म्याग्दी, २ फागुन । म्याग्दीमा अटोरिक्सा चलाउने व्यवसाय आम्दानीको बलियो माध्यम बनेको छ । बेनी नगरपालिकाभित्र अटोरिक्सा चलाएर यहाँका ३० जना युवाले मासिक ४० हजार रूपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् ।
पछिल्लो समय अटोरिक्सा व्यवसाय बेरोजगारका लागि आम्दानीको स्रोत बन्दै गएपछि बेरोजगार युवाको ध्यान अटोरिक्सातिर आकर्षित भएको बेनीबजारका व्यवसायी शिव रेग्मीले बताउनुभयो ।
अटो रिक्सा चलाएर राम्रो आम्दानी हुने गरेको अटो चालक सुमन रिजाल बताउनुहुन्छ । बेनी नगरपालिका–२ बगरफाँटका रिजालले अटोरिक्सा चलाएर मासिक ४० देखि ४५ हजार रूपैयाँसम्म आम्दानी गर्दै आएको बताउनुभयो ।
विदेश गएर अरुको देशमा श्रम गर्नुभन्दा आफ्नै देशमा बसेर केही गर्नुपर्छ भन्ने मनसायले अटो व्यवसायमा लागेको उहाँको भनाइ छ । अटो चलाएर प्राप्त हुने आम्दानीबाट उहाँ सन्तुष्ट हुनुहुन्छ ।
“मैले बेनी बजार र नगरपालिका क्षेत्रमा अटोरिक्सा चलाउँदै आएको छु, दैनिक दुई हजार पाँच सय रूपैयाँदेखि तीन हजार रूपैयाँ कमाइ हुन्छ”, उहाँले भन्नुभयो, “सबै खर्च कटाएर दैनिक एक हजार ५०० रूपैयाँ बचत हुन्छ, यसमा धेरै खर्च पनि हुँदैन, यसमै सन्तुष्ट छु ।”
तीन वर्षअघि तीन लाख ८० हजार रूपैयाँमा अटोरिक्सा किन्नुभएका बेनी नगरपालिका–२ फापरखेतका कालु सापकोटा पनि यसबाट प्राप्त हुने कमाइले सन्तुष्ट हुनुहुन्छ । सेवा पनि हुने र फाइदा पनि हुने यो व्यवसायप्रति पछिल्लो समय युवाहरूको आकर्षण बढेकाले अहिले अटोरिक्सा धेरै हुँदा पहिलाको तुलनामा कमाइ घटेको भए पनि अरु व्यवसायमा भन्दा राम्रै रहेको उहाँको भनाइ छ ।
“सुरुसुरुमा अटोरिक्सा कमै थिए, दैनिक तीन हजार ५०० रूपैयाँदेखि पाँच हजार रूपैयाँसम्म पनि कमाइ हुन्थ्योँ”, उहाँले भन्नुभयो, “अहिले पनि कमाइ राम्रै छ, आम्दानीको अन्य स्रोत केही छैन, घरखर्च र अन्य भइपरि आउने खर्च यसैबाट चलेको छ, अलिअलि बचत पनि भएकै छ, अटो रिक्सा चलाएर स्वरोजगार बनिएको छ ।”
अर्का अटो चालक वसन्त रेग्मीले पनि अटो चलाएर राम्रो आम्दानी गर्नुभएको छ । मासिकरूपमा ३० हजार रूपैयाँ बढी बचत गर्न सफल रेग्मी वैदेशिक रोजगारीबाट फर्केर अटोरिक्सा चलाउन थाल्नुभएको हो । उहाँले भन्नुभयो, “घरमै बसेर काम गर्न पाइएको छ, धेरै कष्ट पनि गर्नुपरेको छैन, यसैमा सन्तुष्ट छु ।” जागिर खाने उमेर गएका, विदेश जान नसक्ने, रोजगारीको सम्भावना नभएकालाई अटोरिक्सा व्यवसाय एकदमै राम्रो भएको उहाँको भनाइ छ ।
बेनी नगरपालिकाले नगरपालिकाका १० वटा वडाभित्र सञ्चालन गर्न पाउनेगरी अनुदानमा समेत अटोरिक्सा वितरण गरेपछि यहाँ अटो चल्न सुरु गरेको हो । पहाडी भूगोल भए पनि कालोपत्र भएको सडकभित्र अटोरिक्सा सञ्चालन भएका छन् । नगरपालिका क्षेत्रभित्र ३० वटा अटो सञ्चालन हुनेगरेका बेनी नगरपालिकाले जनाएको छ ।