी तीनवटै क्षेत्रलाई जोड्ने माध्यमका रूपमा एग्री–टेक स्टार्टअपहरूले महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् ।

उहाँले भन्नुभयो, “नेपालको अर्थतन्त्र वृद्धि गर्न दुई मुख्य आधार उत्पादन र त्यसको प्रभावकारी बजारिकरण हो, र यससँग जोडिएको पर्यटन । यी सबैलाई कनेक्ट गर्ने पुल नै एग्री–टेक हो ।” उहाँका अनुसार एग्री–टेक केवल डिजिटल प्लेटफर्म मात्र नभइ उत्पादन, प्रशोधन, आपूर्ति श्रृंखला र बजार पहुँचलाई जोड्ने प्रविधिगत प्रणाली हो, जसले कृषि क्षेत्रमा गुणात्मक परिवर्तन ल्याउन सक्छ ।

उहाँले नेपालमा एग्री–टेक स्टार्टअपको सम्भावना प्रशस्त रहेको उल्लेख गर्नुभयो । तर, स्रोतहरूको स्थानीय उपलब्धता र जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ । “हामीले प्रयोग गर्ने स्रोत कति स्थानीय छन् भन्ने कुरा विचार गरियो भने स्टार्टअपको जोखिम घटाउन सकिन्छ,” उहाँले भन्नुभयो ।

सरकारी नीतिगत पक्षमा भने सुधार आवश्यक रहेको उहाँले बताउनुभयो । कृषि उत्पादनका लागि जग्गा अत्यावश्यक भए पनि सरकारले जग्गा उपलब्ध गराउने स्पष्ट संयन्त्र विकास गर्न नसकेको उहाँको गुनासो छ । भूमि बैङ्क जस्ता अवधारणाहरू अघि सारिए पनि प्रभावकारी कार्यान्वयन नभएको उहाँले उल्लेख गर्नुभयो । त्यस्तै, जग्गा भाडा सम्झौताको स्पष्ट प्रणाली नहुँदा उद्यमीहरू अन्योलमा पर्ने अवस्था रहेको बताउनुभयो ।

नेपालका अनुसार कम्पनी दर्ता प्रक्रिया जटिल हुनु र सुरुवाती पुँजीको अभावले पनि युवाहरूलाई उद्यममा लाग्न अवरोध गरिरहेको छ । बैङ्क तथा वित्तीय संस्थाहरूले कोल्याटरलको रूपमा मुख्यतः जग्गा नै माग्ने भएकाले युवाहरूलाई ऋण प्राप्त गर्न कठिन हुने गरेको उहाँले बताउनुभयो । “युवासँग जोस हुन्छ तर पुँजी हुँदैन । बैङ्कले योजना हेरेर होइन, धितो हेरेर ऋण दिन्छ,” उहाँले भन्नुभयो ।

सरकारले हालै ल्याएको सीमित स्टार्टअप ऋण कार्यक्रम सकारात्मक भए पनि त्यसले सीमित सङ्ख्यामा मात्र लाभ दिने उहाँको भनाइ छ । हजारौँ आवेदकबीच करिब ५/६ जनालाई मात्र ऋण उपलब्ध गराउने व्यवस्था पर्याप्त नभएको उहाँले बताउनुभयो । “यस्ता कार्यक्रमको दायरा बढाउनुपर्छ । दर्ता प्रक्रिया र लिज प्रणाली सरल बनाइयो भने युवाहरू नेपालमै बसेर उद्यम गर्न उत्साहित हुन्छन्,” नेपालले आग्रह गर्नुभयो ।

हाल उहाँ स्वयम् लिजमा खेती गरिरहनुभएको छ र बैङ्कबाट ऋण लिनुभएको छैन । परिवारकै सहयोगमा कृषि व्यवसाय सञ्चालन भइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटा मोडेल रैथाने कृषि उपज उत्पादन केन्द्रका रूपमा र अर्को व्यावसायिक पर्यावरणीय कृषि उत्पादनका रूपमा विकास गरिँदैछ।

पछिल्लो समय कृषि क्षेत्रमा युवा सहभागितालाई सामाजिक स्वीकारोक्ति बढ्दै गएको उल्लेख गर्दै सरकारलाई यही समयमा नीतिगत सुधारमार्फत युवाको ऊर्जा उद्यमशीलतामा रूपान्तरण गर्न उहाँले आह्वान गर्नुभयो । “जेनजी पुस्ताको ऊर्जा सही दिशामा लगाउन सके कृषि क्षेत्र नै नेपालको आर्थिक समृद्धिको इन्जिन बन्न सक्छ,” उहाँको निष्कर्ष छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...