- आकाङ्क्षा धामी
काठमाडौँ, २१ माघ । लामो समयदेखि श्रमजीवी पत्रकारको हक–अधिकार, पेशागत सुरक्षा र श्रम शोषणविरुद्ध आवाज उठाउँदै आउनुभएका पत्रकार तथा श्रम अभियन्ता जन्मदेव जैसी प्रत्यक्ष राजनीतिमा होमिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनले भक्तपुर क्षेत्र नम्बर २ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
उम्मेदवारी दर्तापछि उहाँ यतिबेला मतदातामाझ घरदैलो अभियानमा व्यस्त हुनुहुन्छ । पत्रकारिता र श्रम आन्दोलनबाट संसदीय राजनीतिमा प्रवेश गर्नुको कारणबारे नेपाल न्युज बैङ्कसँगको विशेष कुराकानीमा जैसीले कानुन निर्माणको थलोमै पुगेर आवाज उठाउनु आवश्यक भएको बताउनुभयो ।
“पत्रकारिता क्षेत्रमा रहँदा अनियमितता, अराजकता र श्रम शोषणविरुद्ध निरन्तर आवाज उठाएँ,” उहाँले भन्नुभयो, “तर, सडकबाट उठेको आवाज सिंहदरबारले नसुनेपछि अब संसदभित्रै गएर ती विषयलाई बुलन्द बनाउने निर्णयमा पुगेँ ।”
उहाँका अनुसार पत्रकारको पेशागत सुरक्षा, आत्मनिर्भरता र मर्यादा कायम गर्न विद्यमान कानुनहरू अपूर्ण छन् । त्यसका लागि नीतिगत सुधार आवश्यक भएकाले आफू नीति निर्माण गर्ने थलोमै जान चाहेको उहाँको भनाइ छ ।
स्थायी घर कालिकोट भए पनि विगत लामो समयदेखि भक्तपुरको बोडे क्षेत्र ९काठमाडौं–भक्तपुर सीमाक्षेत्र० मा बसोबास गर्दै आएका जैसीले सोही क्षेत्रलाई आफ्नो राजनीतिक कर्मभूमि रोजेका हुन् । ‘मेरो परिवारको बसोबास, व्यवसाय र बालबालिकाको शिक्षा सबै यही क्षेत्रमा जोडिएको छ,’ उनले भने, ‘यहाँका श्रमिक, किसान र मजदुरका समस्या मैले नजिकबाट देखेको छु ।’
भक्तपुरलाई पर्यटकीय सम्भावनायुक्त जिल्ला भन्दै उनले पर्यटन प्रवर्द्धनसँगै स्थानीय जनताको आधारभूत आवश्यकताको समाधान आफ्नो प्राथमिकता रहने बताउनुभयो ।
पत्रकारका रूपमा राजनीति नजिकबाट अध्ययन गर्ने अवसर पाएको उल्लेख गर्दै उहाँले अब त्यो अनुभवलाई व्यवहारमा लागु गर्ने जिम्मेवारी आफूले लिएको बताउनुभयो । “यो पेशामा हुँदा राजनीतिलाई नजिकबाट अध्ययन गर्ने हेर्ने बुझ्ने अवसर मिल्थ्यो भने अब त्यो बुझेको राजनीतिलाई जीवन व्यवहारमा लागु गर्ने कुरा नेपाली राजनीति संस्कारमा लागु गर्ने कुरा त्यो मेरो आफ्नो जिम्मेवारी हो भन्ने ठानेर म यसमा लागेको छु । संसदीय प्रणाली असाध्यै परम्परागत भयो,” उहाँले भन्नुभयो, “यो प्रणालीले आजको पुस्ता र जनताको आवश्यकता पूरा गर्न सकेको छैन ।”
उहाँले पछिल्लो ‘जेनजी आन्दोलन’ लाई परम्परागत राजनीतिक संस्कारविरुद्धको विद्रोहको रूपमा व्याख्या गर्दै युगसापेक्ष राजनीतिक सोच, सूचना क्रान्ति र मानवीय चेतनाको विकासलाई समेट्ने नयाँ राजनीतिक संस्कार आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब समयको मागसँगै युग सापेक्ष राजनीति गर्ने तरिका सोच र चिन्तनमा पनि विकास हुन जरुरी छ । अब परम्परागत राजनीतिक सोचले चल्दैन भन्ने कुरा पछिल्लो जेनजी विद्रोहले पनि पुष्टि गर्यो किनभने विगतको शैलीले अब जनताका आधारभूत आवश्यकता पूर्ति गर्न सकिँदैन ।”
अन्य दलहरूसँगको भिन्नताबारे बोल्दै जैसीले प्रलोपा परम्परागत राजनीतिक संरचनाको विकल्पमा नयाँ राज्य संरचना र शासकीय मोडेलको पक्षमा रहेको बताउनुभयो । “प्रलोपा परम्परागत राजनीतिक संरचनाको विकल्पमा नयाँ राज्य संरचना र शासकीय मोडेलको पक्षमा छ । संघीय लोकतान्त्रिक गणतन्त्र भनिए पनि राज्य संयन्त्र अझै पञ्चायती ढर्रामै चलिरहेको छ,” उहाँले भन्नुभयो, “यसलाई पुनर्संरचना गर्नैपर्छ ।”
उहाँका अनुसार पार्टीले संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, राज्यका महत्वपूर्ण निकायको पुनःसंरचना, प्रत्यक्ष कार्यकारी प्रणाली, पूर्ण समानुपातिक प्रतिनिधित्व, ‘राइट टु रिजेक्ट’, ‘राइट टु रिकल’ र ‘नो भोट’को व्यवस्था जस्ता अजेन्डा अघि सारेको छ ।
पार्टी अध्यक्ष डा.बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिनु हारको डर नभएको भन्दै उहाँले यसलाई नेतृत्व निर्माणको रणनीतिसँग जोड्नुभयो । “उहाँ राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको साझा नेता हुनुहुन्छ,” जैसीले भन्नुभयो, “नयाँ नेतृत्वलाई अघि बढाउन अभिभावकीय भूमिका खेल्ने निर्णय गरिएको हो ।”
यसैगरी उहाँले भट्टराई गोरखाको मात्र नेता नभइ राष्ट्रिय स्तरको नेता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“उहाँले चुनावमा भाग नलिने पहिला पनि भन्नुभएकै थियो । त्योभन्दा अगाडि पनि रेकर्ड हेर्नुभयो भने उहाँले पहिला पनि नलिने नै भन्नुभएको थियो । उहाँ गोरखाको मात्र नेता त होइन, उहाँ राष्ट्रिय स्तरको नेता हो । उहाँ त अन्तर्राष्ट्रिय स्तरको नेता हो । पूर्वप्रधानमन्त्री विचार दृष्टिकोण वा अध्ययनका हिसाबले उहाँ नेपालको बिरलै नेता भित्र पर्नुहुन्छ ।”
आगामी निर्वाचनमा जितको परिभाषा सिट संख्या मात्र नभएको उहाँले स्पष्ट पार्नुभयो । “यो चुनाव किन आयो भन्ने प्रश्न आफैँमा महत्त्वपूर्ण छ,” उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले राज्य संरचना असफल भएको प्रमाणित गरिसकेको छ ।”
उहाँका अनुसार प्रलोपा यस निर्वाचनलाई जनतालाई नयाँ राज्य संरचनाबारे सचेत र प्रशिक्षित गर्ने माध्यमका रूपमा लिइरहेको छ । अजेन्डाको हिसाबले हामीले जितिसकेको उहाँले दाबी गर्नुभयो ।
उहाँले भक्तपुर–२ का मतदातालाई विगतमा निर्वाचित जनप्रतिनिधिहरूको कार्यसम्पादन पुनरावलोकन गर्न आग्रह गर्नुभयो । “गुण्डागर्दी, सिन्डिकेट र भोट बैङ्कको राजनीतिबाट आजित हुनुहुन्छ भने विकल्प रोज्नुस्,” उहाँले भन्नुभयो, “विचार, सोच र अजेन्डाका आधारमा आफ्नो अमूल्य मतको सदुपयोग गर्नुस् ।” -नेपाल न्युज बैङ्क