रुकुम पूर्वमा प्रचण्डको चुनावी परीक्षा : गढ जोगाउन चुनौती

10
  • प्रमिला कार्की

काठमाडौँ, २ फागुन । यही फागुन २१ को प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रुकुम पूर्व फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा परेको छ ।

यहाँको निर्वाचन क्षेत्रमा लगातार जीत हासिल गरेका नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ‘प्रचण्ड’को चुनावी यात्रा यसपटक सहज देखिँदैन । यो निर्वाचन उहाँका लागि केवल एउटा संसदीय सिटको प्रतिस्पर्धा होइन, बरु आफ्नै राजनीतिक आधारभूमिको पुनः परीक्षणका रूपमा हेरिएको छ ।

प्रचण्डले सन् ०२६ को संसदीय निर्वाचनका लागि यही क्षेत्रमा उम्मेदवारी दर्ता गराउनुभएको छ र उहाँले विकास र समग्र प्रगतिको प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

रुकुम पूर्वलाई लामो समयदेखि माओवादी आन्दोलनको गढ मानिँदै आएको छ । जनयुद्धकालमा यो क्षेत्र संगठन, जनशक्ति र राजनीतिक संरचनाको हिसाबले महत्त्वपूर्ण आधार थियो । त्यसैले विगतका निर्वाचनमा प्रचण्ड वा माओवादी केन्द्रका उम्मेदवारले सहज जित निकाल्ने गर्नुभएको थियो । तर, यसपटकको वातावरण पहिले जस्तो एकतर्फी देखिँदैन ।

गढभित्रै बढ्दो असन्तुष्टि
स्थानीय स्तरमा विकास, रोजगारी, शिक्षा र पूर्वाधारका विषयमा मतदाताको अपेक्षा बढेको छ । विशेषगरी युवा पुस्ताले अब केवल ऐतिहासिक योगदानभन्दा वर्तमान उपलब्धि र भविष्यको योजना हेर्नुपर्ने आवाज उठाउन थालेका छन् ।

१८ देखि ३० वर्ष उमेर समूहका मतदाता जनयुद्धको प्रत्यक्ष अनुभव नभएको पुस्ता हो । उनीहरूका लागि रोजगारी सिर्जना, डिजिटल पहुँच, कृषि आधुनिकीकरण र सडक–स्वास्थ्य जस्ता आधारभूत विषय प्राथमिकतामा छन् । यसले परम्परागत भावनात्मक मतलाई व्यवहारिक मुद्दातर्फ मोड्ने संकेत देखिएको छ ।

स्थानीय स्तरमा केही मतदाताले राष्ट्रिय नेता जितेपछि क्षेत्रको विकासमा निरन्तर ध्यान पुग्छ कि पुग्दैन ? भन्ने प्रश्न पनि उठाउने गरेका छन् ।

विपक्षी तयारी र सम्भावित प्रतिस्पर्धा
यस क्षेत्रमा एमाले, काङ्ग्रेस तथा स्वतन्त्र उम्मेदवारहरू सक्रिय देखिएका छन् । विपक्षी दलहरूले संयुक्त रणनीति बनाए प्रतिस्पर्धा कडा हुन सक्ने आँकलन गरिएको छ ।

यदि विपक्षी मत विभाजित भयो भने प्रचण्डलाई लाभ पुग्ने विश्लेषण छ । तर, विपक्ष एकजुट भएमा मतान्तर सानो हुन सक्ने आँकलन छ ।

रुकुम पूर्वमा मगर समुदायको उल्लेख्य उपस्थिति छ । साथै दलित, जनजाति र अन्य समुदायको मत पनि निर्णायक मानिन्छ । समुदायगत पहुँच, स्थानीय नेतृत्वसँगको सम्बन्ध र विकासका प्रत्यक्ष अनुभवले मतदान व्यवहारमा प्रभाव पार्ने सम्भावना हुन्छ ।

स्थानीय तहका पूर्वप्रतिनिधि, सामाजिक अभियन्ता तथा युवा समूहले चुनावी माहोलमा सक्रियता बढाइरहेका छन् । यसले चुनावलाई केवल दलगत प्रतिस्पर्धाभन्दा पनि सामाजिक प्रभावको प्रतिस्पर्धामा रूपान्तरण गरेको देखिन्छ ।
रुकुम पूर्वमा कुल १२ जना उम्मेदवार चुनावी मैदानमा छन् जसमा प्रचण्ड बाहेक नेपाली काङ्ग्रेस, एमाले, प्रगतिशील लोकतान्त्रिक पार्टी र अन्य साना दलका नेताहरू पनि प्रतिस्पर्धामा छन् ।

सबैभन्दा उल्लेखनीय चुनौती भनेको प्रगतिशील लोकतान्त्रिक पार्टीका सन्दीप पुन हुनुहुन्छ । उहाँ आफ्नो ऐतिहासिक पृष्ठभूमि र नवीन ऊर्जा लिएर मैदानमा आउनुभएको छ । सन्दीप आफूलाई ‘जनयुद्धका सहिदपुत्र’ र नवयुवाहरूको प्रतिनिधि भनेर प्रस्तुत गरिरहनुभएको छ । जसले युवापुस्ताका आशा, रोजगारी र विकासमुखी अजेण्डालाई केन्द्रमा राखेर चुनावी अभियान चलाइरहनुभएको छ ।

त्यस्तै, नेपाली काङ्ग्रेसबाट कुसुमदेवी थापा मगर र एमालेबाट लीलामणी गौतम पनि प्रतिस्पर्धामा हुनुहुन्छ । मगर समुदायको बाहुलियता रहेको क्षेत्र, रुपान्तरित भएको नेपाली काङ्ग्रेस र युवा उम्मेदवार भएका कारण कुसुमदेवी प्रचण्डका लागि भारी बन्नसक्ने आँकलन गरिएको छ ।

प्रचण्डका पक्षमा माहोल
प्रचण्डका पक्षमा बलियो पार्टी संगठन, दीर्घ राजनीतिक अनुभव र राष्ट्रिय स्तरको पहिचान छ । जनयुद्धकालीन योगदानप्रति अझै पनि एक हिस्सा भावनात्मक रूपमा जोडिएको देखिन्छ ।

साथै, पार्टीको संरचनात्मक उपस्थिति गाउँ–गाउँसम्म रहेकाले चुनावी परिचालन सशक्त हुने अपेक्षा गरिएको छ । गठबन्धनको सम्भावित समीकरणले पनि उहाँलाई सहयोग पुग्न सक्छ ।

चुनौती कति गहिरो ?
यद्यपि, परम्परागत रूपमा सुरक्षित मानिएको क्षेत्र भए पनि यसपटकको चुनाव सहज जितको रूपमा चित्रित गर्न कठिन देखिन्छ । युवा असन्तुष्टि, विकासप्रतिको अपेक्षा र विपक्षी सक्रियताले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।
यो निर्वाचनले केवल एउटा सिटको नतिजा मात्र निर्धारण गर्ने छैन, बरु ग्रामीण क्षेत्रमा नेतृत्वप्रतिको विश्वास, परिवर्तनको चाहना र राजनीतिक ध्रुवीकरणको स्तरसमेत देखाउनेछ ।

रुकुम पूर्वको चुनावी मैदान अहिले प्रतीक्षामा छ-के प्रचण्डले आफ्नो पुरानो गढ जोगाउनेछन्, वा मतदाताले नयाँ राजनीतिक सन्देश दिनेछन् ?

जे भए पनि, यो निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा प्रतिकात्मक अर्थ राख्ने निश्चित छ । गढभित्रैको यो परीक्षा प्रचण्डका लागि व्यक्तिगत र पार्टी दुवै हिसाबले महत्त्वपूर्ण मानिएको छ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...