रामेछापको बस दुर्घटना : मृतकको पोष्टमार्टम हुन सकेन

11

रामेछाप, २८ माघ । रामेछापको मन्थली नगरपालिका–६ स्थिति तामाकोसी नदीमा मङ्गलबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाको बुधबार बिहानसम्म पनि पोष्टमार्टम हुन सकेको छैन । बसको सञ्चालक पूर्व अरनिको यातायात प्रालि आधिकारी प्रतिनिधि सम्पर्क र छलफलमा नआउँदा पीडित परिवारको माग सम्बोधन हुन नसकेको कारण पोष्टमार्टमको काम अघि बढ्न नसकेको हो ।

“समितिका मान्छे सम्पर्कमा आएका छैनन्, कम्तीमा उनीहरूले मृतक र घाइतेको परिवारलाई के कस्तो सहयोग गर्न सक्ने भन्ने कुरा प्रष्ट भनिदिए थप प्रक्रिया अघि बढ्ने थियो,” मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले भन्नुभयो ।

पीडितका आफन्तहरूसँग मङ्गलबार राति अबेरसम्म स्थानीय प्रशासनले छलफल गरेको थियो । स्थानीयले यातायात प्रालिका प्रतिनिधि अनुपस्थित हुँदासम्म विषय नटुङ्गिने अडान राखेपछि वार्ता त्यतिकै टुङ्गिएको थियो ।

कम्पनीका अधिकारीहरू नआएका कारण आज पनि थप छलफल अघि बढ्न सकेको छैन । मृतकका आफन्तहरू मन्थली बजारमा अलपत्र अवस्थामा छन् । दुर्घटनामा ज्यान गुमाएका १२ मध्ये ८ जनाको शव मन्थली नगर अस्पतालको पोष्टमार्टम गृहमा राखिएको छ भने ४ वटा शव रामेछाप अस्पतालमा राखिएको छ ।

काठमाडौँबाट रामेछापको मन्थली हुँदै ओखलढुङ्गाको गाम्नाङतर्फ हिँडेको पूर्वी अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस मङ्गलबार बिहान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको थियो भने ८ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको धुलिखेल र काठमाडौँमा उपचार भइरहेको छ भने सामान्य घाइते चालकलाई प्रहरीले उपचारपछि नियन्त्रणमा लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...