उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

0

काठमाडौँ, १८ माघ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनुभएका नेपाली काङ्ग्रेसका नेता किशोरसिंह राठौरलाई स्थानीय जनताले वन्यजन्तु–मानवबीचको द्वन्द्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन् ।

मतदातासँगको अन्तरक्रियामा स्थानीयले बाँके र बर्दिया निकुञ्जका कारण दिनहुँजसो जङ्गली जनावर बस्तीमा पस्ने, हिंस्रक जनावरको आक्रमणबाट मानिसको मृत्यु हुनेलगायत घटना बढिरहेकाले वन्यजन्तु–मानव द्वन्द्व प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका हुन् ।

बाँके र बर्दियाका मध्यवर्ती क्षेत्रसहित आसपासका नागरिकले असुरक्षित महसुस गरेकाले काङ्ग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार राठौरसँग विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गरिएको ठाकुरबाबा नगरपालिका–३ का कमानसिंह साउदले बताउनुभयो ।

अन्तरक्रियामा नेता राठौरले पछिल्लो समय मानव र जनावरबीचको द्वन्द्व व्यवस्थापन थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यसका लागि आफूले सरोकार भएका निकायसँग छलफल र समन्वय गरी समाधानको पहल गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले निजी सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार नेता राठौरले स्थानीय जनतासँग भेटघाट, अन्तरक्रिया गर्नुका साथै सुझाव पनि सङ्कलन गरिरहनुभएको छ ।

स्थानीय कौशिला टमटाले यसअघि बर्दियाको विकासका पहल गर्नुभएका नेता राठौरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण, कृषकका समस्या, सडक, पुलपुलेसालगायत विषयमा रहेका समस्या समाधानका लागि योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको उल्लेख गर्नुभयो ।

हालसम्म मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, कृषकका समस्या, सडक स्तरोन्नतिलगायत समयसामयिक विषयमा सुझाव सङ्कलन भएको ठाकुराबाबा नगरपालिकाका प्रमुख एवम् काङ्ग्रेस नेता तिलक लम्सालले बताउनुभयो । काङ्ग्रेस नेता राठौर २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके–३ बाट २९ हजार ४० मतसहित विजयी हुनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...