काठमाडौँ, २१ माघ । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शङ्कर थापा स्माइलको सङ्गीत र राजेन्द्र वाइवाको सङ्गीत संयोजन रहेको गीतको भिडिओ सार्वजनिक भएको हो ।
निकेश खडकाको निर्देशन रहेको गीतको भिडिओमा सागर दाहाल र स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । भिडिओमा गायक रामकृष्ण र गायिका सुशीलालाई पनि देख्न सकिन्छ ।
सुदीप दाहालको पोष्ट प्रोडक्सन र सुशीलाकै निर्माण रहेको सार्वजनिक गीतको भिडिओमा उत्सव दाहालको छायाङ्कन र विकास धमलाको सम्पादन छ । गीतको शब्द रचना जति राम्रो छ भिडिओ पनि त्यतिकै सशक्त बनेको छ ।
प्रेमील यस गीतमा आफूले मन पराएको मान्छेसँग सधै साथ रहँदा मन रमाउने भाव व्यक्त गरिएको छ । शब्द रचना, स्वर, सङ्गीत र उत्कृष्ट भिडिओ छायाङ्कन भएको यो गीत सार्वजनिक भएसँगै धेरै श्रोतारदर्शकले मन पराइरहेका छन् ।
अमेरिकाको बोस्टन निवासी गायिका सुशीला नेपाल बाहिर भए पनि गीत संगीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ । गीतको भिडिओ सुशीला बस्नेत तिमिल्सिनाको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
सुशीला बस्नेतका यसअघि ‘राधा कृष्ण, तिम्रो मायाको, मेरी माँ’, ‘तीज आयो साथी सँगी’ जस्ता गीतहरू धेरै मन पराइएका छन् ।