सर्लाहीमा सवारी दुर्घटना : छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते

11

सर्लाही, १८ माघ । सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको छ महिनामा २९ जनाको मृत्यु भएको छ भने १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठुला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ ।

त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गरी चलाएका सवारी कारबाहीबाट ४८ लाख २८ हजार ५०२ रूपैयँ राजस्व सङ्कलन भएको छ । चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लङ्घन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो ।

प्रहरीले लामो दुरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ । चालु आवको छ महिनामा सात हजार २७ वटा लामो दुरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...