काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.अर्जुन कार्कीले जिल्लाको दिगो विकासका लागि जलस्रोत, पूर्वाधार, पर्यटन र स्थानीय रोजगारीलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
चुनावी अभियानका क्रममा भोटखोला सङ्खुवासभामा आयोजित कार्यक्रममा बोल्दै डा.कार्कीले जलस्रोतको हिसाबले सङ्खुवासभा मुलुककै धनी जिल्लामध्ये पर्ने उल्लेख गर्नुभयो ।
उहाँले जलस्रोत विकास गर्दा स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने मोडेल अपनाउनुपर्नेमा जोड दिनुभयो । “यहाँका जलस्रोतको विकास गर्दा स्थानीय जनतालाई सेयर उपलब्ध गराएर उनीहरूलाई नै सबभन्दा बढी फाइदा हुने व्यवस्था गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
डा.कार्कीले जिल्लामा निर्माण भइरहेका भौतिक पूर्वाधार, विशेषगरी ग्रामीण सडकलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले चतरा–लेगुवा घाट हुँदै अरुण नदीको किनारै किनार किमाथङ्कासम्म र त्यहाँबाट लासासँग जोडिने दक्षिण एसियाकै महत्त्वपूर्ण अन्तर्राष्ट्रिय राजमार्ग निर्माण गर्न सकिने सम्भावनाबारे धारणा राख्नुभयो । “यदि यस्तो अन्तर्राष्ट्रियस्तरको राजमार्ग निर्माण भयो भने सङ्खुवासभा अन्तर्राष्ट्रिय बजार र पर्यटनको केन्द्र बन्न सक्छ,” उहाँले बताउनुभयो ।
मकालु–बरुण संरक्षण क्षेत्रलाई विश्वकै ठुलो पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गर्दै डा. कार्कीले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुग्ने गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय पर्यटक, जैविक विविधता तथा अनुसन्धानमा संलग्न विज्ञहरूलाई आकर्षित गर्न सके जिल्लामात्र होइन, समग्र देशको आर्थिक र सामाजिक विकासमा योगदान पुग्ने उल्लेख गर्नुभयो ।
यसैगरी, उहाँले सङ्खुवासभामा पाइने जडीबुटी र अन्य स्थानीय उत्पादनको व्यावसायिक विकास गरी गाउँ–गाउँमा साना उद्योग स्थापना गर्ने र घर–घरमा रोजगारी सिर्जना गर्ने एमालेको योजना रहेको बताउनुभयो । “स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।
डा.कार्कीले सङ्खुवासभाको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको भन्दै मतदातासँग सहयोग र समर्थनको आग्रह पनि गर्नुभएको छ ।