देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य [भिडिओ]

30
  • सन्तोषी रावल

काठमाडौँ, २२ माघ । देशलाई निकासा दिनकै लागि भए पनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताउनुभएको छ । उहाँले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चुनाव नै रहेको बताउनुभयो ।

नेपाल न्युज बैङ्कको विषेश कुराकानीमा बोल्दै उहाँले भन्नुभयो, “यदि चुनाव भएन भने, अप्ठ्यारो हुन्छ । अस्थिरता सिर्जना हुन्छ, गणतन्त्रमाथि प्रश्न आउँछ, संविधानमाथि प्रश्न खडा हुन्छ । त्यसैले हामीले चुनाव कुनै पनि हालतमा फागुन २१ गते सम्पन्न गर्नैपर्छ ।”

शाक्यले वर्तमान सरकार सफल हुने हो भने पनि चुनाव गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले यो सरकारलाई निर्वाचन सम्पन्न, कुशल ढङ्गले व्यवस्थापन गरेर र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्‍यो भने सरकारले जस लिने पनि बताउनुभयो ।

उहाँले चुनावमा नेताहरु प्रचार प्रसारमा खटिसकेको तर अजेन्डाहरु अगाडि नबढाएकोमा समस्या भएको बताउनुभयो । एमालेकी पूर्वउपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्यले लोकतान्त्रिक मुलुकका लागि निर्वाचन अपरिहार्य भएको बताउनुभयो ।

आफू सामाजिक अभियानसँगै महिला सशक्तीकरणमा लामो समयदेखि क्रियाशील रहेको उल्लेख गर्दै शाक्यले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान दिएका आठजना महिलालाई सम्मान गर्दै आएको बताउनुभयो ।

नेपाली महिलाको क्षमता, नेतृत्व र योगदानलाई विश्वस्तरमा चिनाउने उद्देश्यले भिडिओ सामग्री पनि निर्माण गर्दै आएको उल्लेख गर्दै उहाँले महिलाहरू परिवर्तनका संवाहक र कुशल नेतृत्वकर्ता भएको धारणा राख्नुभयो ।

उहाँले पछिल्लो समय देखिएको नवयुवा आन्दोलनलाई आन्दोलन मात्र नभइ लामो समयको तयारीसहितको घुसपैठको रूपमा व्याख्या गर्नुभयो । उक्त गतिविधिले देशलाई अस्तव्यस्त बनाएको, संविधानमाथि प्रश्न उठाएको र राजनीतिक अस्थिरता निम्त्याएको उहाँको भनाइ थियो ।

वर्तमान सरकार महिला नेतृत्वमा बनेको उल्लेख गर्दै शाक्यले निर्वाचन गराउने जिम्मेवारीसहित गठन भएको सरकारले तयारीका साथ काम गरिरहेको भन्दै सकारात्मक मूल्याङ्कन गर्नुभयो ।

शाक्यले निर्वाचन कुशल व्यवस्थापनका साथ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सके सरकारको महत्त्वपूर्ण उपलब्धि हुने बताउनुभयो । उहाँका अनुसार अहिले सबै राजनीतिक दल निर्वाचनमा होमिइसकेका छन्, तर घोषणापत्र ढिलो आउनु कमजोरी हो । “घोषणापत्रमार्फत देश बनाउने दृष्टिकोण, सुशासन, समृद्धि र संसदीय अभ्यासको स्पष्ट खाका आउनुपर्छ,” उहाँले भन्नुभयो ।

लोकतन्त्रमा नयाँ दल आउनु स्वाभाविक भए पनि पुराना दलको इतिहास, त्याग र बलिदानलाई बेवास्ता गर्न नहुने शाक्यको भनाइ छ । निरङ्कुश शासन, पञ्चायत र राणा शासनविरुद्धको आन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न पूराना दलहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले नयाँ र पुराना शक्तिबिच सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो ।

संविधान समावेशी भएको उल्लेख गर्दै शाक्यले दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सबै समुदायलाई राज्यको निर्णय प्रक्रियामा स्थान दिएको बताउनुभयो । संविधान सभाकी सदस्यसमेत भइसकेकी शाक्यले संविधानमा केही परिमार्जन आवश्यक हुनसक्ने भए पनि समग्रमा यो नेपाली विविधतालाई समेट्ने उत्कृष्ट दस्तावेज भएको बताउनुभयो ।

नेकपा (एमाले)को लामो राजनीतिक यात्रालाई स्मरण गर्दै उहाँले आफू ०३६ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर भूमिगत जीवन बिताएको अनुभव साझा गर्नुभयो ।

पार्टीभित्र वैचारिक छलफल कमजोर हुँदा गुट जन्मिने पुष्पलालको चेतावनी स्मरण गर्दै उहाँले नेतृत्वको हृदय फराकिलो हुनुपर्ने र सबैलाई समेट्न सक्नुपर्नेमा जोड दिनुभयो ।

महिला सहभागिताका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै शाक्यले ३३ प्रतिशत महिला प्रतिनिधित्व नेतृत्व तहबाटै चुनौतीमा परेको बताउनुभयो ।

“महिला मेरो मान्छे नभएको कारण टिकटबाट वञ्चित हुनु संविधानमाथिकै चुनौती हो,” उहाँले भन्नुभयो । महिला विभागको नेतृत्वमा रहेर ३३ प्रतिशत प्रतिनिधित्व संविधानसम्म पुर्‍याउन भूमिका खेलेको स्मरण गर्दै उहाँले अहिलेको अवस्था गलत सन्देश जाने खालको रहेको र तत्काल सुधार आवश्यक रहेको बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...