गोरख बहादुर बिष्ट ‘आनन्द’ नेपाली काङ्ग्रेसका प्रभावशाली नेता हुनुहुन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय छवी बनाउनुभएका बिष्ट चार दशक लामो समयदेखि काङ्ग्रेसमा आवद्ध हुनुहुन्छ । उहाँले काङ्ग्रेसको पूर्वआमन्त्रित केन्द्रीय सदस्य रहनुका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाको सभापति भएर काम गरिसक्नुभएको छ । डोटीमा जन्मिनुभएका बिष्ट अध्ययनको सिलसिलामा कैलाली पुग्नुभएको थियो । उहाँपछि अध्ययनकै लागि भारत, काठमाडौँ हुँदै अमेरिका पुग्नुभयो । तर, जहाँ पुगे पनि बिष्टले मातृभूमि नेपाल र जन्मभूमि सुदूरपश्चिप्रतिको ममता कहिले मार्नुभएन । उहाँले भूकम्प, कोरोना महामारी, बाढी–पहिरो जस्ता विभिन्न असहज अवस्थामा थुप्रै सहयोग गर्नुभएको छ । जन्मभूमि डोटीमा एम्बुलेन्स प्रदान गर्नुभएको छ । विभिन्न विद्यालयमा सहयोग गर्नुका साथै छात्रवृत्तिका लागि रकम प्रदान गर्नुभएको छ । आश्रमहरूमा थुप्रै सहयोग गर्नुभएको छ । विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्दारका लागि समन्वय गर्ने तथा स्वदेश फिर्ता पठाउन भूमिका खेल्ने काममा पनि उहाँ सधैँ अग्रमोर्चामा देखिने व्यक्ति हुनुहुन्छ । उहाँले कोरोना कालमा अमेरिकामा असहज अवस्थामा रहेका हजारौँ विद्यार्थीहरूको रेखदेख र व्यवस्थापन गर्नुभएको थियो । उहाँ आफूलाई भुइँमान्छे भएको र नेपाली जनताकै माझमा रहेर काम गर्ने इच्छा भएको बताउँदै आउनुभएको छ । यसपटक बिष्टलाई काङ्ग्रेसले कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेर चुनावी अभियानमा हुनुहुन्छ । चुनावी अभियानकै सिलसिलामा नेपाल न्युज बैङ्कले आज बिष्टसँग उनका योजना र जनताका अपेक्षाका विषयमा केन्द्रित रहेर संवाद गरेको छ ।
चुनावी प्रतिस्पर्धामा होमिनुभा छ, कस्तो प्रतिक्रिया पाइराख्नुभएको छ ?
फागुन २१ को चुनावी माहोलमा होमिएका छौँ । म जनताको घर आगनमा पुगिरहेको छु । सबै मतदाताको घरमा पुग्न सकेका छैनौँ, जनताको घरआगनीमा पुग्ने क्रम जारी छ । पार्टीका विभिन्न निकाय र इकाईसँग छलफल तथा संवाद गरेर रणनीतिक रुपमा आफ्ना अजेण्डा बोकेर जनताको घरमा पुगिरहेका छौँ । अहिलेसम्म एकदमै राम्रो प्रतिक्रिया पाउनुका साथै सबैको साथ पाइरहेको छु ।
कैलाली–४ मा अन्य धेरै व्यक्तिहरूको चर्चा हुँदाहुँदै तपाईंलाई उम्मेदवार बनाइयो । पार्टीले तपाईंमा त्यस्तो दक्षता के देख्यो ?
मैले नेपाली काङ्ग्रेस पार्टीमा लामो समय संघर्ष गरेको छु । म करिब चार दशकदेखि काङ्ग्रेसमा रहेर क्रियाशील भूमिका निर्वाह गरिरहेको व्यक्ति हुँ । मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा पार्टीका विभिन्न इकाईमा बसेर पार्टीले सुम्पिएका थुप्रै जिम्मेवारी बहन गरेको छु । म काङ्ग्रेसका लागि नयाँ व्यक्ति होइन । विद्यार्थी जीवनबाटै सक्रिय छु । म यही माटोमा जन्मिएको र हुर्किएको व्यक्ति हुँ । खैरानामा मेरो घर छ । मेरा दाजुभाइ, दिदीबहिनी, स्टमित्र सबै कैलाली–४ मै हुनुहुन्छ । एसएलसीसम्मको अध्ययन पनि कैलालीबाटै गरेको हुँ । म पढाइको सिलसिलामा बाहिर गएँ । त्यसका बाबजुद पनि म सधैँ यही माटो र भूमिमा सक्रियतापूर्वक काम गरिरहेको व्यक्ति हुँ ।
टिकट वितरणको समयमा हाम्रो पार्टी अलि असहज अवस्थाबाट अगाडि बढिरहेको थियो । तर, पार्टीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिने निर्णय गरेको थियो । पार्टीको निर्णय सबैका लागि स्वीकार्य हुन्छ । यही क्रममा पार्टीले मलाई विश्वास गरेर कैलाली–४ को टिकट प्रदान गरेको हो । मैले कसैको मन दुखाउने गरी टिकट ल्याएको होइन । मेरा कैलाली–४ का नेताहरूको मन दुखाएर ल्याएको टिकटले मात्र मैले चुनाव जित्न सक्ने अवस्था रहँदैन । उहाँहरूको पार्टीमा ठुलो लगानी र योगदान छ । मेरो सबै नेताहरूप्रति उच्च सम्मान छ । जेनजी आन्दोलनपछि देशको परिस्थिति ठिक छैन । यस्तो बेला पार्टीले विश्वास गरेर टिकट दिएको अवस्थामा कैलाली–४ का काङ्ग्रेसका सबै नेता एक ठाउँमा छौँ । सबै जनाको मलाई अत्यन्तै सौहाद्रपूर्ण सहयोग छ । उहाँहरूले मेरो औला समातेर सही बाटो डोर्याइरहनुभएको छ । यो ठाउँमा मभन्दा पनि धेरै वरिष्ठ व्यक्तिहरू हुनुहुन्छ, सबैप्रति मेरो उच्च सम्मान छ । यस क्षेत्रबाट टिकटका लागि सात जनाको नाम सिफारिस भएको थियो । उहाँहरू सबै सक्षम र योग्य हुनुहुन्छ। तर, लोकतान्त्रिक संस्कार भएको पार्टीका कार्यकर्ता हौँ, पार्टीको निर्णयलाई सधैँ सिरोधार्य गर्दछौँ ।
मनोनयनको समयमा पनि म भौतिक रुपमा उपस्थित हुन सकिन । पार्टीले अन्तिम समयमा मलाई टिकट प्रदान गर्यो । त्यसैले म समय अभावले मनोनयनमा उपस्थित हुन नसकेको हुँ । दोस्रो दिन बिहान आउँदै गर्दा यस क्षेत्रका नेता तथा कार्यकर्ताहरूले मलाई जुन विश्वास र ऊर्जाका साथ स्वागत गर्नुभयो त्यसले मलाई एकदमै खुसी तुल्याएको छ । चुनावको जितहार प्राविधिक पाटो हो, उहाँहरूको स्वागत र मप्रतिको विश्वासले नै मैले विजयको महसुस गरेको छु ।
तपाईं अमेरिका जस्तो सुविधासम्पन्न देशमा बसिरहेको व्यक्ति, मातृभूमिको यो राजनीतिप्रति कसरी आकर्षित हुनुभयो ?
म विलाशिता भोगी व्यक्ति होइनँ, म भुइँमान्छे हुँ । यहि नेपालको सुदूर भूमिमा जन्मिएँ । मेरो देशका र मेरो माटोका प्रत्येक समस्या मलाई थाहा छन् । बिहान बेलुकी हातमुख जोड्न धौँ–धौँ भइरहेका दाजुभाइका दुःख मलाई थाहा छन् । किसान र मजदुरका हातमा उठेका ठेलाको दुखाइ म महसुस गर्नसक्छु । त्यसैले ममा सधैँ गरिब र निमुखा जनताको पक्षमा काम गर्ने हुटहुटी छ । राजनीतिक समाजसेवाको सबैभन्दा उत्तम माध्यम हो । जहाँ हामी नीति निर्माण गरेरै जनताको पक्षमा काम गर्न सक्छौँ । त्यसैले जनताको राजनीतिक सेवक बन्नका लागि मैले यो बाटो रोजेको हुँ ।
मलाई विलाशिताको जीवन बाच्नु छैन, म मेरो देश र मेरो क्षेत्रका जनताले बाँचिरहेको जीवन उहाँहरूकै माझमा रहेर बाँच्न चाहन्छु भनेर राजनीति रोजेको व्यक्ति हुँ । म साधारण व्यक्तिहरूका बिचमा रहेर काम गर्न चाहन्छु । मलाई मेरो माटोको सुगन्ध र सुभासले निकै आनन्दित तुल्याउँछ । त्यही माटोलाई फलाउन र फुलाउन केही योगदान दिनुपर्छ भन्ने भाव सधैँ मेरो मनमा जीवन्त रुपमा पैदा भइरहन्छ । अमेरिका पुग्दा पनि सधैँ मेरो मन, मष्तिष्कमा आफ्नो देश र आफ्नै माटो घुमेको हुन्थ्यो । त्यसैले म आफ्नो देश, आफ्नो माटो र आफ्नाहरूप्रतिको उत्तरदायीत्वबाट कहिले विमुख भइनँ । म प्रत्येक वर्ष दुई पटक नेपाल पुगेर मेरो जन्मभूमि डोटीका गाउँबस्तीमा पुगिरहेको हुन्थेँ । कैलाली पुगिरहेको हुन्थेँ । विभिन्न ठाउँमा सकेको सहयोग गरिरहेको हुन्थेँ ।
मैले डोटीमा एम्बुलेन्स प्रदान गर्नुका साथै कोरोना महामारीको समयमा ठूलो सहयोग गरेको छु । भूकम्प र अन्य प्रकोपको समयमा सहयोग गरिरहेको हुन्थेँ। तर, म सस्तो लोकप्रियता र प्रचारमुखी स्वभावको मानिस भने होइनँ । सहयोग गरेको कुरा भनिराख्ने विषय होइन । तर, मैले म सधैँ सुख दुःखमा जनताकै साथमा थिए भन्नलाई मात्र यो कुरा स्मरण गरेको हुँ । मुलुकको प्रजातान्त्रिक व्यवस्था अप्ठ्यारोमा पर्दा सधैँ मैले राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा अग्रमोर्चामा रहेर काम गरेको छु । मैले मात्र होइन, जनताले पनि खुसी र समृद्ध जीवन बाँच्न सक्नुपर्छ भन्ने चेत छ । त्यसैले जनताको खुसी र समृद्धिका लागि म राजनीतिमा सक्रिय छु । म समृद्ध भएर मात्र हुँदैन, सबै जनता सुखी र समृद्ध हुनुपर्छ । सबैले शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत आवश्यकताको उचित अवसर पाउनुपर्छ । म यस्तै सकारात्मक रोच, विचार र युवा जोशका साथ कैलाली–४ मा आएको छु ।
कैलाली–४ को अवस्था र यहाँ जनताको अपेक्षा कस्तो पाउनुभयो ?
यहाँ तीनवटा पालिका छन् । गोदावरी नगरपालिका, गौरिगंगा नगरपालिका र चुरे गाउँपालिका कैलाली–४ मा रहेका छन् । चुरे गाउँपालिका भौगोलिक रुपमा निकै विकट छ । त्यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूले कष्टकर जीवन बाँचिरहनुभएको छ । उहाँहरूले यातायात, बिजुली बत्ती, औषधि उपचार, खानेपानी, बजारीकरण, शिक्षाको सुविधा, भौतिक पूर्वाधारलगायत थुप्रै समस्या खेपिरहनुभएको छ । गौरिगंगा र गोदावरीमा पनि कतिपय ठाउँ विकट छन् । यस ठाउँमा थारु समुदायको पनि ठुलो बसोबास छ । उहाँहरूले पनि थुप्रै समस्या खेपिरहनुभएको छ । भूमिहिनका समस्या छन् । मेरो निर्वाचन क्षेत्रमा ठुलो संख्यामा दलित दाजुभाइ तथा दिदीबहिनीहरूको बसोबास छ । उहाँहरू पनि ठुलो समस्यामा हुनुहुन्छ । उहाँहरूलाई उच्च सम्मान दिनु हामी राजनीतिक चेत भएका व्यक्तिहरूको दायित्व र अभिभारा हो । समतामूलक समाज निर्माण गर्नु हाम्रो अभिष्ट बन्नुपर्छ । थारु, जनजाति, महिला, पिछडिएका वर्गको विशेष उत्थान गर्नुपर्छ भन्नेमा म सचेत छु । चुनाव प्राविधिक कुरा हो । म भोलि विजय हुँला वा नहुँला तर, जनताको माझमा सधैँ रहिरहने छु । उहाँहरूका समस्या र मुद्दालाई बोकेर म सधैँ पैरवी गरिरहने छु । म यो ठाउँसँग कहिले पनि नछुट्टिने गरी गाँसिन पुगेको छु । ममाथिको भरोसालाई कहिले कुठाराघात हुन दिने छैन ।
तपाईंसँग चुनावी रणनीति र अजेण्डा के छन् ?
म निर्वाचनको मुखमा आएर जनता दिगभ्रमित हुने खोक्रा एजेण्डा बाँड्ने स्वभावको व्यक्ति होइन । मैले बिसौँ पेजको घोषणा पत्र लेखेँ भने पनि जनताले त्यसलाई पढ्नुभएको हुँदैन । घोषणा पत्रमा ठुला–ठुला सपना, राष्ट्रिय, अन्तर्राष्ट्रिय कुरा लेखिएका हुन्छन् । तर, ती घोषणा पत्रको प्रभावकारिता कति भएको छ भन्ने ख्याल गर्नुपर्छ । त्यसैले म सपनाको लड्डु बाँड्न यो निर्वाचन क्षेत्रमा आएको होइन । मेरो घोषणा पत्रमा जनताका तत्काल सम्बोधन गर्नुपर्ने विषय समेटिने छन् । यस क्षेत्रबाट काङ्ग्रेसमाथि जनताले ठुलो भरोसा गर्नुभएको छ । यसअघि मेरा अग्रज नेता वीर बहादुर बलायरले निर्वाचन जितेको क्षेत्र हो यो । मेयर काङ्ग्रेसकै वीरेन्द्र भट्ट हुनुहुन्छ । प्रदेशमा राज्यमन्त्री यसै क्षेत्रको प्रकाश बम हुनुहुन्छ । गौरिगंगाको उपमेयर भोजबहादुर बम काङ्ग्रेसकै हुनुहुन्छ। चुरे गाउँमालिकामा धनादेवी थापा काङ्ग्रेसबाटै विजयी उपाध्यक्ष हुनुहुन्छ। धेरै ठाउँमा वडाध्यक्ष विजयी हुनुभएको छ । उहाँहरू सबैलाई मैले तीन वर्षको कार्यकालमा गरेका राम्रा कामको सूची मागेको छु । उहाँहरूलाई गर्न नसकेका अधुरा कामको सूची पनि मागेको छु । गरेका राम्रा कामका लागि मैले धन्यवाद दिनेछु र गर्न बाँकी काम सँगै मिलेर कसरी गर्न सकिन्छ भन्नेमा म प्रतिवद्ध रहने छु । यतिबेला हामीले जनताका लागि पहिलो चरणमा गर्नुपर्ने महत्त्वपूर्ण काम के हुन्, दोस्रो चरणमा गर्नु पर्ने वा तेस्रो, चौथो चरणमा गर्नु पर्ने काम के हुन् भनेर त्यसको छनोट गरिरहेका छौँ । यसरी नै हामी घोषणा पत्र बनाउने छौँ । राष्ट्रिय, अन्तर्राष्ट्रिय विषय समेटेको सुन्दा मिठो चास्नी जस्तो लाग्ने घोषणा पत्र हाम्रो प्राथमिकतामा छैन । हामी काम गर्न सक्ने विषय मात्र घोषणा पत्रमा समेट्ने छौँ । त्यसपछि राष्ट्रिय बजेट, अन्तर्राष्ट्रिय बजेट र दातृनिकाय गुहार्ने कुरा गरौला भनेर साधारण मोडेलमा आफ्ना योजना अगाडि सार्न खोजेको छु ।
हामीले भौतिक पूर्वाधारको पनि विकास गर्नुछ । कैलाली–४ औद्योगिक हव हो । यो सुदूरपश्चिमका सबै जिल्ला प्रवेश गर्ने प्रमुखद्वार पनि हो । गोदावरी, गौरिगंगा जस्ता धार्मिक क्षेत्र यहाँ छन् । चुरे पर्वतीय श्रृङ्खला यही छ । ऐतिहासिक गर्भा दरबार हाम्रो क्षेत्रमा छ । बुढीतोला, खानीडाँडा, लामिताल, मछेली पार्क र ताल, हाटखोली जस्ता थुप्रै पर्यटकीय गन्तव्य छन् । यी हाम्रा प्राकृतिक धरोहर हुन् । यस्ता ठाउँको प्रचारप्रसार, प्रवद्र्धन र संरक्षण गर्न सकेमा पर्यटक भित्र्याएर मनग्य आम्दानी गर्न सकिन्छ । यो ठाउँमा धेरै सम्भावना छन् । यस क्षेत्रलाई कृषि हव पनि बनाउन सकिन्छ । म हामीले गरेका राम्रा कामको प्रसंसा गर्न र गलत काम औँल्याउन पनि जनतासँग आग्रह गर्दछु । म राम्रा काममा हातेमालो गर्न सबै राजनीतिक दलका नेताहरूलाई पनि आग्रह गर्दछु । अब हामीले विरोधको राजनीतिक संस्कार त्याग्नुपर्छ । सबै राजनीतिक दलको उद्देश्य जनताको हित हो भने जनताको हितका लागि एकतावद्ध भएर किन काम नगर्ने ?
निर्वाचनमा होमिँदा दलहरू विभिन्न आस्वासन दिन्छन् । तर, चुनाव जितेपछि काठमाडौंमा डेरा जमाएर बस्छन् । आफ्नो निर्वाचन क्षेत्रमा जनसम्पर्क, जनताका कुरा सुन्ने, समस्या समाधानको त कुरा परै जाओस् फर्केर पनि आउँदैनन् । तपाईं पनि त्यस्तै गर्नुहुन्न भन्ने आधार के छ ?
अहिले हामी परिवर्तनको कुरा गरिरहेका छौँ । रुपान्तरण र युवा भावनाका कुरा गरिरहेका छौँ । युवा जोश जागरका कुरा गरिरहेका छौँ । विगतका गल्ती कमजोरी सच्याउने कुरा गरिरहेका छौँ । हामीले दिने भनेको फरक पन नै पूराना कमजोरी नदोहोर्याउने हो । हिजो धेरै राम्रो काम गर्ने जनप्रतिनिधिहरू पनि छन् । सबै जनप्रतिनिधि एकै खालका छन् भनेर एकै घानमा हाल्न हुँदैन । केहीका त्यस्ता कमजोरी रहे होलान् । अब ती कमजोरी सच्याउनुपर्छ । हामी अग्रजका राम्रा कुरा सिकेर कमिकमजोरी घटाउँदै अगाडि बढ्ने छौँ । निर्वाचनमा कोही पनि हार्दैन, विजेता र उपविजेता हुने हो । म निर्वाचन जिते पनि उपविजेता भए पनि सधैँ जनताकै साथमा रहने छु ।
काङ्ग्रेसको विशेष महाधिवेशनपछि असन्तुष्टि बढेको भनिएकोछ, यसले तपाईंहरू जस्ता उम्मेदवारलाई कस्तो प्रभाव पर्ला ?
शेरबहादुर देउवाको नाम लिँदा मलाई गौरव महसुस हुन्छ । सुदूरपश्चिम प्रदेश कुनै समयमा छुट्टै देश जस्तो थियो । मैले एसएलसी पास गरेर कलेज पढ्न काठमाडौँ जाँदा रुपेडिया नानपारा भएर एक दिन नेपालगञ्ज बसेर अर्को दिनको रात्रि बसमा काठमाडौँ जानुपर्ने बाध्यात्मक अवस्था थियो । यो भूगोललाई काठमाडौँसँग जोडेर गरेर समृद्ध सुदूरपश्चिम निर्माण गर्ने कुरामा श्रद्वेय शेर बहादुर देउवाको अतुलनीय योगदान छ । उहाँ हाम्रो अभिभावक हो । उहाँ प्रजातान्त्रिक आन्दोलनको धरोहर हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको निकै ठुलो योगदान छ। त्यो योगदानलाई हामीले भुल्नु हुँदैन र उहाँको योगदानलाई कम आक्नु हुँदैन ।
अर्को कुरा गगन थापा प्रत्येक नेपालीको मनमुटुमा बस्न सफल नेता हुनुहुन्छ । उहाँमा युवा भावना, जोस् र उत्साह छ । उहाँ समय अनुसार चल्न सक्ने र सबैलाई साथमा लिएर अगाडि बढ्न सक्ने व्यक्ति हो । यो परिस्थितिमा उहाँ सभापति बन्नुभएको छ । हामी हाम्रा नेताहरूले चुनावमा होमिन भनेर नै टिकट लिएर निर्वाचन क्षेत्रमा आएका हौँ । पार्टीभित्र मत मतान्तर हुन्छ । तर, निर्वाचन र उम्मेदवारको विषयलाई लिएर पार्टीमा कुनै विवाद छैन । हामी पार्टीको सरसल्लाह अनुसार नै एकताका साथ चुनावी मैदानमा छौँ ।
तपाईंले आफ्नो निर्वाचन क्षेत्रका समस्या के देख्नुभएको छ र जनताको अपेक्षा के पाउनुभएको छ ?
गरिबीको दर उच्च छ । रोजगारीका लागि भारत पहिलो रोजाइ बन्ने गरेको छ । भारतमा काम गर्दा पनि दैनिकी टार्न धौँ–धौँ छ । उद्योग, कलकारखाना तथा अन्य विकास पूर्वाधारमा पछाडि रहेकाले मेरो क्षेत्रमा रोजगारीको अभाव छ । चुरेका विभिन्न स्थानमा अझैँ पनि बाटोघाटो, शिक्षा, स्वास्थ्य, खाने पानी जस्ता आधारभूत आवस्यकताको पर्याप्तता छैन । अस्पतालमा चिकित्सक र औषधिको अभाव छ । पहाडी क्षेत्रमा पुग्न बाटोघाटोको निकै समस्या छ । वर्षातको समयमा डोकोमा बिरामी बोकेर तराईं ल्याउनु पर्ने अवस्था कायमै छ । कृषि आधुनिकीकरण नहुँदा परम्परागत खेती प्रणालीबाट हामीले मनग्य आम्दानी गर्न सकिरहेका छैनौँ । मेरो निर्वाचन क्षेत्रमा खुटिया, शिवगंगा जस्ता उच्च कटान गर्ने नदी छन् । अथाह पर्यटकको सम्भावना हुँदा पनि हामीले प्रचार र सदुपयोग गर्न सकिरहेका छैनौँ । महिला तथा दलित सशक्तीकरणको अवस्था कमजोर छ । सरकारी क्षेत्रमा भ्रष्टाचार र अनियमितता व्याप्त छ । विकास बजेट पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । गेटा मेडिकल कलेजका लागि तयारी पारिएका संरचना अलपत्र छन् । त्यो अलपत्र संरचनाले हामीलाई गिज्याइरहेको छ र अझैँ पनि सुदूरपश्चिमका जनता उपचारको लागि भारत वा काठमाडौँ धाउन पर्ने बाध्यकारी अवस्था कायमै छ । गेटा मेडिकल कलेजका नाममा भएको राजनीतिक खिचातानीले सुदूरपश्चिमबासीको भावनामा चोट पुर्याएको छ । यसलाई तत्काल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्छ भन्नेमा म दृढ छु । सीमान्तकृत समुदाय, थारु, दलित, जनजातिको उत्थानका लागि गर्नुपर्ने थुप्रै काम छन् । फरक क्षमता भएका दाजुभाइ दिदीबहिनीहरू हाम्रो नजरमा पर्न सक्नु भएको छैन । हाम्रा कला र संस्कृतिको जगेर्ना तथा प्रवर्द्धन गर्नुछ। प्रदेश राजधानी गोदावरी तोकिए पनि यहाँ कुनै पूर्वाधार बन्न सकेका छैनन् । राजधानीको मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउनु हाम्रो दायित्व हो । गर्नुपर्ने काम थुप्रै छन् । यो छोटो अन्तरवार्तामा सबै योजना भनेर पनि सम्भव छैन । यी जनताको दैनिकीसँग जोडिएका समस्या हुन् र जनताले पनि यीनै समस्याको दिगो समाधान खोजिरहनुभएको छ ।
काङ्ग्रेसले जेनजी भावनालाई कसरी समेटेको छ ?
जेनजी आन्दोलनपछि नेपालमा विशेष खालको राजनीतिक परिस्थिति सिर्जना भएको छ। काङ्ग्रेसमै पनि विशेष महाधिवेशनबाट गगन थापा सभापति बन्नुभएको छ । उहाँ प्रत्येक नेपालीको मनमुटुमा बस्न सफल युवा जोश र भावना भएको व्यक्ति हो । उहाँ समय, परिस्थितिअनुसार चल्न सक्ने र सबैलाई साथमा लिएर हिँड्न सक्ने व्यक्ति हो । विषम् परिस्थितिमा उहाँ पार्टीको नेतृत्वमा हुनुहुन्छ । हामी निर्वाचनमा होमिँदा आदरणीय नेता शेर बहादुर देउवाको पनि साथ छ । गगन थापा चार पटक संसद भइसक्नुभएको छ । अहिले जेनजी मुमेन्टपछि युवाहरूलाई स्थान दिनुपर्छ भन्ने कुरा भइरहेको छ । युवामा राजनीतिमा सहभागी हुनुपर्छ र राजनीति नै देश बनाउने पहिलो बाटो हो भन्ने चेतना जागृत भएको छ । तर, काङ्ग्रेसको कुरा गर्दा हाम्रो आदरणीय नेता शेरबहादुर देउवा ४४ वर्षकै उमेरमा गृहमन्त्री भइसक्नुभएको थियो । गगन थापाकै कुरा गर्दा २० वर्षभन्दा लामो संसदीय यात्रा भइसक्यो, काङ्ग्रेसले त सधैँ युवालाई स्थान दिएको छ । काङ्ग्रेसमा वडा सदस्य, अध्यक्ष, पालिकाका उपप्रमुखमा धेरै जसो युवाकै प्रतिनिधित्व छ ।
भदौ २३ र २४ को घटनाले मलाई विक्षिप्त बनाएको छ । भविष्यका कर्णधारहरूले अनाहकमा ज्यान गुमाएको घटनाले मलाई सधैँ दुःखी तुल्याउने गरेको छ । त्यो घटनालाई प्रायोजित रुपमा भएको हामीले लिएका छौँ । हाम्रा जलेका संरचना देख्दा अहिले पनि मुटु काप्छ । मेरो कुरा गर्दा कैलाली–४ मा मैले युवाहरूको राम्रो साथ पाएको छु । उहाँहरूलाई नै साथमा लिएर र अग्रजहरूको सम्मान गरेर म अगाडि बढ्ने छु । युवाको जोश र अग्रजको अनुभवको समिश्रणलाई सदुपयोग गर्नसके मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ । म मेरो राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्धलाई यस क्षेत्रको विकासमा सदुपयोग गर्ने छु ।
यो चुनावी दौरानमा मतदाताहरुलाई के भन्नुहुन्छ ?
म प्रत्येक दाजुभाइ तथा दिदीबहिनीहरूको घर आगनमा पुगिरहेको छु । उहाँका विचार र अपेक्षा सुनिरहेको छु । भोलि अहिले उहाँहरूले राखेका माग र भावनाहरूको नै हामीले सम्बोधन गर्ने हो । म समाजसेवाबाट राजनीतिमा आएको व्यक्ति हुँ । मेरो पवित्र भावना छ । मलाई कुनै व्यक्तिलाई दुःख पर्दा आफ्नै पीडा हो झैँ ठान्ने गरेको छु । ममा कोमल भावना छ । जनताको काम गर्छु भनेर जनप्रतिनिधि भइसकेपछि त्यो व्यक्तिको आफ्नो व्यक्तिगत जीवन हुँदैन। यो मर्मलाई मैले राम्रोसँग बुझेको छु । जनप्रतिनिधि पारिवारिक उल्झनमा भुल्नु हुँदैन । जनप्रतिनिधिसँग जनताको सहज पहुँच हुनुपर्छ । त्यस्तै सहज जनपहुँच भएको प्रतिनिधि बन्न चाहन्छु । म मानवतामा विश्वास गर्छु, त्यसैले सधैँ जनताको माझमा रहेर उहाँहरूका काम गर्न चाहन्छु। त्यसैले जनताले मलाई विश्वास गरेर विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु । –नेपाल न्युज बैङ्क