नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो : प्रचण्ड

18

काठमाडौँ, २३ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिस्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गर्नुभएको छ ।

नेपाली कम्युनिस्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उहाँले नेकपा (एमाले)का महत्त्वपूर्ण नेताहरू पार्टीमा समायोजन भएको उल्लेख गर्नुभयो । समायोजन भएर आएका नेताहरूले एमाले किन छाडे भन्ने विषयमा आफ्ना धारणा प्रस्तुत गर्दा केपी शर्मा ओलीप्रति केही आग्रह–पूर्वाग्रह देखिएको टिप्पणी गरे ।

प्रचण्डले भन्नुभयो, “समायोजन भएर आउनुभएका नेताहरूले केपी ओली के हो र देशलाई कहाँ लैजान खोज्दै छन् भन्ने विषयमा धारणा राख्नुभयो । त्यसमा केही आग्रह र पूर्वाग्रह देखिएको छ ।” उहाँले आफूले सधैँ ‘स्वर्ग र नर्क’ को प्रसंग उठाउँदै आएको पनि स्मरण गराउनुभयो ।

उहाँले नेपाली कम्युनिस्ट पार्टी देशको असाधारण राजनीतिक परिस्थितिमा विशेष पहलका साथ अगाडि बढाइएको पार्टी भएको बताउनुभयो । “सबै वामपन्थी कम्युनिस्ट र समाजवादी शक्तिलाई एकताबद्ध गर्दै राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्यका साथ गहिरो आत्मसमीक्षा र संकल्पबाट यो पार्टी निर्माण गरिएको हो,” उहाँले भन्नुभयो ।

साथै, पछिल्लो समय सामाजिक सञ्जालमा ‘नयाँ’ भन्दै गरिएको हल्लाप्रति संकेत गर्दै प्रचण्डले नेपालमा आफूहरूभन्दा नयाँ शक्ति कोही नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “आजभोलि नयाँ नयाँ भनेर सोसल मिडियाभरि निकै नै होहल्ला गरिएको छ । नेपालमा हामीभन्दा नयाँ कोही पनि छैन । नेपाली कम्युनिस्ट पार्टी मात्रै नयाँ हो । नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो । किनकी यो गणतन्त्रको बाहक हो । संघीयताको बाहक हो ।”

Share This:
सम्बन्धित खबर
Loading...