काठमाडौँ ६ को क्षेत्रगत, व्यक्तिगत र सामूहिक मुद्दाबारे जानकार छु, चुनाव जित्छु : सबुज बानिया [भिडिओ]
काठमाडौँ, २ फागुन । नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य काठमाडौँ क्षेत्र नम्बर ६ का उम्मेदवार सबुज बानिया (कृष्ण)ले काठमाडौँको भुगोल, जातिय क्लष्टर र मतदाताको भावना नजिकबाट बुझेको उम्मेदवार भएकाले मतदाताले विश्वास जित्ने बताउनुभएको छ ।
नेपाल न्युज बैङ्कसँगको विशेष चुनावी संवादमा उनले चुनावी अभियानका क्रममा हाल शुभेच्छुक, मतदाता र कार्यकर्ताहरुसँगको भेटले उत्साह थपेको बताउँदै विजयी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
“हाल मतदाताहरुसँग भेट्ने काम गरिरहेका छौँ । क्लस्टर क्लस्टरमा गएर भेट्ने, सुझाव लिने र प्रश्नहरुको उत्तर दिने साथै सहकार्य गर्दै अगाडि बढ्ने काम गरिरहेका छौँ । यसक्रममा विशेषगरी राष्ट्रको समृद्धिको, सबै किसिमका जटिलता, त्यसको व्यवस्थापन गर्नेबारे गम्भीर बहस समेत गरेका छौँ । काङ्ग्रेसले नेतृत्व परिवर्तन गरेर गइसकेकाले सबैखाले चुनौतीको सामना गर्नेगरी काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
पार्टी सभापतिमा गगन कुमार थापा निर्वाचित भएकाले काङ्ग्रेस बदलिएर र रुपान्तरित भएर अगाडि बढेको उल्लेख गर्दै उहाँले यतिबेला काङ्ग्रेस सहज एवम् विश्वासिलो पार्टी बनिसकेकाले मतदाताहरु आशावादी भएको उल्लेख गर्नुभयो ।
काठमाडौँ क्षेत्र नम्बर ६ मा क्षेत्रगत, मान्छेको व्यक्तिगतदेखि लिएर सामूहिक समस्याहरु रहेकाले त्यसको पहिचान गरेर काम गर्न आफू तत्पर रहेको विश्वास व्यक्त गर्नुभयो । “मतदाताहरुले आफ्नो क्षेत्रका समस्याहरु राख्नुभएको छ । विशेषगरी विकास निर्माणहरुका समस्या छन् । आफ्ना आफ्ना किसिमका समस्यालाई नजिकबाट उहाँहरुले भोगिरहनुभएको छ । त्यसको समाधानका लागि अठोटका साथ मतदाताहरुलाई भनिरहेको छु । यस क्षेत्रका स्रोत साधन, खोलानाला र त्यसको व्यवस्थापन, प्राकृतिक सम्पदाहरु ऐतिहासिक पहिचानका सम्पत्तिहरुको संरक्षण संवर्द्धन, व्यवस्थित किसिमले अगाडि लैजानुपर्ने पनि छ । त्यसका लागि काम गर्न म तत्पर छु,” उहाँले भन्नुभयो ।
काठमाडौँ ७७ जिल्लाका मतदाताहरुको बसोबास रहेको सङ्घीय राजधानी भएकाले एक किसिमको राष्ट्रिय चिन्तन सबैले गरिरहेकाले त्यसकाबारे आफू सचेत रहेको बताउनुभयो । आगामी निर्वाचन भदौ २३ र २४ गतेको आन्दोलनको उपज भएकाले सम्वेदनशील भएर अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।
नेपाली काङ्ग्रेस ऐतिहासिक पार्टी भएपनि राज्यसत्ता सञ्चालन गर्ने क्रममा केही कमजोरीहरु भएको बताउँदै बाँनियाले त्यसबेलाको अपजस स्पष्ट रुपमा अङ्गीकार गरेर मैदानमा उत्रिएको बताउनुभयो । “हामी राज्यसत्तामा रहेकै बेला जेनजी आन्दोलन भयो । जेनजीहरुको मागको आधारमा अगाडि बढ्नुपर्छ भन्नेमा म प्रतिवद्ध छु,” उहाँले भन्नुभयो ।
काठमाडौँको सन्दर्भमा खोला किनारामा बसेका आम नागरिकहरुको समस्या र उनीहरुको अधिकारका बारेमा काम गर्नुपर्ने र त्यसलाई व्यवस्थापन गर्नुपर्ने धारणा राख्नुभयो ।
“जोकोही नागरिकको बास र गास पहिलो प्राथमिकता हो । उहाँहरुको अवस्थाबारे म जानकार छु । सचेत छु र उहाँहरुको समस्या प्रत्यक्ष रुपमा देखेर भोगेको छु । उहाँहरुसँग एउटा पारिवारिक सम्बन्ध जस्तो कायम गरेर धेरै काम गरेकाले उहाँहरुको समस्या नजिकबाट हेरेर बुझेको छु । त्यसलाई व्यवस्थापन गर्नुपर्ने मेरो प्रमुख जिम्मेवारी हो । उहाँहरुकै सल्लाह अनुसार काम गर्न तयार छु,” उहाँले प्रतिवद्धता जनाउनुभयो ।
उम्मेदवार बाँनियाले आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक र पुरातात्वीक महत्त्व बोकेका सम्पदा स्थलहरुको संरक्षण र नेवार समुदायहरुको गुठीको व्यवस्थापनमा काम गर्ने अठोट पनि व्यक्त गर्नुभयो ।
“गुठीको प्रवर्द्धन गरेन भने, संस्थागत रुपको त्यसलाई व्यवस्थित गर्दै लगेन भने सम्पदाको नष्ट हुन्छ । किनभने सम्पदाको संरक्षण गुठीले गरिराखेका छन् । गुठीको व्यवस्थापन गर्नु सम्पदालाई बचाउनु हो । त्यसकारण सम्पदाका विषयमा म बढी चिन्तित छु । गुठी र सम्पदाका सन्दर्भमा चेतनशील वा बुझ्नसक्ने अवस्थादेखि धेरै अनुभूति छ । सम्पदा हाम्रो सम्पदा भएकाले त्यसको व्यवस्थापन मेरो प्रमुख दायित्व हो,” उहाँको भनाइ छ ।
नदीनालाहरुको व्यवस्थापन र सफाइ महत्त्वपूर्ण काम भएकाले पर्यावरण जोगाउन पनि यसमा काम गर्नुपर्नेमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । “खोलानाला दूषित हुँदा पर्यावरण बिग्रिन्छ । मान्छेको स्वास्थ्यलाई हानि पुर्याउँछ । यसको व्यवस्थापनका लागि मतदाताहरुलाई भनेको पनि छु । निर्वाचित भएर गएपछि वा काठमाडौँ जिल्लाका प्रतिनिधित्व गर्ने सांसदहरुको एउटै स्वर बनाएर प्रस्ताव संसद्मा पेश गर्नेछु । काठमाडौँ सुन्दर बनाउनका लागि पहिला नदीनालाको व्यवस्थापन गर्ने मेरो पहिलो प्राथमिकता हुनेछ । काठमाडौँको गुठी र नदीनालाको व्यवस्थापन गरेर उचित संरक्षण गरेर यथोचित व्यवस्थापन गरेर जानुपर्ने छ । यसमा काम गर्ने मेरो पहिलो लक्ष्य हुनेछ । अरु विकास निर्माणका कुराहरु आवश्यकता अनुसार व्यवस्थापन गरेर लाने कुरामा स्पष्ट नै छु,” उहाँले भन्नुभयो ।
लोकतन्त्र वा प्रजातन्त्र अर्थात् गणतन्त्रको सबैभन्दा राम्रो पक्ष भनेको समावेशीमुलक प्रतिनिधित्व भएकाले निर्वाचनमा नयाँ वा पुराना सबैको दलहरुको प्रतिनिधित्व हुनुपर्नेमा उहाँले जोड दिनुभयो । “निर्वाचनमा नयाँ पुरानो भन्नेले खासै अर्थ राख्दैन । प्रतिस्पर्धा सबैबिच हुनुपर्छ । कुनै पार्टीले गरेको जवाफदेहीता र उसले गरेको क्रियाशीलताबाट प्रश्न उठ्नु स्वभाविक छ । मान्छेको आकाङ्क्षा सीमित नहुने र समय सन्दर्भअनुसार बढ्दै जाने भएकाले पुरानो इतिहास भएको पार्टीले आफूलाई रुपान्तरित गरेर जानुर्पछ । नयाँ भनिएका पार्टीहरुले पुरानालाई घेराबन्दी गर्नु जरुरी पनि छैन । आफुले गर्नुपर्ने दायित्वबाट पन्छिन पनि मिल्दैन,” बाँनियाले स्पष्ट पार्नुभयो ।
ऐतिहासिक पार्टीको प्रतिनिधिको रुपमा आफूले उम्मेदवारी दिन पाएको दाबी गर्दै बाँनियाले नयाँ पार्टीहरुले डेलिभरी गर्न सकेनन् भने प्रश्न उठ्ने उहाँले बताउनुभयो । नयाँ भनिएका पार्टीहरु पनि परीक्षामा असफल भइसकेकाले पूरानाहरुप्रति मतदाताको विश्वास बढेको दाबी गर्नुभयो । काङ्ग्रेसभित्र कुनै किसिमको मत भिन्नता नरहेको उल्लेख गर्दै उहाँले सबै एकढिक्का भएर पार्टीलाई जिताउन क्रियाशील रहेको जानकारी दिनुभयो ।
“यसअघि यो क्षेत्रबाट भीमसेन दास प्रधान उम्मेदवार हुनुहुन्थ्यो । उहाँ यतिबेला काङ्ग्रेसलाई जिताउन लागिरहनुभएको छ । पार्टीमाथि प्रश्न उठे पनि मतदाताप्रति हामी जवाफदेही छौँ । मैले पटक पटक निर्वाचनमा उठ्छु भनेपछि मात्र अवसर पाएको हुँ । सामाजिक रुपमा आफूलाई रुपान्तरित गरेर अगाडि बढेको छु । पार्टीमा आन्तरिक रुपमा क्रियाशील भएर काम गर्दै जाँदा विकास निर्माणदेखि लिएर राज्य सञ्चालनमा धेरै रचनात्मक काम समेत गर्ने मौका पाएको छु,” उहाँले भन्नुभयो ।
अहिलेको परिस्थिति भनेको एउटा संकटग्रस्त अवस्थामा रहेकाले प्राप्त गरेका अधिकार पनि एउटा अफ्ठेरो असजिलो परिस्थितिलाई संस्थागत गरेर लानुपर्ने उहाँको भनाइ छ । हाल देखिएका समस्या वा चुनौतीहरुको समाधान गर्न, मुलुकको समृद्धको बाटो ढोका खोलेर अघि बढ्न काङ्ग्रेस तयार रहेको उहाँको भनाइ छ ।
“नेपाली काङ्ग्रेस बदलियो, अब देश बदल्छौँ भन्ने हाम्रो स्लोगन नै छ । देशको अहिलेको परिस्थिति वा मागअनुसार जानको लागि एउटा प्रतिनिधि पात्रका रुपमा मैदानमा आएको छु । पार्टी सभापति गगन थापाज्यूले लिनुभएको बाटोमा अघि बढेको छु । म खेतीकिसानी गर्ने व्यक्ति भएकाले सबै तहका मतदाताहरुको भावना बुझेको छु । सबै जातजाति मेरा लागि बराबरी हुन् । सबै जातजातिका व्यक्तिसँग आत्मीय सम्बन्ध छ । पारिवारिक सम्बन्ध राखेर सामाजिक रुपमा आफूलाई प्रमाणित गरिसकेको छु । सबै मतदाताको आशीर्वाद र विश्वासका कारण काठमाडौँ क्षेत्र नम्बर ६ का मतदाताले मलाई विश्वास गर्नुहुनेछ,” उहाँले विश्वास व्यक्त गर्नुभयो । –नेपाल न्युज बैङ्क