नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुनुपर्छ : विशाल खड्का [भिडिओ]

13
  • प्रमिला कार्की

काठमाडौँ, १७ माघ । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट दोलखामा प्रत्यक्ष उम्मेदवार बनेका विशाल खड्का यतिबेला चुनावी दौडधुपमा हुनुहुन्छ । छ महिनाको उमेरमै आमाको काखबाट छुटिनुपरेको पीडा, जनयुद्धको संघर्ष, जेल जीवन र सहिद परिवारको पृष्ठभूमिका कारण खड्का राजनीतिमा खारिएका पात्रका रुपमा चुनावी मैदानमा उत्रिनुभएको हो ।

नेपाल न्युज बैङ्कसँगको कुराकानीमा उहाँले आफ्नो राजनीतिक यात्रा जन्मेदेखि नै सुरू भएको बताउनुभयो । छ महिनाको उमेरमै पूर्वी नेपालको किसान आन्दोलनका क्रममा आफ्नी आमाको गिरफ्तारी भएपछि झन्डै दुई हप्ता आमाको दुध चुस्न नपाएको बाल्यकालीन स्मरण सुनाउनुभएका उहाँले राजनीतिमा गहिरो चेतना रहेको समेत बताउनुभयो ।

उहाँका दाजु ज्ञान बहादुर खड्का पञ्चायत विरोधी आन्दोलनका क्रममा जेलमै हत्या भएको थियो भने अर्का दाजु रित बहादुर खड्का ०५२ सालमा सुरू भएको जनयुद्धका क्रममा सहिद हुनुभएको थियो । राजनीतिकै कारण परिवारिक बज्रपात ब्यहोर्नु परेकाले राजनीतिबाट कहिल्यै अलग हुन नसक्ने गरी बाँधिदिएको खड्काको भनाइ छ ।

खड्काका अनुसार, पूर्वी नेपालको किसान आन्दोलनसँग जोडिएको मुद्दामा आमा पक्राउ पर्नुभएको थियो । “म छ महिनाको हुँदा झन्डै दुई हप्ता आमाको दुध खान पाइनँ । आमाको काखबाट बञ्चित हुनुपर्यो । त्यो अवस्था मेरो चेतनाभन्दा बाहिर भए पनि जीवनको यथार्थ त्यही थियो । म जन्मिँदै पञ्चायत विरोधी आन्दोलनको रगतसँग जोडिएको छु । ती बलिदानहरूले मलाई राजनीतिबाट कहिल्यै भाग्न नसक्ने गरी बाँधिदिए,” उहाँले भन्नुभयो ।

०५२ सालमा एसएलसी दिएलगत्तै जनयुद्धमा समाहित भएका खड्काले आठ वर्ष जेल जीवन समेत बिताउनुभएको छ । युवाकालमै भूमिगत राजनीति र संघर्षको अनुभव सँगाल्नुभएका खड्काले लोकतन्त्र नेपालको सबैभन्दा ठुलो उपलब्धि भएको उल्लेख गर्दै राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई एकअर्कासँग जोडेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउनदेखि संविधान लेख्नेसम्मको सफलता प्राप्त भए पनि राजनीतिक परिवर्तनअनुसार आर्थिक रूपान्तरण हुन नसकेको उहाँले स्वीकार गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो पुस्ताले १६–१७ वर्षकै उमेरमा भूमिगत भएर देशको भविष्यका लागि लड्यो । हामीले राजतन्त्रको अन्त्य गर्‍यौँ, गणतन्त्र ल्यायौँ र संविधान लेख्यौँ । यस्ता राजनीतिक उपलब्धि भए पनि जनताको जीवनस्तर अपेक्षित रूपमा परिवर्तन हुन सकेको छैन ।”

नेपाल सानो र गरिब भएकै कारण केही गर्न सकिँदैन भन्ने मानसिकता गलत भएको खड्काको भनाइ छ । उहाँले योग्य जनशक्ति विदेशिनु मुलुकको ठुलो समस्या भएको उल्लेख गर्दै रोजगारी सिर्जना र उत्पादन बढाउने नीतिमा जोड दिनुभयो ।

“नेपाल जनसङ्ख्याका हिसाबले करिब ५०औँ र भूगोलका हिसाबले ९०औँ स्थानमा पर्छ । समस्या देश सानो हुनु होइन, उत्पादनमुखी अर्थतन्त्र नहुनु हो । राजनीतिक स्थायित्व र आर्थिक समृद्धि एकअर्कासँग गाँसिएका विषय हुन्,” उहाँले भन्नुभयो ।

दोलखालाई जलविद्युतको राजधानी भनिए पनि स्थानीय जनताको जीवनस्तर कमजोर रहेको उल्लेख गर्दै खड्काले संघीय संसद्‌मा दोलखाली जनताको आवाज बलियो बनाउने प्रतिबद्धता जनाउनुभयो । “लोडसेडिङ अन्त्यमा दोलखाको ४० प्रतिशतभन्दा बढी योगदान छ,” उहाँले भन्नुभयो, “तर, दोलखाली जनताले अझै उज्यालो जीवन पाएका छैनन् ।”

पार्टीभित्र आत्मसमिक्षा गरेर नयाँ रूपमा अघि बढेको नेपाली कम्युनिस्ट पार्टी पुराना दलभन्दा फरक भएको दाबी गर्दै उहाँले नयाँपन अनुहारमा होइन, नीति, कार्यक्रम र उद्देश्यमा हुने धारणा राख्नुभयो ।

प्रदेश सरकारमा मन्त्री भएर काम गरेको अनुभव रहेको उल्लेख गर्दै खड्काले आफू नयाँ र अनुभवी पनि भएको बताउनुभयो । खड्काले सम्वाद, सहकार्य र जन सल्लाहमा आधारित राजनीति आफ्नो कार्यशैली हुने बताउँदै दोलखालाई नमुना जिल्लाका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभयो । विकास आश्वासन होइन, निकास हुनुपर्ने उहाँको भनाइ छ ।

“मैले प्रदेशमा रहेर मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यो अनुभवले संघीय संसद्‌का लागि अझ तयार बनाएको छ । दोलखा जिल्ला सांस्कृतिक हिसाबले र प्राकृतिक रूपमा जुन असाध्यै सम्भावना रहेको, राजधानीबाट असाध्यै नजिक भएको जिल्ला पनि आज दुर्गम क्षेत्र जस्तो साबित भइरहेको छ । र विकासको हिसाबले असाध्यै पछाडि परिरहेको छ,” उहाँले भन्नुभयो, “यसलाई एउटा नमुना जिल्लाको रूपमा विकास गर्ने र राम्रो जनप्रतिनिधिको रूपमा सबैको भावना बुझ्ने, सबैको सल्लाह सुझावमा हिँड्ने र म सहकार्यमा राजनीतिमा सम्वाद, विकासमा निकास भन्ने एउटा नारालाई बोकेर हिँडेको छु । म सम्वादमा विश्वास गर्छु त्यसैले, सबैको सम्वादबाट हामीले अगाडि बढ्ने र विकासको लागि आश्वासन मात्र होइन निकासको लागि निकासमुखी विकास बोकेर हिँड्नुपर्छ ।”

“त्यसैको जगमा टेकेर नै हामीले दोलखाको विकासको आधार खोजी गर्नुपर्छ । सम्भावनाहरुका ढोकाहरु खोल्नुपर्ने हुन्छ । त्यहीँ प्रक्रियामा नै म अगाडि लाग्ने मेरो प्रतिबद्धता पनि रहेको छ,” उहाँले भन्नुभयो ।

त्यस्तै, उहाँले केपी ओली नेतृत्वको सरकार असफल भएको कारणले देशले चुनाव थेग्नुपरेको बताउँदै ओली नेतृत्वको सरकार असफल भए पनि पुराना दलहरु सबै असफल नभएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीलाई त यो चुनाव चाहिएकै थिएन । ०८४ को चुनाव चाहन्थ्यौँ । तर, आज केपी ओली नेतृत्वको सरकार असफल भएको कारणले चुनाव देशले थेग्नु परिरहेको छ । ओली नेतृत्वको सरकार असफल भयो, पुराना दलहरु सबै असफल भएका होइनन् ।”

“उहाँहरु रुपान्तरण हुन चाहनुभयो त ? केपी ओली प्रवृत्तिले सबै दलहरु एउटै हुन् कि क्या हो भनेर पुराना दलहरुलाई त्यही बास्केटमा हालेर गालीगलौज गरेको मैले सुनिरहेको छु । हामीलाई फरक ढङ्गले हेरिनु पर्छ । एउटै डालामा हालिएको छ, यो गलत छ जस्तो लाग्छ ।”

देशमा व्याप्त निराशा चिर्ने, आशालाई बलियो बनाउने र समतामूलक समृद्धिको आधार निर्माण गर्ने संकल्पसहित आफू चुनावी मैदानमा उत्रिएको खड्काले बताउनुभयो । –नेपाल न्युज बैङ्क

Share This:
सम्बन्धित खबर
Loading...