काठमाडौँ, १७ माघ । ओखलढुङ्गा जिल्लाबाट नेकपा (एमाले) प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्कसहतिको आइटीको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताउनुभएको छ ।
शनिबार नेकपा (एमाले)को ओखलढुङ्गा–काठमाडौँ सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उहाँले ओखलढुङ्गाबाट जितेको खण्डमा आइटीको काम पनि घर, आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “उच्च नेटवर्कबाट काठमाडौँ नआइकन आइटीको काम गरेर ओखलढुङ्गा जिल्लामा घर आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्ने छ, अबको सरकारले गर्ने छ, अब आउने नेतृत्वले गर्ने छ ।”
यस्तै, उहाँले भोलिको दिनमा यो राष्ट्रलाई, देशको समृद्धिलाई शिरमा राखेर हिन्ने कुनै पनि दलहरु छन् भने त्यो पुराना र स्थापित राजनीतिक दल नै भएको पनि बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुराना राजनीतिक दलले केही गरेनन् भन्ने कुरा अहिले सुन्नमा आइरहेको छ । तर, म के भन्न चाहान्छु भने यो समयको चापलाई पछ्याउने र समयसँग अपडेट हुने पार्टी आज पनि कोही छ भने त्यो नेकपा (एमाले) हो भन्ने कुरा हरेक तहबाट प्रमाणित भएको छ । भोलिको दिनमा पनि यो राष्ट्रलाई, देशको समृद्धिलाई शिरमा राखेर हिन्ने कुनै पनि दलहरु छन् भने त्यो पुराना र स्थापित राजनीतिक दल नै हुन् ।”
जनताले दिएको मत कुनै पनि लोभ, लालच र गलत काममा प्रयोग हुन नदिने पनि उहाँको भनाइ छ ।