अब काठमाडौँ उज्यालो नेपाल पार्टीको किल्ला बन्छ : अध्यक्ष घिसिङ

10

काठमाडौँ, २ फागुन । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौँका जनताले पत्याउदैनन् कि भन्ने डरले सबै पार्टीका ठुला नेता काठमाडौँ बाहिर गएर चुनाव लडेको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौँमा आयोजित काठमाडौँ–१ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै उहाँले चुनौती देखेर कुनै संकोचबिना जनताले चुनेर पठाउँछन् भन्ने विश्वासका साथ आफू काठमाडौँबाट लडेको बताउनुभयो । अब काठमाडौँ उज्यालोको किल्ला बन्ने उहाँको दाबी छ ।

उहाँले भन्नुभयो, “म कुनै संकोच बिना चुनौती देखेर पनि काठमाडौँबाट जनताले चुनेर पठाउँछन् भन्ने विश्वासकासाथ चुनावमा लडेको छु । धेरै साथीहरु वा केही पार्टीका ठुला नेताहरु काठमाडौँ बाहिर गएर लड्दै हुनुहुन्छ । काठमाडौँका जनतासँग विश्वास नै छैन, काठमाडौँका जनताले उहाँहरुलाई पत्याउदैन कि भन्ने डरले बाहिर जानुभयो । तर, हामीलाई डर छैन । हामी लड्छौँ, हामी जित्छौँ । अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ ।”

त्यस्तै, उहाँले आफ्नो पुरानो जिल्ला रामेछापका जनताले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउने जिम्मा लिन्छौँ भन्दासमेत आफू काठमाडौँको सबै जनताले विश्वास गर्छन भन्ने आत्मविश्वासले काठमाडौँ नै रोजेको बताउनुभयो ।

“मलाई धेरैले भन्नुहुन्छ–किन काठमाडौँबाट चुनाव लडेको ? अरु जस्तै बाहिर किन नगएको भन्नुहुन्छ । मेरो जिल्ला रामेछापका साथीहरुले मनोनयन दर्ता गर्न आउनुहोस् जिताएर पठाउँछौँ भन्नुभएको थियो । तर, मैले काठमाडौँ–३ नै रोजेँ । किनकी काठमाडौँको सबै जनताले मलाई विश्वास गर्नुहुन्छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले उनेपा भाषण गर्ने नभइ परिणाम ल्याउने पार्टी भएको भन्दै हाम्रो पार्टीको पहिचान भनेकै परिणाम भएको धारणा राख्नुभयो । अब भाषणलाई भन्दा पनि देश र समाजको लागि योगदान गर्ने व्यक्ति चुन्नु अहिलेको आम मतदाताको जिम्मेवारी रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “हामी भाषण गर्न आएका होइनौँ । तर, हामी रिजल्ट ल्याउँदै, काम गर्छौँ र परिणाम दिन्छौँ । हाम्रो पहिचान भनेकै परिणाम हो । अब भाषणलाई होइन कामलाई मतदान गर्नुपर्छ । कामलाई जनताले चुन्नुपर्छ । जसले देश र समाजको लागि योगदान गरेको छ । त्यस्ता व्यक्ति चुन्नु अहिलको आम मतदाताको जिम्मेवारी पनि हो ।”

अध्यक्ष घिसिङले नयाँ पार्टी भनेकै उज्यालो पार्टी भएको भन्दै देशकै पहिलो पार्टी दाबी समेत गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...