काङ्ग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छ : उपसभापति शर्मा

13

ललितपुर, २३ माघ । नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले हरेक कालखण्डमा काङ्ग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति ललितपुरद्वारा आज यहाँ आयोजित निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले देशमा उत्पन्न विषम परिस्थितिका कारण दुई वर्षअगावै निर्वाचन हुन गइरहेकाले देशको हितमा समन्वय र सहकार्य गर्ने काम नेपाली कांग्रेसले गर्न सक्ने बताउनुभयो ।

“समाजलाई गाँस्न सक्ने समावेशी राजनीति बिपी कोइरालाले गर्नुभएको थियो, गिरिजाप्रसाद कोइरालाले द्वन्द्वको निवारण गर्दै माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनुभएको थियो,” उहाँले भन्नुभयो, “काङ्ग्रेस जिम्मेवार राजनीतिक दल भएकाले विगतमा भएको कमजोरी सुधार गर्दै गालीको राजनीति बन्द गरी बदलिएको परिवेशअनुसार समृद्धि र समुन्नतिको लक्ष्यमा अगाडि बढ्ने छ ।”

उहाँले जेनजी आन्दोलनको अपेक्षालाई सम्बोधन गर्दै मानिस–मानिसबीचको विश्वास कायम गर्न र देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै नेपाली समाजलाई गाँस्न सक्ने नेतृत्व नेपाली काङ्ग्रेससँग भएको उल्लेख गर्नुभयो ।

नेपाली काङ्ग्रेसका अग्रज नेता एवम् केन्द्रीय सदस्य ओमकारप्रसाद श्रेष्ठले आफूले ७० वर्ष योगदान गरेको नेपाली काङ्ग्रेसले समयको मागअनुसार आवाजलाई सम्बोधन गर्ने बताउँदै आठ लाखभन्दा बढीको सङ्ख्यामा रहेका क्रियाशील सदस्यहरुले नेपाली काङ्ग्रेसको नीतिअनुसार देशलाई अगाडि बढाउन आगामी निर्वाचनमा बहुमत ल्याउनेगरी सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

काङ्ग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर १ का उम्मेदवार उदयशम्शेर राणाले जेनजी आन्दोलनले नेपालीहरूको सोचाइमा परिवर्तन ल्याएकाले त्यही सोचअनुसार नेपाली काङ्ग्रेस पनि बदलिएको बताउनुभयो । अब देशको आर्थिक, सामाजिक रुपान्तरण, आमनागरिकको जनजीविकामा सुधार ल्याउँदै आर्थिक समृद्धि हासिल गर्न, सुशासन कायम गर्न पार्टीले बहुमत हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काङ्ग्रेसकातर्फबाट क्षेत्र नम्बर २ का उम्मेदवार प्रेमकृष्ण महर्जनले नेपाली काङ्ग्रेसको नेतृत्व र कार्यशैली बदलिएको बताउँदै देशको परिवर्तनका लागि जिम्मेवारीबोध गर्दै एकताबद्ध भएर २०४८, २०५६ र २०७० सालमा जस्तै बहुमत हासिल गर्न क्रियाशील भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...