खाँदबारी, २३ माघ । देशका अन्य निर्वाचन क्षेत्रमा जस्तै सङ्खुवासभामा औपचारिक चुनावी अभियान सुरू नभएता पनि उम्मेदवारहरुले मतदाताको घर दैलोमा भेटघाट तीव्र परेका छन् ।
प्रारम्भिक विवरणअनुसार आगामी फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा (एमाले), नेपाली काङ्ग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।
सङ्खुवासभामा यस पटक नयाँ अनुहार प्रतिस्पर्धामा छन् । एमालेबाट डा.अर्जुन कार्की, काङ्ग्रेसबाट दीपन कुमार श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिङ्मा शेर्पा, नेपाली कम्युनिस्ट पार्टीबाट सरिता खड्काबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
डा.अर्जुन कार्की (एमाले)
नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका डा.कार्की नेपालका अनुभवी कूटनीतिज्ञ, विकास चिन्तक तथा लोकतान्त्रिक अभियन्ता हुनुहुन्छ । सङ्खुवासभामा जन्मे हुर्केका उहाँले तीन दशकभन्दा बढी समयदेखि गरिबी निवारण, सामाजिक न्याय, लोकतन्त्र, मानव अधिकार र दिगो विकासका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
डा.कार्कीले नेपाल सरकारको तर्फबाट संयुक्त राज्य अमेरिका तथा ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रका विभिन्न देशहरूमा राजदूतका रूपमा सेवा गर्दै नेपालको सार्वभौमिकता, कूटनीतिक सम्बन्ध र राष्ट्रिय हित प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान दिनुभएको छ ।
साथै राष्ट्रिय विकास परिषद्को सदस्य रहिसकेका उहाँले सन् २००६ मा नेपालमा लोकतन्त्र पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय स्तरमा सक्रिय पैरवी गर्नुभएको थियो ।
गरिबी, असमानता, भूमि अधिकार, कृषि सुधार, सामाजिक समावेशीकरण तथा शान्ति निर्माणका विषयमा उहाँले सशक्त आवाज उठाउँदै आउनुभएको छ । संयुक्त राष्ट्रसङ्घ, विश्व बैङ्क, युरोपियन युनियनलगायतका बहुपक्षीय मञ्चहरूमा अल्पविकसित तथा विकासशील देशहरूको पक्षमा स्पष्ट र दृढ नेतृत्व प्रदान गर्नुभएका डा.कार्कीले अब सङ्खुवासभाका जनताको विकास र समृद्धिको चाहना सङ्घीय संसदमा गुञ्जाउन चाहेको बताउनुभयो । “म बाँकी जीवन आफू जन्मिएको थलो र मुलुकको विकासका लागि समर्पण गर्न चाहन्छु,” उहाँले भन्नुभयो ।
दिपन कुमार श्रेष्ठ (नेपाली काङ्ग्रेस)
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सङ्खुवासभाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दीपन कुमार श्रेष्ठ विद्यार्थी आन्दोलनबाट राजनीतिमा जोडिनुभएको हो । २०५३ मा नेविसङ्घको जिल्ला अध्यक्ष बन्नुभएका उहाँ ०७३ मा काङ्ग्रेस जिल्ला सभापति हुँदै २०८२ मा पार्टीको केन्द्रीय सदस्यसम्म बन्नुभयो ।
जिल्लाका सामाजिक सङ्घसंस्थामा निरन्तर सक्रिय रहँदै उहाँले स्थानीय विकास योजनामा जनस्तरमा काम गरेकाले पनि आफू जनताको छनोटमा पर्ने आशा व्यक्त गर्नुभयो ।
सरिता थापा खडका (नेकपा)
०४६ सालको प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलनमा अनेरास्ववियु सदस्यको रुपमा सक्रिय सहभागी रहनुभएकी सरिता थापा खड्काले २०४९ सालमा पार्टी सदस्यता लिनुभयो । ०५८ सालदेखि सङ्खुवासभा जिल्लामा शिक्षण पेशासँगै नेपाल राष्ट्रिय शिक्षक संगठनमा आबद्ध भइ पेशागत हकहितका लागि आवाज उठाउँदै आउनुभयो ।
२०६२/६३ सालको जनआन्दोलनमा उहाँले सक्रिय सहभागिता जनाउनुभएको थियो । उहाँले महिला हक, हित र अधिकारका लागि अनेमसङ्घ जिल्ला समितिमा रही निरन्तर संघर्ष गर्दै आउनुभएको छ । २०६७ सालदेखि दुई कार्यकालसम्म नेकपा (एमाले) जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हाल्नुभएको थियो।
०६७ मा श्रीमान् डम्बर खड्काको निधनपछि शिक्षण पेशा त्यागेर राजनीतिमा पूर्ण रूपमा सहभागी हुनुभएकी उहाँ प्रदेश सभा सदस्यका रूपमा निर्वाचित हुनुभयो ।
साविक नेकपा (एस) प्रदेश अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य रहनुभएकी खड्का आफ्नो अनुभव, इमानदारी र जनताको विश्वासका कारण नेपाली कम्युनिस्ट पार्टीले आफूलाई प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ महिला उम्मेदवारका रूपमा प्रस्तुत गरेको बताउनुहुन्छ ।
मिङ्मा शेर्पा (रास्वपा)
सङ्खुवासभाका विश्वप्रसिद्ध पर्वतारोही तथा पर्यटन उद्यमी मिङ्मा शेर्पाले ८ हजार मिटरभन्दा माथिका सबै १४ शिखर आरोहण गरेर इतिहास रच्नुभएको छ ।
पर्वतारोहणवाहेक मिङ्मा शेर्पा नेपालका साहसिक पर्यटन उद्योगका अग्रणी व्यक्तित्व पनि हुनुहुन्छ । ‘सेभेन समिट ट्रेक्स’ लगायत विभिन्न कम्पनी स्थापना गर्नुभएका उहाँ प्रत्यक्ष राजनीतिमा होमिएको भने यो पहिलो पटक हो । जनताले परिवर्तन चाहेकाले आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइ प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेवार भएको उहाँले बताउनुभयो ।
सुशासन र विकास मुख्य मुद्दा
चुनावी मैदानमा रहेका यहाँका सबै उम्मेदवारले सुशासन, विकास, पर्यटन प्रवर्द्धन र कृषिमा लगानीलगायतका मुख्य मुद्दा बनाएका छन् ।
काङ्ग्रेसका श्रेष्ठले सुशासनका कारण वा भ्रष्टाचारमुक्त समाजका कारण मात्र मुलुकमा परिवर्तन हुने दाबी गर्नुहुन्छ । एमालेका डा.कार्कीले नेपाल र नेपालीको सुख एवम् समृद्धिका लागि प्रशस्त काम गर्न सकिने बताउनुभयो ।
शेर्पाले भने सङ्खुवासभाको पर्यटन प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रतिवद्धता जनाउनुभएको छ भने नेकपाकी सरिता खड्काले प्राकृतिक स्रोत साधनले भरिपूर्ण सङ्खुवासभा भए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अझै २१ प्रतिशत जिल्लाबासी गरिबीको रेखामुनि रहेको औँल्याउँदै सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणमा आफ्नो भूमिका रहने दाबी गर्नुभयो ।
रोचक प्रतिस्पर्धा
एक लाख १९ हजार ६३० मतदाता रहेको सङ्खुवासभामा १०९ मतदानस्थल र १६४ मतदान केन्द्र छन् । यस पटक तीन महिलासहित १६ जना चुनावी मैदानमा छन् । जसमा १५ दल र एक स्वतन्त्र उम्मेदवार छन् ।
यसअघिका निर्वाचनहरु एमाले र काङ्ग्रेसका उम्मेदवारले नै बाजी मार्दै आए पनि यस पटक फरक प्रतिस्पर्धा हुने देखिएको छ । ०७९ को निर्वाचनमा काङ्ग्रेसका दीपक खड्का निर्वाचित हुनुभएको थियो भने नेकपा (एमाले)का नेता राजेन्द्रप्रसाद गौतम पराजित हुनुभएको थियो ।
०७० को चुनावमा तत्कालीन क्षेत्र नम्बर २ मा खड्काले गौतमलाई हराउनुभएको थियो । तर, गौतमले त्यसको बदला २०७४ को चुनावमा लिनुभएको थियो । तर, यस पटकको प्रतिस्पर्धा भिन्न बनेको छ । गौतम र खड्का चुनावी दौडमा छैनन् ।
केन्द्रबिन्दुमा एमालेका उम्मेदवार डा.कार्की देखिनुभएको छ । अन्तर्राष्ट्रिय ख्याती कमाएको र जिल्लामा निरन्तर सामाजिक सेवा र विभिन्न विकास निर्माणका कामहरु गरेकाले उहाँलाई मतदाताले नजिकबाट नियालिरहेका छन् ।