‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन, भावनाहरूको कथा हो : समिर श्रेष्ठ

1
  • आकाङ्क्षा धामी

काठमाडौँ, २१ माघ । लोकप्रिय गायक समिर श्रेष्ठ अब नेपाली फिल्म क्षेत्रमा पनि देखिँदै छन् । यही माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘रमिताको पिरती’ मार्फत उहाँले अभिनयमा डेब्यु गर्नुभएको हो । गीत–सङ्गीतमा स्थापित हुँदै आउनुभएका समिरका लागि यो फिल्म नयाँ यात्रा र नयाँ अनुभव बनेको छ ।

नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा समिरले पछिल्लो समय आफू अभिनय र सङ्गीत दुवैमा व्यस्त रहेको बताउनुभयो । गायनबाट चिनिनुभएका उहाँ अभिनयमा आउँदा कस्तो अनुभूति भइरहेको छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “राम्रै फिल भइरहेको छ । ‘म अभिनयमा पनि आएँ’ भन्ने अनुभूति गर्न पाउँदा म खुसी छु ।”

फिल्म ‘रमिताको पिरती’ कस्तो खालको कथा बोकेको छ ? दर्शकले किन हेर्नुपर्छ ? भन्ने प्रश्नमा समिर भन्नुहुन्छ, “यो फिल्म एउटा यस्तो इमोसनमा आधारित छ, जुन हामी सबैले जीवनमा कहीँ न कहीँ महसुस गरेका हुन्छौँ तर प्रायः त्यसबाट भाग्न खोज्छौँ । त्यही इमोसनलाई सामना गर्न सिकाउने कथा हो यो ।”

उहाँका अनुसार ‘रमिताको पिरती’ फिमेल–सेन्ट्रिक फिल्म हो, जसले एउटी महिलाको भित्री यात्रा, भावनालाई प्रस्तुत गर्छ । “यो लभ स्टोरी मात्र होइन, एउटा इमोशनल रोलर–कोस्टर (भावनाको तीव्र उतार–चढाव) हो,” उहाँले थप्नुभयो ।

गायनमा स्थापित भइरहँदा अभिनयमा प्रवेश गरेका समिरले फिल्मप्रतिको पुरानै रुचि रहेको बताउनुभयो । “म पहिलेदेखि नै फिल्ममा आउन चाहन्थेँ । आफ्नै गीतका म्युजिक भिडिओमा अभिनय गर्दै आएको थिएँ । ‘रमिताको पिरती’ मा पनि सङ्गीतकै सिलसिलामा कुरा हुँदै जाँदा जोडिन पुगेँ,” उहाँले भन्नुभयो ।

आफ्नै गीतका म्युजिक भिडिओमा र फिल्ममा अभिनय गर्नुबिच ठुलो फरक रहेको समिरको अनुभव छ । “म्युजिक भिडिओमा कन्टिन्युटी त्यति महत्त्वपूर्ण हुँदैन । तर, फिल्ममा एउटै इमोसनलाई लामो समयसम्म बोकेर जानुपर्छ । साना–साना डिटेलले पनि ठुलो अर्थ राख्दो रहेछ,” उहाँले अनुभव सुनाउनुभयो ।

‘रमिताको पिरती’मा समिरको भूमिका मुख्य पात्रलाई भावनात्मक रूपमा सहयोग गर्ने सहायक पात्रको रहेको छ । “लिड क्यारेक्टर अगाडि बढ्दा म पछाडिबाट इमोसनल सपोर्ट गर्ने भूमिकामा छु,” उहाँ भन्नुहुन्छ ।

चुनौतीको कुरा गर्दा समिरका लागि सङ्गीत क्षेत्र नै बढी चुनौतीपूर्ण रह्यो । “सबैको यात्रा फरक हुन्छ । मेरो केसमा सङ्गीतमा नै बढी संघर्ष गर्नुप¥यो, किनकि म यहीँबाट आएको हुँ,” उहाँले भन्नुभयो ।

पारिवारिक पृष्ठभूमि संगीतसँग जोडिएको नभए पनि आफ्नै रुचि र भावनाले सङ्गीतमा ल्याएको समिर बताउनुहुन्छ । उहाँलाई चिनाउने पहिलो गीत ‘चार दिवस’ भए पनि ‘थामन हात’ ले व्यापक चर्चा पाएको थियो । उहाँका ‘थामन हात’, ‘जे छौ तिमी’, ‘हेर न’, ‘मेरो मनमा’ लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् ।

फिल्मकै गीत ‘तिमी भए काफी’ अहिले सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा निकै लोकप्रिय छ । “यो गीत मैले आफ्नै इमोसनबाट बनाएको हुँ । म जे महसुस गर्छु, त्यही सङ्गीतमा उतार्न खोज्छु,” समिरले भन्नुभयो ।

‘एड्स सम कलर्स’ ट्रेन्डबारे उहाँ भन्नुहुन्छ, “यो गीतको भाइब नै रङ्गीन छ । मानिसहरूले आफ्ना जीवनका रङ्गीन पाटो देखाएर यो ट्रेन्ड बनाइरहनुभएको छ ।”

फिल्ममा आना शर्मासँग काम गर्न पाउँदा आफूले धेरै सिकेको समिर बताउँछन् । “म डेब्यु एक्टर भएकाले केही दृश्य बुझ्न गाह्रो हुन्थ्यो । उहाँले धेरै गाइड गर्नुभयो । एकदमै राम्रो अनुभव रह्यो,” उहाँले भन्नुभयो ।

गायन र अभिनय दुवैलाई सँगै लैजाने योजना रहेको समिर बताउनुहुन्छ । “दुवैको मूल कुरा क्रिएटिभिटी हो । त्यसैले सँगसँगै अघि बढ्न सहज हुन्छ,” उहाँले भन्नुभयो ।

कलाकारिता क्षेत्रमा भविष्य देख्नुहुन्छ ? भन्ने प्रश्नमा उहाँ स्पष्ट हुनुहुन्छ, “म प्यासनले यो क्षेत्रमा आएको हुँ । त्यसैले भविष्य देख्छु ।” विदेश जाने योजना भने तत्काल नरहेको बताउँदै उहाँले भन्नुभयो, “बरु नेपाली सङ्गीत लिएर विदेश–विदेशमा टुर गर्दै जान्छु ।”

फिल्म ‘रमिताको पिरती’ यही माघ २३ गते (फेब्रुअरी ६) देखि प्रदर्शनमा आउँदै छ । ‘त्यो दिन व्यस्त हुनुहुन्छ भने पनि यो फिल्मका लागि समय छुटाइदिनुहोला,’ समिरको आग्रह छ ।

‘रमिताको पिरती’ कुनै साधारण प्रेमकथा होइन। यो त्यस्ता भावनाहरूको कथा हो, जुन हामी सबैले जीवनमा कहिल्यै न कहिल्यै महसुस गरेका हुन्छौँ, तर सामना गर्न डराउँछौँ । समिरका शब्दमा, ‘यो फिल्मले हामी भाग्न खोजेका इमोसनलाई फेस गर्न सिकाउँछ ।’

फिमेल–सेन्ट्रिक कथावस्तुमा आधारित यो फिल्मले एउटी महिलाको भित्री यात्रा, उसका मौन पीडा र भावनात्मक उतार–चढावलाई पर्दामा उतार्छ । प्रेमभन्दा पनि जीवनका गहिरा अनुभूतिहरूको चित्रण यस फिल्मको मूल आत्मा हो । त्यसैले यो फिल्म प्रेमकथाभन्दा पर, एउटा इमोशनल रोलर–कोस्टर (भावनाको तीव्र उतार–चढाव) बनेर दर्शकमाझ आउनेछ । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...