वीरगञ्ज, २६ माघ । वीरगञ्ज भन्सार कार्यालयको राजस्वको हिस्सा पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । कार्यालयले चालु आर्थिक वर्षको प्रथम छ महिनामा एक खर्ब १६ अर्ब ५८ करोड रूपैयाँ राजस्व सङ्कलन गरेको छ । तर, यहाँको राजस्व सङ्कलनको हिस्सा भने पेट्रोलियम पदार्थको आयातबाट मात्रै छ महिनामा ३७ अर्ब ८५ करोड रूपैयाँ सङ्कलन भएको छ ।
दोस्रो धेरै राजस्व सङ्कलन यातायातका साधन र तिनका पार्टपुर्जा आयाबाट भने १३ अर्ब ९८ रूपैयाँ राजस्व सङ्कलन भएको छ । कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले वीरगञ्ज भन्सारको राजस्व पेट्रोलियम पदार्थको आयात र यातायातका साधन र तिनका पार्टपुर्जा आयातबाट प्राप्त हुनेमा निर्भर रहेको बताउनुभयो ।
चालु आवको छ महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट छ अर्ब ८३ करोड रूपैयाँ, कपडा आयातबाट पाँच अर्ब २६ करोड रूपैयाँ, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जाबाट चार अर्ब ९१ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै, मदिराजन्य पेयपदार्थको आयातबाट भने एक अर्ब ८३ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ । शृङ्गारको सामानबाट एक अर्ब ८१ करोड रूपैयाँ राजस्व उठेको छ ।