ललितपुर, २७ माघ । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ललितपुर क्षेत्र २ बाट नेपाली काङ्ग्रेसतर्फबाट उम्मेदवार बनेका प्रेमकृष्ण महर्जनले रुपान्तरित र बदलिएको काङ्ग्रेसप्रति मतदाता आशावादी भएको प्रतिक्रिया दिनुभएको छ । वर्षौँदेखि ललितपुरबासीका लागि काम गरेको बताउनुभएका उहाँले आफूले बहुसंख्यक मतदाताको साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।
“ललितपुर २ का सबै मतदाताहरुको लामो समयदेखि माया पाइरहेको छु । यतिबेला गगन कुमार थापा सभापति बनेपछि नेपालभर जेनजीदेखि ६० वर्षमाथिसम्मका पुस्ता उत्साहित छन् । थापा सभापति भएपछि र उहाँलाई भावी प्रधानमन्त्री घोषणा गरेपछि धेरै मतदाता काङ्ग्रेसपति आशावादी भएको देखेको छु,” उहाँले भन्नुभयो, “हुनतः ३५ वर्षको अवधिमा काङ्ग्रेसले केही नगरेको भन्ने सन्देश गएको छ । तर, त्यस अवधीमा करिब पाँच वर्ष मात्र काङ्ग्रेसले सत्ताको नेतृत्वको गरेको हो । त्यसवाहेक अरुका वर्षहरु अन्य दलहरुले सत्ताको नेतृत्व गरेका हुन् । ललितपुर २ का सन्दर्भमा काङ्ग्रेसले एक पटक मात्र मौका पाएको छ । त्यसबेला चन्द्र महर्जनलाई मतदाताले अवसर दिए । ०४८ सालपछि अधिकांश वर्ष कम्युनिस्टहरुले प्रतिनिधित्व गरेका हुन् । तर, काङ्ग्रेसले आफ्नो जिम्मेवारी पूरा गरेको छ ।”
पछिल्ला वर्षहरुमा नेपालमा आएका वैकल्पिक वा नयाँ पार्टीहरुको सन्दर्भमा काङ्ग्रेस गम्भीर रहेको उहाँले उल्लेख गर्नुभयो । “वैकल्पिक भनिएका दलहरु आउनु स्वाभाविक नै छ । चुनाव गराउनुपर्ने मन्त्री मैदान आउनु अस्वाभाविक भएको मतदाताको भनाइ छ । यसमा जनताले फरक ढङ्गले सोचिरहेका छन्,” उहाँले भन्नुभयो । पुराना पार्टीहरुको अगुवाइमा आएको गणतन्त्र पुरानै पार्टीले जोगाउने उहाँले दाबी गर्नुभयो ।
“बहुदलीय व्यवस्था, गणतन्त्र र हामी सबैलाई बोल्न पाउने अधिकार दिलाउने पुराना पार्टीहरु नै हुन् । इतिहास मतदाताले बिर्सने छैनन् । संविधान जोगाउन वा व्यवस्था जोगाउन पनि मतदाता सचेत छन्,” उहाँले भन्नुभयो ।
ललितपुर २ मा ८९ हजार बढी मतदाता रहेको जानकारी दिँदै उहाँले इमाडोल र टीकाथली क्षेत्रमा खानेपानीको समस्या रहेकाले त्यसको सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो ।
“हामीले यस क्षेत्रभित्र खोला किनारमा रहेका नागरिकहरुको सुरक्षा, नदी व्यवस्थापन, वस्ती व्यवस्थापन गर्नुपर्ने वाध्यता छ । त्यसका लागि म तयार छु,” उहाँले थप भन्नुभयो, “महालक्ष्मी नगरपालिका भित्रको लामाटार क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेर होमस्टेमा काम गर्नुपर्ने छ ।”
महानगरभित्रका नौ वटा वडाका अधिकांश क्षेत्रमा ह्याण्डीक्राफ्ट उद्योगमा धेरै काम गर्नुपर्ने छ । उत्पादित मौलिक र परम्परागत वस्तुहरुको सजह निर्यातमा विशेष भूमिका निर्वाह गर्नुपर्नेछ । मुर्त अमुर्त सम्पदाहरुका लागि विशेष काम गर्न तयार छु ।’
ललितपुरको परम्परागत रातो मच्छिद्रनाथको रथ तान्नका लागि विदेशी पर्यटकहरुलाई पनि अवसर दिनुपर्नेमा उहाँले जोड दिनुभयो । सार्वजनिक खरिद ऐनका कारण ललितपुरबासीले गरिरहेको व्यवसायमा जटिलता निम्ताएकाले त्यसको गाँठो फुकाउन आफूले भूमिका खेल्ने उहाँले बताउनुभयो ।
“यस्ता समस्याहरुको पहिचान गरी समाधानका लागि महानगरका मेयर चिरिबाबु महर्जनले धेरै काम गर्नुभएको छ । त्यसमा हैंसे थप्नका लागि म विजयी भएर आउनेछु,” उहाँले भन्नुभयो ।
नेवारी समुदायले सञ्चालन गरेका गुठीहरुको व्यवस्थापन र संरक्षण गर्न स्थानीयलाई नै अधिकार प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । खोला किनारको समस्या समाधानमा आफूले ०२१ सालको नक्सा फिर्ता गरेर सहजीकरण गरेको दाबी गर्नुभयो ।
नेपाली काङ्ग्रेसको इतिहास गौरवपूर्ण रहेको उल्लेख गर्दै उहाँले आफू १३ वर्षको उमेरदेखि नै समुदायमा अग्रणी भूमिका निर्वाह गरिरहेको दाबी गर्नुभयो ।
“म १२–१३ बर्षको उमेरदेखि समाजमा अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको व्यक्ति हुँ । नेपाली काङ्ग्रेसको सिपाही हुँ । चिल्ड्रेन्ट क्लब खोलेर काम गरेको व्यक्ति हुँ, समाजका लागि केही गरौँ भनेर निरन्तर काम गरिरहेको व्यक्ति हुँ । होचु युवा परिवार बनाएर झैझगडा न्यूनीकरण गर्ने, रथ यात्राका क्रममा हुने विवाद अन्त्यका लागि स्वयंसेवक तयार गरेर सक्रिय गराएको व्यक्ति हुँ । लाभको पद कहिल्यै नलिइ विकासका काममा निरन्तर सक्रिय छु । अन्य धेरै सामाजिक काममा मैले अग्रणी भूमिका निर्वाह गरिरहेकाले मतदाताको सामिप्यतामा बसेर काम गर्ने मौका पाइरहेछु । अब थप जिम्मेवारी पाउनेछु भन्नेमा विश्वस्त छु,” उहाँले भन्नुभयो ।
महर्जनले हालसम्म कुनै किसिमको लाभको पद ग्रहण नगर्दा पनि अग्रणी भूमिका निर्वाह गरिरहेकाले प्रतिनिधि सभा सदस्य निर्वाचनबाट विजयी भएमा थप योगदान गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो । –नेपाल न्युज बैङ्क