कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव [भिडिओ]

12
  • मनिषा बस्नेत

काठमाडौँ, २३ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाफ’ चुनावचिन्ह लिएर प्रचारप्रसारमा व्यस्त छ ।

नेकपा माओवादीले प्रचारप्रसार, जनपरिचालन र आफ्ना वैचारिक प्रस्तावहरू जनतामाझ पुर्‍याउने अभियान तीव्र बनाएको हो । माओवादीका महासचिव विप्लवका अनुसार माघ ६ गतेपछि नै चुनावी गतिविधि औपचारिक रूपमा सुरु भइसकेको बताउनुभयो ।

विप्लवले भन्नुभयो, “हामीले प्रचारप्रसार, जनपरिचालन र हाम्रा विषय तथा प्रस्तावहरू जनतामा सम्प्रेषण गर्ने काम सुरू गरिसकेका छौँ । यो निर्वाचनलाई हामीले केवल चुनावका रूपमा मात्र होइन, जनताका मुद्दा उठाउने माध्यमका रूपमा लिएका छौँ।”

सडक आन्दोलन, वैचारिक संघर्ष र वैकल्पिक राजनीतिक धारबाट चिनिएका विप्लव संसदीय व्यवस्थाप्रति कडारुपले आलोचना गर्दै आइरहनुभएको थियो । लामो समयदेखि संसदीय प्रणालीको आलोचना गर्दै आएको माओवादी अहिले निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण स्पष्ट भएको विप्लव बताउनुहुन्छ ।

“संसदीय व्यवस्था सही छ भनेर स्वीकार गर्दै पार्टी निर्वाचनमा गएको होइन,” उहाँले भन्नुभयो, “हामीले संसदीय व्यवस्था गलत छ र यसलाई जनताको व्यवस्थामा बदल्नको लागि संसद्‌बाट जनताका मागहरू, मुद्दाहरू उठाउनका लागि हामी सहभागी बन्दैछौँ ।”

निर्वाचन घोषणापत्र लगभग तयार भइसकेको र हाल अध्ययन तथा अन्तिम छलफलको चरणमा रहेको उहाँले बताउनुभयो । घोषणापत्रमा शासकीय स्वरूप, प्रतिनिधिसभाको भूमिका, आर्थिक प्रणाली, समाज र राज्यको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरण, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय समेटिएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “खासगरी शासकीय स्वरूप अनि प्रतिनिधि सभाको विशेषता, आर्थिक प्रणाली, समाज, राज्य, त्यसको अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यावरण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै विषयहरूलाई त्यहाँ समेटेर प्रस्तुत गरेका छौँ ।”

माओवादीको मुख्य उद्देश्य संसदीय व्यवस्थालाई सुधार मात्र होइन, समाजवादी व्यवस्थामा रूपान्तरण गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो ।

“शक्तिअनुसार संसद्‌ बदल्ने हो । सुधार पनि गर्ने हो, तर मुख्यतः हाम्रो उद्देश्य संसदीय व्यवस्थालाई समाजवादी व्यवस्थामा बदल्नुपर्छ, रूपान्तरण गर्नुपर्छ भन्ने प्रस्ताव छ । त्यो कुरा हामी संसद्‌मा पनि राख्छौँ,” उहाँको भनाइ छ ।

पार्टीको चुनाव चिन्ह ‘गुलाफ’लाई लिएर समाजमा देखिएको चासोबारे उहाँले फरक ढंगले व्याख्या गर्नुभयो । “एउटा गीत नै छ नि, फुलको आँखामा फुलै संसार, गुलाब पनि शान्तिको प्रतीक हो, प्रेमको प्रतीक पनि हो । यो रातो छ, क्रान्तिको प्रतीक पनि हो,” उहाँले अगाडि भन्नुभयो, “यो भित्र धेरै अर्थहरू छन्, तर मुख्यतः गुलाब भनेको अहिले एउटा जनताको भावना, देशको आवश्यकतासँग जोडिएको चिन्ह बनेको छ ।”

विप्लवले घर–घरमा गुलाफ चुनाव चिन्ह लिएर जाँदा सकारात्मक प्रतिक्रिया पाइरहेको अनुभव पनि सुनाउनुभयो ।

नेकपा माओवादी र पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वबीच एकता हुने–नहुने विषय पछिल्लो समय राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा रह्यो । समाजवादी मोर्चामार्फत लामो समय छलफल र गृहकार्य भए पनि अन्ततः दुवै पक्षबिच तत्काल एकता सम्भव नहुने निष्कर्षमा समेत पुग्नुभयो ।

प्रचण्डले नेतृत्व गरिरहेका पाटीबिच एकता हुने–नहुने विषयमा चलेका चर्चाबारे पनि विप्लवले खुलेर बोल्नुभयो । उहाँका अनुसार केही सैद्धान्तिक र वैचारिक विषय नमिलेका कारण तत्काल एकता सम्भव नभएको हो ।

नेपाली कम्युनिस्ट पार्टीसँग एकतागर्ने सन्दर्भमा प्रारम्भमा भएका छलफलहरु र अजेन्डाबारे प्रचण्ड पछि हटेपछि अहिले एकता हुन नसकेको सुनाउनुभयो ।

“मामार्क्सवाद, लेनिनवाद, माओवाद, आर्थिक नीति, जीवनशैली, संस्कार, आन्दोलनको शैली र संगठनात्मक प्रणालीजस्ता विषयमा हाम्रो मत मिलेन,” उहाँले भन्नुभयो । उहाँले अहिलेको कम्युनिस्ट अभ्यासलाई ‘चुनाव जित्न मान्छे थुपार्ने’ मात्र भएको आरोप पनि लगाउनुभयो ।

“कम्युनिस्ट पार्टीहरुको संगठनात्मक ढाँचा हेर्दा पार्टीको कुनै मूल्य मान्यता पनि नभइ केवल मान्छे थुपार्ने र चुनाव जित्नका लागि प्रयास गर्ने जस्तो मात्रै देखिन्छ । त्यो एकता खास एकता जस्तो पनि छैन, त्यसैले हामीले हतार गरेनौँ । विषयहरूलाई राम्रोसँग पार लगाएर गरौँ भन्ने हाम्रो कुरा हो,” उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले एकताको विषय नसकिए पनि अहिले तुरुन्तै यो चुनावसम्म सम्भव नभएको बताउनुभयो । वर्तमान सरकारको कार्यशैलीप्रति महासचिव विप्लवले कडा टिप्पणी गर्नुभयो ।

“‘नेपालमा सरकार छ कि छैन भन्ने जस्तो अवस्था छ । एकप्रकारले यो ‘कुसको पण्डित’जस्तो हो । जनताले सरकार भएको अनुभूति नै गरेका छैनन्,” उहाँले भन्नुभयो ।

उहाँले निष्पक्ष निर्वाचन हुने–नहुने विषयमा पनि नागरिकमा गहिरो चिन्ता रहेको बताउनुभयो । “चुनावै पनि निष्पक्ष हुन्छ कि हुन्न भन्ने मामिलामा नागरिकहरूमा ठुलो चिन्ता छ,” उहाँले भन्नुभयो ।

माओवादीले परिकल्पना गरेको नेपाल स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर हुने उहाँको दाबी छ । “युवाले रोजगारी पाउने, सबैले शिक्षा र स्वास्थ्य पाउने, खुसीसाथ बाँच्न सक्ने नयाँ समाज र राज्य हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

उहाँले नेपाली जनतालाई विगत १२ वर्षको संघर्ष स्मरण गर्न आग्रह गर्नुभयो । “हामी जेल बस्यौँ, प्रतिबन्ध झेल्यौँ, घाइते भयौँ, सहिद भयौँ । यो सबै देश र जनताका लागि हो,” उहाँले भन्नुभयो ।

उहाँले आसन्न निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारलाई माया मात्र होइन, जिम्मेवारी पनि दिन मतदातासँग अपिल गर्दै जनताको विश्वास बोकेर देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...