नुवाकोटमा गौरव गर्न लायक काम गरेको छु, मतदाताप्रति विश्वस्त छु : डा.महत [भिडिओ]

7

काठमाडौँ, २८ माघ । नेपाली काङ्ग्रेसका नेता, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तरर्गत नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाशशरण महतले नुवाकोटलगायत देशभर काङ्ग्रेसका उम्मेदवारहरु बलियो स्थितिमा रहेको प्रतिक्रिया दिनुभएको छ ।

नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा उहाँले काङ्ग्रेसका उम्मेदवार र कार्यकर्ताहरु जनताका लागि सुख दुःखका साथी भएकाले जुनसुकै अवस्थामा उपलब्ध हुने पनि बताउनुभयो । वैकल्पिक भनिएका दलहरुको शिर र पुच्छर नभएकाले काङ्ग्रेससँग तुलना नहुने उहाँको भनाइ छ ।

“वैकल्पिक भनिएका शक्तिहरुको शिर र पुच्छरको अत्तोपत्तो छैन । कहाँबाट आउँछन्, कहाँ हराउँछन् पत्तो छैन । सामाजिक सञ्जालको प्रभावले उहाँहरु आइरहनुभएको छ । हामीसँग संगठन छ, इतिहास छ । लामो समयदेखि जनतासँग जोडिरहेका छौँ । दिगो रुपमा काम गरिरहेका छौँ र अस्तित्वमा छौँ । ७५ वर्षको इतिहासमा धेरै चुनौतीहरुको सामना गरेका छौँ, उतारचढाव व्यहोरेका छौँ । त्यही कारणले काङ्ग्रेस टिकेको छ । नयाँ हुँदैमा राम्रो हुने होइन । तर, हामी सुखदुख र अफ्ठयारो अवस्थामा साथमा छौँ त्यसैले हामी यस पटक पनि थप बलियो रुपमा स्थापित हुनेछौँ,” उहाँले भन्नुभयो ।

नुवाकोटको सन्दर्भमा आफू ऊर्जामन्त्री वा अर्थमन्त्री हुँदा साथै विभिन्न चरणमा काम गरेर देखाइसकेकाले यस पटक पनि मतदाताले रोज्ने बताउनुभयो । “म प्रत्यक्ष निर्वाचन नलडे पनि धेरै काम गरेको छु । परिपक्व, इमान्दार र काम गर्नसक्ने व्यक्तिको पहिचान बनाइसकेको छु । त्यसैले मतदाताले मलाई रोज्नेछन्,” उहाँले अगाडि भन्नुभयो, “गाह्रोसाह्रो र अफ्ठयारो अवस्थामा पनि डा.महतले काम गर्छ भन्नेमा नुवाकोटवासी विश्वस्त छन् ।’

नुवाकोटको विकासमा वितेको १० वर्ष काङ्ग्रेसको प्रतिनिधित्व नभएकाले काम नभएको बताउँदै उहाँले आफूले १० वर्षको क्षतिपूर्ति दिनेगरी आफ्नै अगुवाइमा विकासका लागि करिब सात अर्ब जति विनियोजन गराएको जानकारी दिनुभयो ।

“यतिबेला आश्वासन दिन सजिलो छ । कुलो र कुरो जता लगे त्यतै मोडिन्छ । यसबारे मतदाता सचेत छन् । हाम्रै अगुवाइमा नुवाकोटमा धेरै काम भएको छ । १० वर्ष हाम्रो प्रतिनिधित्व नहुँदा कामै भएन । तर, त्यसको क्षतिपूर्ति काङ्ग्रेसले दिलाउने प्रयासमा छ । सडक पूर्वाधारका क्रममा ककनीको बाटो हालत थियो, धुलो र हिलोबाट सबैलाई हैरानी दिएको थियो । त्यो बाटोमा एक अर्ब २० करोड रूपैयाँ विनियोजन गरेर धेरै काम भएको छ, गगंटेबाट गोल्फू भन्ज्याङ जाने बाटोमा एक अर्ब ३३ करोड रूपैयाँ सुनिश्चित मैले नै गरेकाले ठेक्का लागेर काम अघि बढिसकेको छ । त्यो बाटोले दुवै क्षेत्र एवम सिन्धुपाल्चोकसँग जोड्ने र काठमाडौँसँगको दुरी छोटो बनाउनेछ । कृषि, पर्यटन र व्यवसायमा सहज हुनेछ । छहरे–टोखा बाटो जिर्ण थियो, त्यसका लागि म अर्थमन्त्री भएका बेला आठदश करोड विनियोजन गरेर तत्कालै काम अघि बढाएर हाल धेरै सहज भएको छ । ओखरपौवादेखिको बाटोमा पनि ११ करोड विनियोजन गरेर सहज बनाएको छु,” उहाँले दावाकासाथ भन्नुभयो ।

आफ्नै पहलमा तीनमुखे झोलुङ्गे पुलको काम अघि बढाएको साथै पन्चकन्याकै छहरेदेखि घलेगाउँसम्म जाने बाटोमा १५ करोड रूपैयाँ लगानी गरेकाले धेरै सहज बनाएको छ । त्यस्तै, चौघडाको वाहुनबेसीसम्म जाने पुल निर्माणले आवात जावतमा सहज भएको उहाँले बताउनुभयो । त्यस्तै, सिँचाइ क्षेत्रमा ठुलो लगानी भित्र्याएकाले कृषकहरुलाई धेरै सहज भएको उहाँले बताउनुभयो ।

डा.महतले आफ्नै पहलमा आयात हुने कृषिजन्य वस्तुमा भन्सार बिन्दुमा कडाइ गरेर नेपाली कृषकलाई सहज बनाएको पनि बताउनुभयो । तर, त्यो व्यवस्था हालको सरकारले हटाएकाले कृषक र व्यवसायी मारमा परेको बताउनुभयो ।

प्रदेश र केन्द्रबाट दर्जनौँ योजनाहरु जिल्ला भित्र्याएकाले नुवाकोटबासीलाई सहज भएको बताउँदै उहाँले सुरुङ मार्गमा एक अर्ब रूपैयाँ विनियोजन गर्दा जिल्लाबासीमा खुसीयाली छाएको उहाँको भनाइ छ । यस्ता ठुला योजनाहरु नुवाकोटमा लक्षित गर्दै भित्र्याएकाले जग्गाको मूल्य बढेको, पर्यटन क्षेत्र फस्टाएको साथै अन्य क्षेत्रलाई फाइदा भएको बताउनुभयो ।

नेपाली काङ्ग्रेससँग प्रतिस्पर्धा वैकल्पिकभन्दा पनि पुरानै दलहरुसँग हुने बताउँदै उहाँले आफू नुवाकोट १ मा बलियो उम्मेदवार भएको र विजयी निश्चित भएको दाबी गर्नुभयो । “मतदाताहरुले काम गर्ने नेता खोजेका छन् । मैले पनि पार्टी होइन काम रोजौँ भनेको छु । नुवाकोटबासी काम रोज्न तयार छन्,” उहाँले भन्नुभयो ।

नेपाली काङ्ग्रेस एकढिक्का भएकाले यस पटक पार्टीका उम्मेदवारहरुलाई पनि सहज भएको डा.महतको भनाइ छ । “हाम्रो आन्तरिक जीवनमा उतारचढावहरु आइरहन्छन् । अनेकौँ घटनाहरु घटिरहन्छन्, त्यसलाई महत्त्व दिन जरुरी पनि छैन । विपक्षीसँग प्रतिपर्धा हुँदै छ, देश तरल अवस्थामा छ, मानसिकता खलबलिएकाले त्यसलाई स्थिरता दिनुपर्ने बाध्यता हामीमा छ । यस्ता अनेक संकटको समाधान काङ्ग्रेसले नै गर्छ,’ उहाँले भन्नुभयो ।

स्थिरता, लोकतन्त्र र विधिको शासनका लागि साथै राष्ट्रियता कमजोर हुनबाट जोगाउन काङ्ग्रेसले जित्नुपर्ने उहाँको भनाइ छ । “स्थिरता, विधिको शासनका लागि, लोकतन्त्रका लागि, राष्ट्रियतालाई कमजोर बनाउनेहरूविरुद्ध काङ्ग्रेसलाई मतदान गर्न आग्रह गर्दछु । नुवाकोटका सन्दर्भमा पनि म काम गर्ने व्यक्ति भएकाले कुराभन्दा काम गर्नेलाई भोट दिन आग्रह गर्दछु,” उहाँले आग्रह गर्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...