काठमाडौँका मतदातालाई ढाँट्न नसकेपछि बालेन झापा झरेका हुन् : ओली

11

झापा, २६ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको जनताले नपत्याउने अवस्था भएपछि बालेन (बालेन्द्र साह) झापातिर आएको बताउनुभएको छ ।

सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उहाँले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाडौँमा जितिसकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैन । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन । त्यहाँ ढाँट्न सकिँदैन । काठमाडौँमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन फेरि लड्नका लागि । किन यहाँ आउनुपर्‍यो । यो कुरा साथीहरुले बुझ्नुभएको छ ।”

यस्तै, उहाँले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्‌भावको कुरा आउने र सामाजिक सद्‌भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेसी र पहाडी भन्ने कुरा सुन्न आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अर्को कुरा मैले कता कता मधेसी–पहाडी भन्ने सुनिरहेको छु । त्यस्तो कुरा गर्नु हुँदैन । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्‌भावको कुरा गर्नुपर्छ, सामाजिक सद्‌भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाउँ, गाउँ, जिल्ला बनाउने हो ।”

देश जातले होइन, विचार, दृष्टिकोण, नीति, योजना, संकल्प र प्रयासले बन्ने पनि उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कुन जातको उम्मेदवार छ भनेर देश बन्दैन । देश बनाउन जातले होइन, विचारले, दृष्टिकोणले, नीति, योजना, संकल्पले र प्रयासले बन्छ । त्यसकारण जातका कुरा गरेर हिँड्नु हुँदैन ।”

Share This:
सम्बन्धित खबर
Loading...