- खेमराज सापकोटा
विराटनगर, १९ माघ । सुनसरी क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रमुख राजनीतिक दलहरू आ–आफ्नो रणनीतिसहित मैदानमा उत्रिएका छन् । घरदैलो अभियान, संगठन परिचालन र मतदाता भेटघाटले क्षेत्रको राजनीतिक तापक्रम बढिरहेको छ ।
नेपाली काङ्ग्रेसका उम्मेदवार राजीव कोइराला यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै मतदाताको घर–घरमा पुगिरहनुभएको छ । अभियानका क्रममा कोइरालाले ‘काङ्ग्रेस बदलिएको छ, म बदलिएको काङ्ग्रेसको संकल्प पूरा गर्न आएको हुँ’ भन्दै आफूलाई परिवर्तनको वाहकका रूपमा प्रस्तुत गरिरहनुभएको छ ।
काङ्ग्रेसभित्र अनुभवी, इमान्दार र शालीनताको छवि बनाएका कोइरालाले स्थानीय तहदेखि केन्द्रसम्मको राजनीतिक अनुभव बटुल्नुभएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य बनिसकेका र कोशी प्रदेश संसदीय दलको पूर्वनेतका रुपमा समेत काम गर्नुभएका कोइरालालाई अनभव बटुलेका युवामैत्री उम्मेदवारका रुपमा हेर्ने गरिएको छ । कोइरालासँगै चुनावी अभियानमा सक्रिय नेपाली काङ्ग्रेस इटहरीका सचिव विक्रम घिमिरेले पार्टी यसपटक संगठित, अनुशासित र परिणाममुखी ढङ्गले चुनावमा होमिएको दाबी गर्नुहुन्छ ।
“हामीले निस्कलङ्क पात्रलाई मैदानमा लिएर आएका छौँ । विषेश महाधिवेशनपछि बदलिएको काङ्ग्रेसको देश बदल्ने संकल्प लिएर घरदैलो गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
एमालेको युवा कार्ड र सङ्गठनको बल
अर्को प्रमुख दल नेकपा (एमाले)ले सुनसरी–२ मा सुजन लामालाई उम्मेदवार बनाएको छ । युवा सङ्घघ कोशी प्रदेश अध्यक्षसमेत रहनुभएका लामाले युवालाई केन्द्रमा राख्दै सङ्गठन चलायमान बनाउने प्रयास गरिरहनुभएको छ । एमाले यस क्षेत्रमा अघिल्लो निर्वाचनमा विजयी भइसकेको दल भएकाले संगठनात्मक संरचना र विगतको मत आधार उसको मुख्य शक्ति मानिन्छ ।
तर, अघिल्लो निर्वाचनमा विजयी उम्मेदवार भीमप्रसाद आचार्य मैदानमा नहुनु एमालेका लागि अवसर र चुनौती दुवै बनेको विश्लेषण गरिएको छ । लामाले त्यो रिक्ततालाई युवा ऊर्जा र संगठन परिचालनमार्फत पूर्ति गर्ने रणनीति लिनुभएको छ ।
पुरानो कम्युनिस्ट शक्ति र महिला प्रतिनिधित्व
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट पूर्वकृषि राज्यमन्त्री रामकुमारी चौधरी अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवार हुनुहुन्छ । उहाँ आफ्नो समुदायसँगै महिलाको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिनुभएको छ । राजनीतिक अनुभव र पहिचान हुँदाहुँदै पनि संगठनात्मक कमजोरी र विगतको मत परिणामले माओवादीका लागि यो क्षेत्र चुनौतीपूर्ण देखिन्छ ।
रास्वपाः विकल्प कि विवाद ?
वैकल्पिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाएको छ । तर, थापाको उम्मेदवारीसँगै विवाद पनि जोडिएको छ । पार्टीकै अनुशासनविपरीत गतिविधि गरेको भन्दै रास्वपाले यसअघि उहाँमाथि कारबाही गरेको थियो । थापामाथि इटहरीस्थित जनता स्कुलको करिब २ कट्ठा जग्गा भाडामा लिएर विद्यालयलाई ८५ लाखदेखि १ करोड रुपैयाँसम्म तिर्न बाँकी रहेको आरोप पनि लागेको छ । यस्ता विषयले उहाँको ‘वैकल्पिक’ छविमा प्रश्न उठाएको छ ।
यद्यपि, २०७९ को निर्वाचनमा समेत उल्लेख्य मत ल्याएका थापा फेरि पनि विकल्प खोजिरहेका मतदाताको आकर्षण बन्न सक्ने आँकलन गरिएको छ । निर्वर्तमान सांसदसमेत रहेका रास्वपाका नेता अशोककुमार चौधरीले सुनसरीका चारै क्षेत्र रास्वपाले जित्ने दाबी गर्नुभएको छ ।
अघिल्लो निर्वाचन र वर्तमान समीकरण
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट एमाले नेता भीमप्रसाद आचार्य ३२ हजार २४ मतसहित विजयी हुनुभएको थियो । काङ्ग्रेस–माओवादी गठबन्धनका उम्मेदवार सीताराम महतोले २६ हजार ६८ मत ल्याउनुभएको थियो भने रास्वपाका थापाले १९ हजार ३९१ मत प्राप्त गर्नुभएको थियो ।
समानुपातिकतर्फ पनि एमाले बलियो देखिएको थियो । एमालेले २५ हजार १६९ मत ल्याउँदा काङ्ग्रेस २० हजार ६२६ मतसहित दोस्रो र रास्वपा १६ हजार १३७ मतसहित तेस्रो स्थानमा थियो । राप्रपा चौथो र तत्कालीन माओवादी पाँचौँ स्थानमा सीमित थिए । कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनसरी–२ मा कुल २८ जनाको उम्मेदवारी परेको छ । तर, वास्तविक प्रतिस्पर्धा भने काङ्ग्रेस, एमाले र रास्वपाबिच केन्द्रित देखिन्छ । –नेपाल न्युज बैङ्क